घरेलु श्रमबाट उठेर जो चिकित्सक बनिन्

घरेलु श्रमबाट उठेर जो चिकित्सक बनिन्

गत वर्ष नेपाल मेडिकल कलेजबाट चिकित्सा शिक्षामा स्नातक उत्तीर्ण भइन्, भावना। केही समय कुमारीगालस्थित समता अस्पतालमा स्वयम्सेवा गरेपछि हालै उनी सोही अस्पतालमा जागिरे भएकी छिन्।


काठमाडौंको जन्म। खानलाउन दुःख थिएन। पढाइ बोर्डिङमै। बाल्यकाल सुखद बित्यो भावना तामाङको। तर त्यो खुसी धेरै टिकेन। आमाले लगातार दुई छोरी जन्माएपछि परिवारमा कलहको बीउ रोपियो। त्यो बढ्दै गएर बाआमाबीच सम्बन्धविच्छेद भयो। उनको पढाइ छुट्यो। बाल्यकालमै सुरु भएको उनको संघर्षले बाँच्न सिकायो, काम गर्न सिकायो, पढ्न सिकायो र पौरखी नारी बन्न सिकायो।

जेठी छोरी। बाबाले छाडेर गएपछि आमालाई सघाउने जिम्मेवारी पनि उनमै आइलाग्यो। ६–७ वर्षकै उमेरमा उनलाई काठमाडौंको एउटा घरमा काम गर्न राखियो। कहिलेकाहीँ आफूभन्दा ठूला भाँडा माझ्नुपथ्र्यो। कहिले आफैंलाई लछार्ने लुगाफाटाका रास धुन थुपारिदिँदा पनि सक्दिनँ भन्न पाइनन् उनले।

महिनाभरि दुःख गरेर कमाएको पाँच सय रुपैयाँ उनका लागि अमूल्य हुन थाल्यो। त्यही कमाइले परि श्रमको महत्त्व पनि उनलाई बुझायो। दुःखका ती दिनको सम्झनाले भावुक बन्दै उनले भनिन्, ‘त्यही घरमा ५–६ महिना काम गर्दा बल्ल मैले आमाले दुःख गरेर कमाएको पैसाको महत्त्व बुझेँ।’

भावनालाई पढ्ने इच्छा जाग्यो। जोरपाटीमा समता स्कुल खुलेको थाहा पाएपछि उनले काम छाडिन्। आमासँगै बस्न थालिन्। अनि काम र पढाइ सँगसँगै अघि बढाइन्। आमाले समता स्कुलमा भावनालाई कक्षा २ मा भर्ना गरिदिइन्। ३ कक्षामा पुग्दा उनी विद्यालयमा उत्कृष्ट ठहरिइन्। दोस्रो वर्षदेखि न कापी किन्नुपर्‍यो न कलम। खाजा र खानाको सुविधा पनि विद्यालयले नै उपलब्ध गरायो।

घरघरमा लुगा धुने, पोछा लगाउने र भाँडा माझ्ने। बिहानबेलुकीको उनको दिनचर्या यस्तै हुन्थ्यो। दिउँसो स्कुल पुग्दा थकाइ लाग्थ्यो। तर पनि पढ्न पाएको खुसीले त्यो थकाइ हराउँथ्यो। घर पुगेपछि पनि पढ्न भ्याइन्न भन्ने उनलाई थाहा भएकै कारण कक्षामा ध्यान दिएर सुन्थिन्। 

त्यसैले आफ्ना अरू काम जस्तै पढाइ उनलाई कहिले कठिन लागेन। बेलुकी घरधन्धा सकाएर पनि टुकी बालेर पढ्ने उनको बानी थियो। बत्ती यताउता सार्दा हातमा कालो लाग्थ्यो। त्यही हातले नाक पुस्दा लागेको कालो देखेर सबै साथी हाँसेको पल सम्झँदै उनी मुस्कुराइन् र भनिन्, ‘मेरा सर्कलका साथी सबै यस्तै थिए। त्यसैले यस्तै परिवेशमा पनि कसले बढी पढ्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो।’

दिनमा तीन सिफ्ट काम गर्दा पनि आमाछोरीको कमाइ कहिले पाँच सय त कहिले हजार हुन्थ्यो। ठुल्ठूला ब्ल्यांकेट धुँदा कहिलेकाहीँ एक दुई सय बढी पनि आउँथ्यो। कहिलेकाहीँ दिनभरको कमाइ ३–४ सय पनि हुन्थ्यो। आफूमुनिका दुई बहिनीको पढाइ र अन्य आवश्यकता पूरा गर्नुपर्ने त छँदै छ। ऋण लिएको ठाउँमा तिर्दातिर्दै खल्ती रित्तिहाल्ने ती दिनका बयान गर्दा उनको गला अवरुद्ध भयो।

हरेक कदममा ठक्कर खानुपथ्र्यो। यही ठक्कर र दुःखमा कुनै दिन सुख भेटिएला भन्ने झिनो आशा उनको मनमा मौलाउँदै गयो। सानो काम बिगारे पनि घरधनीले आमा र उनलाई धेरै गाली गर्थे। त्यो सुनेर उनको खुब चित्त दुख्थ्यो। तर तिनै वचनले पढाइमा लाग्न उत्साह थपियो उनलाई। अरूको व्यवहारले नै धेरै कुरा सिक्न पाइन् उनले। ‘यसरी नहेपेका भए, पढ्ने इच्छा पनि जाग्ने थिएन होला’, उनी भावुक बनिन्।

मेहनतका साथ पढेर उनले एसएलसीमा विद्यालयमै सर्वोत्कृष्ट नतिजा ल्याइन्। समताको दोस्रो ब्याचको पहिलो हुने विद्यार्थी हुन्, भावना। यो खबर पत्रिकामा आएपछि भावनालाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारमा बोलाए। प्रधानमन्त्रीको सहयोग गर्ने वचनले उनलाई हप हौस्यायो। भोलिपल्ट प्रधानमन्त्रीसँगको भेटघाटको फोटो पत्रिकामा छापिएपछि उनलाई धेरै कलेजले भर्नाको प्रस्ताव राखे। उनले ट्रिनिटी इन्टरनेसनल कलेज रोजिन्। त्यहीँबाट १२ पास गरिन्।

उच्च शिक्षामा यो विषय पढ भनेर उनलाई सुझाव दिने कोही थिएन। सँगै पढेका साथीसँग सोध्दा धेरैले डाक्टर बने राम्रो भन्ने सल्लाह दिए। डाक्टर त बन्ने तर कसरी ? यसका लागि आवश्यक पर्ने ठूलो रकम जुटाउन उनलाई गाह्रो मात्र होइन असम्भव थियो। तर ‘तँ आँट् म पुर्‍याइदिन्छु’ भनेझैं उनको पढ्ने सपना साकार पार्न भगवान्ले एक विदेशी महिला जुराइदिए।

मित्रपार्कस्थित सिस्टर निर्मला फाउन्डेसन उनको भविष्य बदल्ने कडी सावित भयो। उनकी आमा सोही फाउन्डेसनमा आउजाउ गर्थिन्। त्यहाँ आउने एक विदेशी महिलाले आफूले पढाइदिन लागेको व्यक्ति नआएपछि भावनालाई नचिताएको चिठ्ठा पर्‍यो। भावनाको इच्छा बुझेर ती महिलाले उनलाई दन्त चिकित्सा शिक्षामा स्नातक (बीडीएस) पढाउन तयार भइन्। परी आमा भावनालाई भेट्न मात्र पनि प्रत्येक वर्ष नेपाल आउँछिन्।

गत वर्ष नेपाल मेडिकल कलेजबाट चिकित्सा शिक्षामा स्नातक उत्तीर्ण भइन्, भावना। केही समय कुमारीगालस्थित समता अस्पतालमा स्वयंसेवा गरेपछि हालै उनी सोही अस्पतालमा जागिरे भएकी छिन्।

दुःखसँग जुध्दै भावनाले आफ्नो मात्र होइन, समुदायकै शिर ठाडो पार्ने काम गरिछाडिन्। सिन्धुपाल्चोक पुख्र्यौली घर भएकी भावना तामाङको परिवारमा १० कक्षासम्म पढेका कमै भेटिन्छन्। उनकै पुस्तामा पनि पढाइ नसकी घरजम गर्ने या विदेश जाने धेरै छन्। भावनाले डाक्टर बनेर आफ्नो परिचय स्थापित गरिन् नै, समुदायमै अब्बल पनि बनिन्।

उनको सफलता सामान्य लाग्न सक्छ। तर उनका परिवारलाई त्यो सपनाझैं लाग्छ। दिदीकै प्रेरणाले माइली बहिनीले बीएचएम सकिन् भने कान्छी ११ मा पढ्दै छिन्। आफूले पढ्न पाएकै कारण बहिनीहरूले पनि पढ्न पाएकोमा उनी दंग छिन्। उनको जीवनको आदर्श उनकै आमा हुन्। संसारमा सबैभन्दा राम्रो मान्छेको कल्पना गर्नुपर्दा आँखाअगाडि एन्जेल आमा र समताका संस्थापक उत्तम सञ्जेलको छवि आउने उनी बताउँछिन्।

दिनमा पाँच रुपैयाँ नहुने अवस्थाबाट कम्तीमा पकेटमा हजार हुने दिनसम्म आफू आइपुगेको उनी बताउँछिन्। कहिलेकाहीँ एक रुपैयाँ नभएर तड्पिएको दिन उनले बिर्सेकी छैनन्। त्यसैले डाक्टरको कमाइ हुँदा पनि उनको जीवनशैली सरल छ। साधारण टप्स र जिन्समा सजिएकी भावना भन्छिन्, ‘न मेरो औंठी छ न कानमा इयर रिङ, यस्तै सादगी मनपर्छ मलाई।’ बरु त्यही पैसा जोगाएर कसैको जीवन बदल्न सके ज्यादै खुसी लाग्ने उनी बताउँछिन्।

सफलता त्यति सजिलै पाइन्न। यही कुरा उनले पहिले पढेकी थिइन्। अहिले आफैंले भोगेर जानिन्। पहिले आफूलाई गाली गर्ने तिनै मुख अहिले प्रशंसा गर्न थालेका छन्।

उनी कार्यरत अस्पतालमा उनले बाल्यकालमा काम गर्ने गरेका घरबाटै बिरामी जँचाउन आउँछन्। ‘छोरीलाई राम्ररी पढायौ, अहिले डाक्टर भइछ। धेरै राम्रो गर्‍यौ’, आमाले काम गर्ने घरका घरधनीले अहिले यस्तै प्रतिक्रिया दिने गरेका छन्। आमाको वाहवाही सुनेर भावनाको छाती गर्वले चौडा हुन्छ।

भावना जुन परिवेशमा हुर्किइन्, अहिले पनि त्यही धरातल उनले भुलेकी छैनन्। त्यसैले त बिरामीको जाँच गर्दा कहिले उनमा घमण्डपन झल्किन्न। तनमन लगाएर सकेसम्म राम्रो उपचार गरौं भन्ने उनको उद्देश्य हुन्छ। पेसागत धर्म निर्वाह गर्दै व्यावसायिक सफलता पाउने उनको लक्ष्य छ। एन्जल आमाले आफ्नो जीवन बदलेझैं आफूले पनि कसैको जीवनमा परिवर्तन ल्याउन पाए हुन्थ्यो भन्ने चाहना रहेको उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.