सार्वजनिक यातायातको सारथि

सार्वजनिक यातायातको सारथि

काठमाडौं : सार्वजनिक यातायातमा प्रयोग हुने ट्याक्सी विश्वासिलो र भरपर्दो सवारी साधनका रूपमा स्थापित हुँदै छ। दुई युवा प्रकाश न्यौपाने र रवि सिंहालले ट्याक्सी व्यवस्थित नहुनुको कारण खोज्दै जाँदा व्यवसायको जन्म भएको हो।

सारथि क्याब कम्पनी सन् २०१६ मा स्थापना भई सन् २०१७ देखि काठमाडौं उपत्यकाभित्र सेवा प्रदान गर्दै आएको छ। सारथिले यात्रुलाई फोन कल र एपको माध्यमबाट ट्याक्सी सेवा उपलब्ध गराउने काम गर्छ। सारथिबाट ट्याक्सी बुक गरेपछि सरकारले तोकेको मिटरमा ट्याक्सी सेवा पाइन्छ। ट्याक्सी क्याब सिस्टम नेपालका लागि नौलो भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको प्रयोग व्यापक छ। 

अन्तर्राष्ट्रियस्तरमा उभर, ओला, ग्र्याबलगायत कम्पनीले स्तरीय ट्याक्सी सेवा प्रदान गरिरहेका छन्। त्यस्तो सेवा नेपालमा किन सञ्चालन हुन नसकेको भन्ने जिज्ञासाले ‘सारथि’को जन्म भएको सहसंस्थापक न्यौपाने बताउँछन्। सारथिको उदय हुनुपूर्व ५/६ कम्पनीले सेवा सुरु गरेका थिए। ती चल्न सकेनन्। सार्वजनिक यातायातमध्ये ट्याक्सीलाई सुरक्षित मानिन्छ। तर, नेपालमा ट्याक्सी सुविधा लिन झन्झटलो थियो। ट्याक्सी चालक मिटरमा जान नमान्ने र यात्रुले महँगो भाडा तिर्नुपर्ने गुनासो आइरहन्थ्यो। अन्तर्राष्ट्रियस्तरको नेपालमा पनि अभर, ओला ग्र्याबजस्ता कम्पनी हुने हो पनि कति राम्रो हुन्थ्यो भन्ने विषयमा चियाँ गफ हुने सहसंस्थापक सिंहाल बताउँछन्। ‘ती मल्टी बिलियन कम्पनी किन नेपाल आएन। यस विषयमा बुझ्ने जिज्ञासा पलायो। हामी दुवै जना छुट्टै व्यवसायमा थियौं’, सिंहालले भने, ‘आफैं गर्नेभन्दा पनि समस्या खोज्न सुरु गर्‍यौ। ट्याक्सी चालक र यात्रुसँग भेट्न थाल्यौं। ’ अध्ययनकै क्रममा उनीहरूले क्याब व्यवसाय सुरु गर्न खोज्ने पुराना व्यक्तिसँग भेटेका थिए। ट्याक्सी चालक, यात्रु र पुराना व्यवसायीको समस्याबारे जानकारी हासिल गरे। 

ट्याक्सीलाई व्यवस्थित गर्ने काम झन्झटिलो थियो। दुवै जना आफ्नै व्यवसायमा सक्रिय थिए। न्यौपाने नेट फाइट (एयरलाइन्सको टिकेटिङ) र सिंहाल डिजिटल मार्केटिङ गर्थे। ‘हामीलाई अर्को व्यवसाय गर्नु थिएन। व्यावसायिक ट्याक्सी कम्पनी सफल नहुनुको कारण खोज्नु थियो। आवश्यक अध्ययन र मिहिनेत गर्‍यौं’, न्यौपाने बताउँछन्, ‘पुराना व्यवसायीसँग हाम्रो अवधारणाबारे बतायौं। तर उनीहरूले त्यसतर्फ चासो दिएनन्। ’ पक्कै ट्याक्सीलाई व्यवस्थित गर्ने काम सजिलो थिएन। यसका लागि मिहिनेत, समय र पैसा धेरै लाग्थ्यो। मिहिनेत धेरै भएको थियो। यो व्यवसायमा लगानी आउँछ भने सुरु गर्न सक्छौं भन्ने आत्मविश्वास थियो। अध्ययनका क्रममा प्रविधिमा पनि काम गरिरहेका थिए। अवधारणा र प्रविधि उनीहरूसँग थियो। तर, लगानी थिएन। लगानी नै मुख्य चुनौती देखे उनीहरूले। काम सुरु गर्नुपर्छ भन्ने हुटहुटी पैदा भएको न्यौपाने बताउँछन्। 

‘हाम्रा चिनजानका धेरै व्यक्तिले विदेशमा स्तरीय ट्याक्सी सेवा लिएको देखेका थिए। ती व्यक्तिसँग अवधारणा आदानप्रदान गर्‍यौं’, न्यौपानेले भने, ‘विश्वस्त व्यक्तिबाट लगानी उठ्न सुरु भयो। ’ व्यावसायिक रूपमा ट्याक्सी सेवा सञ्चालन गर्न सक्ने आत्मविश्वास बढ्न थालेसँगै विस्तारै कार्यालयका लागि आवश्यक कर्मचारी नियुक्त गर्ने काम पनि सुरु गरेको सिंहाल बताउँछन्। 

सन् २०१७ अगस्टबाट औपचारिक रूपमा बजारमा सारथि ट्याक्सी सेवा सुरु भएको थियो। दुइटा ट्याक्सीबाट सारथिको यात्रा सुरु भएको थियो। बिनाप्रविधि ग्राहक तान्न सकिँदैन भन्ने उनीहरूले बुझेका थिए। कम्पनी स्थापना गर्नुअघि नै एप बनाउन थालेका थिए। एपसँगै कल सेन्टर पनि सञ्चालन गरेर कम्पनी अघि बढाएको न्यौपाने बताउँछन्। ‘१८/१९ वर्षका युवाले सधैं ट्याक्सी चढ्ने हैन। ट्याक्सी चढ्ने सबै प्रविधिमैत्री हुन्छन् भन्ने छैन। त्यस्ता ग्राहकलाई ध्यानमा राखेर कल सेन्टर स्थापना गरिएको हो’, न्यौपानेले भने, ‘फोन डायल गर्न धेरै सक्षम छन्। ’

ट्याक्सीलाई व्यवसायीकरण गर्न जोखिम उठाएका थिए। ट्याक्सी धनीलाई ५० हजार रुपैयाँ र चालकलाई १५ हजार रुपैयाँ मासिक उपलब्ध गराउने सर्तमा सुरुगरिएको थियो। दुई सिफ्टमा चार जना चालक नियुक्त गरिएको थियो। बजारमा प्रक्षेपण गरिएको केही समयमा सारथिले लोकप्रियता हासिल गर्‍यो। मिटरकै रेटमा ट्याक्सी चढ्न पाइने भएकाले ग्राहकको रुची बढेको थियो। केही समयमै ग्राहकको माग धान्न नसक्ने अवस्थामा कम्पनी पुग्यो। ग्राहक बचाउन पनि थप ट्याक्सीको व्यवस्था गर्नुपर्ने थियो। तर, ग्यारेन्टी दिएर ट्याक्सी हायर गर्नेगरी कम्पनीले आर्थिक उन्नति हासिल गरिसकेको थिएन। ‘बजारमा नयाँ थियौं। पुँजीको अभाव थियो’, सिंहालले भने, ‘बजार मागअनुसार थप ट्याक्सी आवश्यक थियो। ’

मिटरमै ट्याक्सी चढ्न पाइने भएकाले ग्राहक सारथितर्फ रुची देखाएका हुन्। केही समयमै ग्राहकको माग धान्न नसक्ने अवस्थामा कम्पनी पुग्यो। 

ट्याक्सी धनी र चालकलाई छुट्टा छुट्टै ग्यारेन्टी दिनेभन्दा अर्को विकल्प प्रयोग गर्न थाले। नेपालमा दुई किसिमको ट्याक्सी सञ्चालनमा छ। एउटा धनीले नै चलाउने र अर्को चालकले। चालकहरूले धनीलाई दैनिक रकम बुझाउँदै ट्याक्सी चलाउँदै आएका हुन्छन्। नयाँ मोडलको रूपमा सारथिले चालकलाई ग्यरेन्टी दिएर ट्याक्सी हायर गर्न थाल्यो। तेस्रो मोडलका रूपमा अन्तर सहर ट्याक्सी पनि सुरु गरेका थिए। तर, अन्तरसहर ट्याक्सी सेवा त्यति सफल हुन सकेन। ट्याक्सी चालकलाई एप प्रयोग गर्न उनीहरूले ट्याब्लेट, तालिमलगायत सुविधा दिएका थिए। क्षमताअनुरूप काम नगर्ने ट्याक्सीलाई पनि ग्यारेन्टीको रकम दिनुपर्ने कम्पनीको बाध्यता थियो। कम्पनी घाटामा जान लागेको देखेर केही लगानीकर्ता बाहिरिने क्रम पनि सुरु भयो।

सन् २०१८ जुलाईदेखि डिसेम्बारसम्म सरथिमा आर्थिक मन्दी छाएको थियो। धेरैलाई सारथि बन्द भएको हो कि भन्ने भ्रम पनि पैदा भएको न्यौपाने सुनाउँछन्। ६ महिना ग्राहकको मागअनुसार सेवा दिन असमर्थ भएको थियो। सारथिलाई बचाउन पनि उनीहरू अर्को मोडलमा जान आवश्यक थियो। त्यस अवधिसम्म मिटरको आधारमा बिल उठ्ने गथ्र्यो। जाम हुने समय र अन्य समयमा भाडा दर फरक थियो। नियमित चढ्ने यात्रुबाट भाडा घटबढ भएको गुनासो बारम्बार आइरहेको थियो। कतिपयले गाली पनि गरेको न्यौपाने स्मरण गर्छन्। ‘कम्पनीको सिस्टममा रुटअनुसार भाडा दर कायम हुने क्रममा थियो। अहिले एपले दुरीको आधारमा भाडा तय गर्छ’, न्यौपानेले भने, ‘ग्राहकले अग्रिम रूपमा भाडाको विवरण थाहा पाउँछन्। यसले ग्राहकको गुनासो सम्बोधन भएको छ। ’

सन् २०१९ को जनवरीदेखि भने सारथिको अवस्थामा सुधार हुँदै आएको छ। सारथिले ल्याएको नयाँ मोडलका कारण यो सम्भव भएको सिंहालको भनाइ छ। नयाँ मोडलका रूपमा सारथिले ट्याक्सी चालकलाई ग्राहक खोजिदिने र ग्राहक उपलब्ध गराएबापत चालकबाट कमिसन लिने। सारथिका माध्यमबाट ग्राहक लिने चालकले १० प्रतिशत कमिसन दिनुपर्छ। चालकले सधैं सारथिको ग्राहक मात्र बोक्नुपर्छ भन्ने छैन। ग्राहक नपाए सारथिको ग्राहक बोक्ने र अन्य समयमा आफ्नै बोक्न पाउँछन्। यसरी काम गर्दा दुवै पार्टीलाई फाइदा पुगेको छ। सारथिले आफूले प्राप्त गर्ने कमिसनबाट चालकको क्षमता वृद्धि गर्ने तालिम र कर्मचारी तलब सुविधा दिन सफल भइरहेको छ। 

सारथिजस्तो भरपर्दो ट्याक्सी सेवा सुरु गर्ने यी दुईको पहिलो भेट सन् २००९ मा भएको थियो। बुटबलका न्यौपाने अमृत साइन्स क्याम्पसमा कम्प्युटर इन्जिनियर र विराटनगरका सिंहाल जनकपुर इन्जिनियरिङ क्याम्पसमा अध्ययन गर्दा आईटीसम्बन्धी जागरुकता अभियान सञ्चालन गर्ने क्रममा भेट भएका थिए। आईटीमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने सोचले जोडिएका उनीहरू बताउँछन्। सारथिले हालसम्म ढेड लाखभन्दा धेरलाई सेवा प्रदान गरिसकेको छ। सारथिसँग चार सय ट्याक्सी आबद्ध छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.