५२ वर्षपछि परिवारसँग पुनर्मिलन

५२ वर्षपछि परिवारसँग पुनर्मिलन

गोरखा : घर छाडेर लामो समय बेखबर भएका घटना धेरै छन् । यदाकदा फर्केर आएका सुखद घटना पनि समाजमा नभएका होइनन् । गोरखाको अजिरकोट गाउँपालिका–३ लप्सीबोटका वेदनाथ अधिकारी ५२ वर्षपछि घर फर्केका छन् । २४ वर्षको जवान हुँदा काम खोज्दै मुग्लान पसेका उनी ७५ वर्षको बुढो उमेरमा घर फर्केका हुन् ।

स्कूल पढ्दा शिक्षकको कुटाइ खाँदाखाँदा आजित भएर उनी गैराबारी जेठोको साथमा भारत पसेका थिए । उनीहरु काम खोज्दै आसाम पुगे । आसाममा पनि ठेकेदारले ठगेर पैसा कमाउन नसकेपछि घर फर्कन नसके र सम्पर्कमा आउन नचाहेको उनले बताएका छन् । उनी घर फर्केर आए पनि सँगै गएका गैराबारी जेठो अझै सम्पर्कमा नरहेको उनका भाइ यदु अधिकारीले जानकारी दिए ।

उपाध्याय वाहुन परिवारका जेठा छोरा वेदनाथले आफ्नो वास्तविक नामले आसाममा पहिचान नपाएपछि शेरबहादुर क्षेत्रीको नाममा भारतीय नागरिकता बनाइ उतै घरबार जोडे । सोही नाममा जग्गा जोडे घर बनाए । जात मिल्दो बाहुनीसँग बिहे गरी एक छोरा र दुई छोरी रहेको उनले बताए । लेखपढ नभएको, कान राम्रो नसुन्ने अवस्थाका उनी जन्मथलो फर्कन चाहेर पनि नसक्ने भइसकेका थिए । तर रामेछाप घर भई आसाममासँगै बस्ने कामीसिंह तामाङले उनलाई लप्सीबोट ल्याइपुर्‍याएका हुन् । ६७ वर्षका कामीसिंह पनि ४८ वर्षदेखि जन्मथलो गएका छैनन् । साथीलाई जन्मथलो पुर्‍याएर आफू पनि जन्मथलो जाने योजनामा रहेको उनले बताए ।

वेदनाथलाई आफ्नो ठेगाना बारे गोरखा र भच्चेकको नाम मात्र हेक्का थियो । कामीसिंह कामको सिलसिलामा काँकडभित्ता आइरहने हुनाले उनले अधिकारीलाई जन्मथलो जान भनी काठमाडौं ल्याएका थिए । ‘काठमाडौं आएपछि दुई दिन लगाएर गोखाको भच्चेक जाने बस काउन्टर फेला पारियो’, तामाङले भने, ‘गोंगबु बसपार्कबाट बस चढेर गोरखाको भच्चेक हुँदै बुधबार साँझ लप्सीबोट पुग्यौं ।’

लप्सीबोट पुगेपछि उनले आफन्तजन, सानो छँदा घाँस काटेको पहरे ढुँगा, वन, पानी बोकेको धारो, गीर खेल्ने काउलेको गरा नियालेर भावुक भएको तामाङले बताए । उनलाई गाउँमा ठूलाघर काइँलो भनेर बोलाइन्थ्यो । ‘आश मारिसकेका ठूलाघरका काइँलो फर्केर गाउँ आएको खबरले बुढापाका आश्चर्य चकित भए’, उनका साहिला भाई यदु अधिकारीले भने, ‘दाइलाई आसाम लैजाने गैराबारी जेठो अझै आएका छैनन् ।’

वेदनाथ फर्केर आउँदा बुवा र माहिला भाइको निधन भइसकेको छ । साइँला भाइ यदु अधिकारी गोरखा क्याम्पसका उपप्राध्यापक हुन् । भाइलाई भेट्न उनी शुक्रबार गोरखा बजार पुगे । भाइको साथमा चितवनमा रहेकी ९६ वर्षकी आमालाई भेट्न गए । ‘दाइलाई एक्कासी देख्दा आमालाई केही होला भनेर कान्छो भाइलाई फोन गरी आमालाई सम्झाउन भने’, यदु अधिकारीले भने, ‘बुढो भएको जेठो छोरालाई देखेपछि ९६ वर्षकी आमा खुशीले बेस्सरी रुनु भयो ।’

फोनको भरमा दाजुभाइको भेट त भएको थियो, तर सुरुमा एकअर्कालाई चिनेनन् । एक आपसमा हेराहेर भयो । साहिली औलो देखेपछि दाइलाई चिनेको अधिकारीले बताए । ‘२४ वर्षको हुँदा हामीलाई छोडेर जानुभएको थियो । ७५ वर्षको बुढो भएपछि आइपुग्नु भयो, कसरी चिन्नु ? ’, अधिकारीले भने, ‘आमाले ठूलेको साहिली औंलो घाँस काट्दा काटिएर बांगिएको छ भन्नुहुन्थ्यो । त्यही औंलो देखेपछि मैले ठम्याएको हुँ ।’ ५२ वर्षपछि दाइलाई भेट्दा खुसी लागेको उनले बताए ।

...

५२ वर्षपछि घर फर्किएका वेदनाथ अधिकारी परिवारको साथमा । शिव उप्रेती


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.