प्रकाशकीय : यात्रा समृद्धिको

प्रकाशकीय : यात्रा समृद्धिको

अन्नपूर्ण पोस्ट् दैनिक आजदेखि १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ। लोकतन्त्र, राष्ट्रियता, सुशासन र स्वतन्त्रतासहितको समुन्नत नेपाल निर्माणको महान् उद्देश्यनिम्ति हामी समर्पित रह्‍यौं। यसमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछौं। पूर्वाग्रहरहित ढंगले सत्यतथ्य समाचार प्रवाह गर्ने, राष्ट्रिय/अन्तर्राष्ट्रिय विविध विचारलाई स्थान दिने र परिवर्तित समयअनुरूप परिष्कृत पत्रकारिता हाम्रो मान्यता हो। नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि (थ्रीएनआई) अन्तर्गत अन्नपूर्ण मिडिया नेटवर्क पत्रकारिताको मर्म र दायित्वबोधसहितको यात्रामा निरन्तर लागिरहने प्रण गर्दछ।

नेपालले लामो समय राजनीतिक उतारचढाव बेहोर्‍यो। राजनीतिक अस्थिरतासँगै संक्रमणकालमा फस्यो। यो सबैले देखेभोगेको तथ्य हो। अब मुलुक स्थायित्व उन्मुख हुँदैछ। हामीसँग जनप्रतिनिधि निर्मित संविधान छ भने त्यसअनुरूपका कानुन र शासकीय संरचना बनिरहेका छन्। केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचित जनप्रतिनिधि क्रियाशील छन्। राजनीतिक र शासकीय नेतृत्वले सुझबुझ ढंगले काम गरेको खण्डमा नेपालले निरन्तर भोग्नुपरेको ‘संक्रमणकालीन चरित्र’ सदाका निम्ति बिदा गर्न सकिन्छ।

मतदाताले सुम्पेको जिम्मेवारी पूरा गर्नुको बदलामा दम्भ, तुजुक र भड्किलो शासन शैली प्रदर्शन भएको खण्डमा फेरि मुलुक अस्थिरतातिर मोडिन सक्छ। त्यस्तो परिस्थिति उत्पन्न हुन नदिन सत्तारूढ दल बढी जिम्मेवार बन्नुपर्छ। संसदीय पद्धतिमा शासन र जनआवाजको प्रतिनिधित्व गर्ने सवालमा रचनात्मक भूमिका खेल्न प्रतिपक्ष पनि उत्तिकै जिम्मेवार रहनुपर्छ। राज्य संयन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व सञ्चारजगत्को पनि हो। त्यो भूमिकामा हामी निर्बाध क्रियाशील रहनेछौं।

स्थायित्वसँगै आमनागरिकको चाहना हो— सुशासन र समृद्धि। २०४६ को प्रजातान्त्रिक आन्दोलनले मुलुकमा खुला र उदार अर्थ नीतिको जग बसाल्यो। यसले निजी लगानीको वातावरण सिर्जना गर्‍यो। खुला र उदार अर्थ नीतिभित्रका अनपेक्षित विसंगति पन्छाउँदै अर्थतन्त्र जीवन्त पार्न सकिएको खण्डमा मात्रै मुलुकले काँचुली फेर्न सक्छ। नियन्त्रित नीति र अर्थ व्यवस्थाबाट समृद्धिको अपेक्षा गर्न सकिन्न। भ्रष्टाचार र शासकीय अनियमितताका फेहरिस्तबाट आमनागरिक दिक्क छन्। सरकारको मूलभूत दायित्व भ्रष्टाचारमुक्त शासकीय संरचना निर्माण गर्नु पनि हो।

विधिको शासन, मानवअधिकार, भ्रष्टाचारमुक्त शासकीय पद्धतिका निम्ति हाम्रो प्रयास निरन्तर रहनेछ। हामीले गत माघ २८ मा अख्तियार दिवसमा ‘सुशासन’ विशेषांक प्रकाशन गर्‍यौं। हाम्रो उद्देश्य भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने हो। स्वच्छ र सभ्य समाजका निम्ति आधारशिला तयार गर्ने हो। सरकारी निकायभित्रका बेथिति–विसंगति उजागर गरी त्यस्ता निकायलाई जबाफदेही बनाउने हाम्रो प्रयास जारी छ। हामीले ‘अड्डामा अन्नपूर्ण निगरानी’ नियमित र सशक्त तुल्याएका छौं। यसको मूलभूत उद्देश्य आमनागरिकले राज्यप्रदत्त सेवा सहज–सरल ढंगले पाऊन् र त्यस्ता निकाय घुस–बिचौलियामुक्त बनून् भन्ने हो। त्यसमा हामीले सफलता प्राप्त गरेका छौं। निराशाउन्मुख समाजमा प्रेरणादायी सामग्री पस्केर देशलाई समृद्धिमा डोर्‍याउने हाम्रो प्रयास उत्तिकै छ। यही १७ औं वार्षिकोत्सवका उपलक्ष्यमा हिजो प्रकाशित विशेषांक ‘पौरखी पाइला’ प्रेरक–पात्रका जीवनकथाको बृहत् संग्रह मात्र होइन, नेपाली पत्रकारिताकै सर्वाधिक ठूलो अंकको कीर्ति पनि हो। यसले हामीलाई गौरवान्वित तुल्याएको छ।

त्यस्तै राष्ट्रियताका सवालमा गम्भीरतापूर्वक विषय उठान गर्ने र निष्कर्ष खोज्ने हाम्रो प्रयत्न जारी छ। निसानाछाप नक्सामा कालापानी र लिपुलेक गायब पारिएको थियो, जुन गलत नक्सा सार्वजनिक प्रयोगदेखि सिंहदरबारमा समेत सजिन पुग्यो। हाम्रो तथ्यपरक समाचार–सम्पादकीयपछि कालापानी र लिपुलेकसहितका आधिकारिक नक्सा सार्वजनिक गर्न बाध्य पार्‍यौं। सीमा अतिक्रमणका सवालमा नियमित विषय उठाएपछि दक्षिणतिर सीमा स्तम्भ व्यवस्थित गर्ने काम प्रारम्भ भएको छ।

अन्नपूर्ण मिडिया नेटवर्कसँग यतिबेला ब्रोडसिट दैनिक अन्नपूर्ण पोस्ट्का अतिरिक्त एपीवान एचडी टेलिभिजन, रेडियो अन्नपूर्ण, न्युजपोर्टल अन्नपूर्ण पोस्ट्डटकम, साप्ताहिक अन्नपूर्ण–सम्पूर्ण, अंग्रेजी साप्ताहिक द अन्नपूर्ण एक्सप्रेस र बालसाप्ताहिक अन्नपूर्ण अंकुर छन्। हामीले प्रिन्ट मात्र होइन, डिजिटल माध्यमलाई पनि उत्तिकै प्राथमिकता दिएका छौं, विश्वभरका नेपालीलाई अन्नपूर्णपोस्ट्डटकमले जोडिरहेको छ।

समाचार, विचार र विश्लेषणनिम्ति जस्तोसुकै परिस्थिति उत्पन्न भए पनि मुलुक र आमनागरिकका मामिलामा हामी सम्झौता गर्ने छैनौं। संघीयता संस्थागत गरी आमनागरिक नजिक सरकार पुर्‍याउँदै समृद्धि हासिल गर्ने दिशामा अन्नपूर्ण मिडिया नेटवर्क प्रतिबद्ध छ, सधैंभरि रहिरहनेछ। हामी राष्ट्रियता दरिलो तुल्याउन, लोकतन्त्र मजबुत पार्न निरन्तर लागिरहन्छौं। हाम्रो प्रयत्न सर्वाधिक लोकप्रिय र विश्वसनीय मिडिया हाउस बनाउने हो। अन्नपूर्ण पोस्ट्को १७ औं वार्षिकोत्सवको सुखद अवसरमा आमपाठक, शुभचिन्तक, विज्ञापनदाता, विक्रेताहरूमा हार्दिक आभार व्यक्त गर्दछौं। अन्नपूर्ण मिडिया नेटवर्कप्रति देखाउनुभएको सदाशयताप्रति कृतज्ञता प्रकट गर्दै यसैगरी निरन्तर रूपमा तपाईंहरूको साथ, ऊर्जा र हौसलाको अपेक्षा गरेका छौं।

क्याप्टेन रामेश्वर थापा

अध्यक्ष अन्‍नपूर्ण मिडिया नेटवर्क


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.