सलाम सर्जकहरू !

सलाम सर्जकहरू !

निराशाको बादल छिचोलेर आशाका किरणहरू धरतीमा आइरहेछन्। नेपालमा केही हुँदैन भन्नेका लागि सकारात्मक सूचक बढ्दा छन्। संघीय गणतान्त्रिक संविधान बनेको छ। संघीयता कार्यान्वयन भइसकेको छ।


सलाइको एक काँटीले लाख बत्ती सल्काउँछ। त्यही काँटी गलततिर रड्कियो भने सिंगै सहर जलाइदिन्छ। बट्टाभित्रै गुम्सिइरह्यो भने ओस्सिएर एक दिन फाल्नुपर्छ। सत्कर्मका दियो बालेर प्रकाश छर्ने तमाम सर्जकहरू समृद्धिका स्रोत हुन्। यो विशेषांक तिनै प्रेरणापुञ्जहरूको खोजी हो। सलाईका ती बारुद, जो उज्यालोका लागि बल्ने गर्छन्, तिनै हुन् हाम्रा प्रिय पात्रहरू। पौरख सानो वा ठूलो किन नहोस्, ‘जगत् भलो’ भाव भएका सबै सिर्जनशीललाई हाम्रो सलाम छ।

जर्मन लेखक अन्ना फ्य्रांकले भनेकी थिइन्, ‘अरूलाई दिएर कोही पनि गरिब भएको छैन।’ विश्वका पाठकलाई लोकप्रिय केही पुस्तक र मननीय उद्गारका ठेली दिएर उनी भने १६ वर्षमै बिदा भइन्। शरीर छैन, तर सिर्जनाले उनी धनी छिन्। धरती छाडेको शतक हुन लाग्यो, उनका ‘फ्यान’ बढेका बढ्यै छन्।

अमेरिकी उद्योगपति एन्ड्य्रु कार्नेजको भनाइ उस्तै थियो, ‘अरूलाई धनी नबनाई कोही पनि आफैंमा धनी हुन सक्दैन। धनी छँदाछँदै मर्नु आफ्नै अपमान हो।’ उनले कमाए, लोकोपकार गरे। जीवनको उत्तराद्र्धमा उद्योग–धन्दा बेचे। आएको सम्पत्ति सेवामा लगाए। सन् १९ सयको सुरुतिर उनले झन्डै ३५ करोड अमेरिकी डलर बाँडे। र, आफूले १९१९ मा सम्मानपूर्वक मृत्युवरण गरे, जति बेला उनी करिब–करिब खाली हात भइसकेका थिए।

उनले जस्तै सबैले सबै दिनैपर्छ भन्ने छैन। तर, हुनेले थोरै दिँदा पनि नहुनेका लागि धेरै हुन्छ। चाहे त्यो सम्पत्ति, ज्ञान, सीप, सिर्जनशीलता, प्रविधि वा परि श्रम नै किन नहोस्। पौरखको आदर्श वा नमुना व्यक्ति भएर प्रेरणाको स्रोत बन्नु पनि दिनु नै हो। तिनै पाइला पहिल्याउँदै हामी देश–विदेशका कुना–कुनामा नेपाली पहिल्याउँदै पुगेका छौं। र, तिनका प्रेरक एवं पठनीय संघर्षकथा यहाँ पस्किएका छौं। जसले अरूका लागि केही दिए वा दिइरहेका छन्, ती यस विशेषांकका पाहुना हुन्।

०००

निराशाको बादल छिचोलेर आशाका किरणहरू धरतीमा आइरहेछन्। नेपालमा केही हुँदैन भन्नेका लागि सकारात्मक सूचक बढ्दा छन्। संघीय गणतान्त्रिक संविधान बनेको छ। संघीयता कार्यान्वयन भइसकेको छ। सबै तहको चुनाव सकिई दशकौंपछि स्थिर सरकार बनेको छ। त्यो पनि दुईतिहाइ बहुमतको। राजनीतिक चेतना, लोकतान्त्रिक प्रणाली र समावेशिताका हिसाबले नेपाल अब्बलमा पर्छ।

भूकम्पअघि १० वर्षको औसत आर्थिक वृद्धिदर ४.४ प्रतिशत थियो। त्यसयता ६ प्रतिशतभन्दा तल झर्नुपरेको छैन। २०७३÷७४ मा ७.९ प्रतिशत थियो। २०७४÷७५ मा ६.२९ रह्यो। चालू आर्थिक वर्ष ६.५ प्रतिशतभन्दा माथि रहने अवस्था छ। सम्भवतः इतिहासमै पहिलो पटक लगातार पाँच वर्ष ६ प्रतिशतभन्दा माथि वृद्धिदर हासिल भएको हो।

गरिबी निवारणमा देश निकै अघि बढेको छ। निरपेक्ष गरिबीको रेखामुनिको जनसंख्या २१.६ प्रतिशत बाँकी छ अब। जब कि साढे दुई दशक अघिसम्म ४२ प्रतिशत थियो। कुल गार्हस्थ्य उत्पादनको तुलनामा बढी रेमिट्यान्स भिœयाउनेमा नेपाल पहिलो पाँच मुलुकभित्र पर्छ।

सेवा क्षेत्र, पर्यटन र जलविद्युत्मा लगानी बढ्दो छ। वर्षमा १० लाखभन्दा बढी पर्यटक आगमन छ। पाँचतारे १३ होटल छन्। चारतारे ८ वटा। निजीक्षेत्रका विद्युत् उत्पादकबाट ७ सय मेगावाट योगदान छ। विश्वव्यापी प्रतिस्पर्धी बैंकिङ सेवा छ। दूरसञ्चार क्षेत्रको तीव्र विस्तार भइरहेको छ। मानव विकास सूचकांकमा १ सय ८९ देशमध्ये १ सय ४९ स्थानमा नेपाल छ। मातृशिशु मृत्युदर न्यून छ। देश भोकमरी अन्त्यको तरखरमा छ। औसत आयु ७०.२ वर्ष पुगेको छ। सामाजिक सुरक्षामा राज्यको ध्यान जाने क्रम बढेको छ।

ठूला केही परियोजना सम्पन्न हुने मुखमा छन्। ती हुन्– पोखरा र गौतमबुद्ध विमानस्थल, भेरी–बबई डाइभर्सन, माथिल्लो तामाकोसी।

तैपनि हामीले तीव्र विकासको मेसो समातिसकेका छैनौं। जम्माजम्मी तीन दशकमा सिंगापुर विकासको शिखरमा पुग्यो। सन् १९६० मा त्यहाँ झुपडीको बाहुल्य थियो। ९० को दशकमा टोपी खस्ने गगनचुम्बीको देश बन्यो। सन् १९६५ मा यसको प्रतिव्यक्ति आय ५ सय १६ अमेरिकी डलर थियो। २००४ मा २२ हजार, २०११ मा ५० हजार हुँदै अहिले १ लाख ३ सय ४५ डलर पुगेको छ।

केही वर्षअघिसम्म चरम गरिबीको उदाहरण दिँदा इथियोपियाको नाम आउँथ्यो। त्यहाँका नागरिकले रूखका बोक्रासमेत खान्छन् भन्ने पढ्दा हामी जिब्रो टोक्थ्यौं। त्यही इथियोपिया तीव्र आर्थिक समृद्धितर्फ गइरहेको छ। गतिशील आर्थिक विकास गर्ने १० राष्ट्रको सूचीमा ऊ परेको छ। उसको ७० प्रतिशत बजेट गरिबी न्यूनीकरण केन्द्रित छ। जस्तो– स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार। सरकारले रेल ल्याउने कुरा गर्दा हामी नपत्याएर हाँस्छौं। हामीभन्दा गरिब इथियोपियाले लोभलाग्दो रेल चलाएको वर्षौं भइसक्यो।

जनतालाई लगानी गर्न लगाएर उसले विशाल जलायशयहरू बनाइरहेको छ। तीमध्ये ग्रान्ड इथियोपियन रेनिसान्स अर्थात् मिलिनियम ड्याम पूरा हुन लागेको छ, जसले ६ हजार मेगावाट बिजुली दिनेछ। अर्को कोयसो ड्यामबाट २२ सय मेगावाट बिजुली निकालिनेछ। नेपालले हालसम्म १ हजार २५ मेगावाट मात्र उत्पादन गरेको छ। जब कि उसले २३ सय मेगावाट पुर्‍याइसकेको छ।

हामीले ती प्रगतिबाट सिक्नैपर्छ। देश बनाउन पौरख गर्नुपर्छ, न कि गफ। पौरख गर्ने जनताले हो। तिनको सम्मान गर्न सिक्नुपर्छ। इथियोपियाको पछिल्लो विकासको मूल जड जनसहभागिता हो। हामीले पनि जनजनको उत्साह चिन्न सक्नुपर्छ। उत्साहबाट अरूमा उत्साह भर्ने तिनै सर्जकहरू समेट्ने यसमा जमर्को गरिएको छ। ता कि, यसले देश विकासमा टेवा पुगोस्।

०००

कुलमान घिसिङले लोडसेडिङ हटाउने कुरा गर्दा धेरैले उडाए। ‘वाहियात कुरा गर्छ’, तिनले भन्थे, ‘कहाँबाट सम्भव छ ? ’ हिउँदको १८ घण्टे लोडसेडिङ शून्यमा झर्‍यो त। जेनेरेटर र पावर ब्याकअपका उपकरण घरघरमा खिया लागे। तिनका व्यापारीहरू मौलाए, ओइलाए। विदेश जाँदा निरन्तर बत्ती आएको देख्दा हामीलाई नै अचम्म लाग्थ्यो। हाम्रो देशमा यस्तो कहिले होला भनेर कल्पना गरिन्थ्यो। त्यसलाई ‘सपना’ ठानिन्थ्यो। तर, उचित व्यवस्थापन गर्दा असम्भव केही नहुने रहेछ। देखाइदिए कुलमानले।

तर कुलमान र उनी जस्ता पात्रहरू यो विशेषांकका हिस्सा होइनन्। किनकि, यो अंक लुकेका पौरखीहरूको खोजीमा समर्पित छ। प्रसिद्धि कमाइसकेका, पहिचान पाइसकेका र देशले ‘हिरो’ मानिसकेका व्यक्तित्व यसमा समेटिएका छैनन्। उनीहरूप्रति हाम्रो सम्मान छ।

डा. विष्णुमाया परियारले इमेलको सिग्नेचरमा राखेकी छन्, ‘चेन्ज इज पोसिबल।’ अर्थात्, परिवर्तन सम्भव छ। गोर्खाको छुवाछूतग्रस्त गाउँमा जन्मे–हुर्के–पढे–बढेकी उनको नाममा अमेरिकाको केन्टुकी लुइजभिल नगरले २०१५ सेप्टेम्बर २७ मा ‘विष्णुमाया डे’ नै मनायो। नगरवासीलाई बोलाएर उनको भव्य अभिनन्दन गर्‍यो। विरलै नेपालीले पाउने अन्तर्राष्ट्रिय मान हो यो।

दलित, बालबालिका र महिलाका लागि संघर्षरत विष्णुमायाजस्ता ‘परिवर्तन सम्भव गराउने’ नेपथ्यका पात्र विशेषांकका विषय बनेका छन्। बाहिरी दृष्टि नभए पनि अन्तर्दृष्टिकी धनी सृष्टि केसीको साहसिक एवं प्रेरक कर्म यहाँ छ। राष्ट्रपति उद्यमशील महिला पुुरस्कारबाट सम्मानित अनिता केसीदेखि ‘माहुरे साइँला’, होटल छाडेर कृषिमा होमिएका ध्रुव न्यौपानेसम्म हाम्रा विषय हुन्।

तुलसीकुमार गुरुङ यस्ता नेपाली हुन्, जो हङकङमा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक बने। सानो छँदा पढ्न नपाएको झ्वाँक सुनारबहादुर गुरुङले यति बेला बेथा फेरे, गाउँभरि स्कुल खोलेर। रगत नपाउने हजारौंलाई सेवा दिएका प्रेमसागर कर्माचार्य अर्का आदर्श पात्र हुन्।

यी त केही उदाहरण हुन्। व्यापार, उद्यम, प्रविधि, सच्चा समाजसेवा, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जनजस्ता विविध विधामामार्फत विशिष्ट कार्य गर्ने व्यक्तित्वको थोक कथालय हो, विशेषांक। तिनै पौरखीले सयभन्दा बढी पाना भरिएका छन्, जसले देश निर्माणमा पसिनाका इँटा थपिरहेका छन्। तिनैका इलम, निष्ठा, मिहिनेत र इमानको सम्मान हो यो। अनि, तिनका प्रेरणादायी जीवन–कथा यसका अक्षर।

योग्य भएर पनि कति पक्कै छुटे, कति बढ्ता योग्य नपरेर कम योग्य परे। त्यसका लागि हामी क्षमाप्रार्थी छौं। ‘पौरखी पाइला’ खोज्ने क्रममा हामीले पत्रिकामा निरन्तर सूचना जारी गरेका थियौं। त्यहाँबाट आएका जानकारी, आन्तरिक सञ्जाल एवं शुभचिन्तकहरूको परामर्शका आधारमा यी नाम तय गरिएका हुन्। अदृश्य नायकहरू खोज्न त्यति सजिलो कहाँ छ र ? तीभन्दा अदृश्य नायकहरू धेरै हुन सक्छन्। पहिचान भएसम्म हामी तिनका सुकीर्तिलाई पाठकसामु ल्याइरहनेछौं।

यो विशेषांक मात्र होइन, पौरख प्रवद्र्धनमा हाम्रो प्रयास निरन्तर रहनेछ। कर्मवीरका कथा हामी पस्किइरहनेछौं। पहिल्यैदेखि मिडियामा छाएका, कामभन्दा प्रचारमा उत्रिएका वा ‘समाजसेवा’लाई कमण्डलु बनाएका पात्रचाहिँ, दुःखका साथ भन्नुपर्छ, हाम्रा छनोटमा परेनन्। हामीले कुरा होइन, काम छान्यौं।

र, कर्मवीर काँध।

पौरखको जरो कर्म हो। र, कर्मका प्रेरक अग्रज हुन्। नेपालमा केही यस्ता कर्मवीर छन्, जसले ठोस पेसाको जग बसाए। मोहनगोपाल खेतान, रामलाल गोल्छा, लूनकरणदास चौधरी, वनवारीलाल मित्तल, हिमालयशमशेर, वसन्त मिश्र, इन्द्रभक्त श्रेष्ठ, श्याम गोयन्का आदि यसका उदाहरण हुन्।

ती र अन्य केही कर्मवीरलाई पनि विशेष सम्मानस्वरूप हामीले समेटेका छौं।

आशा छ– यो अंक प्रेरणाको खुराक बन्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.