आई वान्ट फ्रिडम

आई वान्ट फ्रिडम

सिर्जना विष्ट मोडलिङ क्षेत्रमा नौलो नाम हो । धरानकी रैथाने विष्ट हाल कोटेश्वरमा परिवारसँगै बस्छिन् । मिड भ्याली इन्टरनेसनल कलेजमा पढ्दै गरेकी विष्ट ब्याचलर्स इन हस्पिटालिटी म्यानेजमेन्टकी विद्यार्थी हुन् ।

गहुँगोरो वर्णकी सिर्जना हल्का सेतो रङको वान पिसमा निकै खुलेकी थिइन् । पढाइ, फोटोसुट, रनवे सो, फेसन सोकी पारखी उनले भर्खरै मात्र रामकृष्ण ढकालको ‘न दिलमा बास दियौ’ बोलको म्युजिक भिडियोमा अभिनय गरेर चर्चा बटुलेकी छन् ।

केही लजालु र गम्भीर स्वभावकी विष्टले जिन्दगी, भोगाइ, मोडलिङका अनेक अनुभव सुनाउँदै निकै बेर बिताइन् । कुराकानीको सुरुआतमै उनले जिन्दगीलाई खुसी खुसीको सँगालो बनाउन चाहेको बताइन् । निकै खुलेर गफ गर्न हौसिएकी उनी आत्मविश्वासका साथ आफ्नो अनुभव बाँडिरहेकी थिइन् । ‘लाइफ इज कलेक्सन अफ ह्यापिनेस’, मुस्काउँदै जिन्दगीप्रतिको धारणा व्यक्त गरिन् उनले ।

हरेक दिन नयाँ कुरा सिक्न रुचाउने विष्ट मोडलिङमा करिअर बनाउने ध्याउन्नमा छिन् । फिल्म हेर्दा होस् या टीभी हेर्दा नै किन नहोस्, उनलाई नयाँ नयाँ डिजाइनका ड्रेस लगाएर गरिने क्याटवाक निकै मन पथ्र्यो । आफूलाई पनि फोटो सुट गर्न मन लाग्थ्यो । यसै क्रममा मिस टिनएजर्स इन्टरनेसनल नेपाल २०१५ मा सहभागी भइन् । त्यहाँ उनले उपाधि जित्न नसके पनि मिस फोटोजेनिक र मिस इन्टेलेक्चुअलको अवार्ड प्राप्त गरिन् ।

एक भाइ र बहिनीकी दिदी सिर्जना जिन्दगी बिनाबन्धन जिउन पाउनुपर्ने विचार राख्छिन् । उनी भन्छिन्, ‘एक बारको जीवन हो, मन लागेको सबै अनुभव गर्नुपर्छ ’ । ‘सानो हुँदासम्म सानै छौ, यस्तो गर्नु हुन्न, ठूलो भएपछि अब त ठूली भयौ समाजले के भन्ला ? अरूले के सोच्ला भनेरै हुर्काइन्छ हामीलाई’, अनुभव सुनाउँदै उनले भनिन्, ‘हामी छोरीले आफ्नो रहर लागेको जिन्दगी बाँच्ने कहिले त ? ’

छोराछोरीलाई विभेद नगरी स्वतन्त्र वातावरणमा हुर्काउनुपर्ने विचार राख्दै उनले अहिलेको योङ जेनेरेसनले हरेक कुरा अनुभव गर्न चाहने बताइन् । ‘कहिलेकाहीँ साथीसँग घुम्न मन लाग्छ, कहिले क्लब गएर रातभरि नाच्न मन लाग्छ, कहिले चुरोट तानेर जिन्दगीलाई बुझ्न मन लाग्छ, कहिले मनलाग्दी पिएर वाइल्ड हुन मन लाग्छ । अहिलेको युवा खासमा यो चाहन्छ ।’ उनले आफूलगायत आफ्ना साथीको अनुभव सुनाइन् ।

स्कुल पढ्ने तीनजना साथी मिलेर घरमा नभनी घुम्न गएको पल उनलाई जिन्दगीको सबैभन्दा बेस्ट समय लाग्छ । उनीहरू तीनजना मिलेर स्कुटीमा घुम्न निस्के । पोखरा पुगे, लेकसाइड गएर दुई दिनसम्म नाचे । रातभरि लेकसाइड घुमेर बिताए । कहिले रेस्टुराँमा बियर पिउँथे त कहिले क्लबमा नाच्थे । कहिले फेवातालको किनारै किनार हिँड्थे । ‘जिन्दगीमा पहिलोपटक यसरी स्वतन्त्र भएर घुमेकी थिएँ । परिवारसँग हिँड्दा यति रमाइलो कहिल्यै भोगेकी थिइनँ’, उनले स्पष्टीकरण दिइन् । उनीहरू पोखरा, बन्दीपुर, चितवन घुमेर सात दिनमा काठमाडांै फर्किएका थिए ।

लेकसाइडमा टु मच बियर पिएपछि उनले ड्रिङ्स गर्न नै छाडिन् । किन त ? त्यहाँ हामीले अत्यधिक खाएका थियौं । मेरो शरीरले सुट गरेन । त्यसपछि मैले पिउनै छाडिदिएँ । मानिसहरू भन्ने गर्छन्— छोराछोरीलाई स्वतन्त्र छाडिदियो भने बिग्रन्छन् । तर उनी यसमा सहमत छैनन् । ‘के हो बिग्रनु भनेको ? कुनै पनि युवतीले ब्वाइफ्रेन्ड बनाउनु भनेको बिग्रनु हो ? कि कोहीसँग डेटमा जानु बिग्रनु हो ? बिग्रनुको चरित्र के हो ? ’, उनले आक्रोश पोखिन् । स्वतन्त्रतासँगै जिम्मेवारी पनि दिनुपर्ने उनको अनुभव छ ।

आफ्ना उमेरका साथीलाई उनको सुझाव पनि छ । स्वतन्त्र हुने नाममा गलत कामचाहिँ गर्नु हुँदैन । जबसम्म आफैं कमाउन सक्ने बनिँदैन तबसम्म बुवाआमाको पैसाले मनलाग्दी गर्नु ठीक होइन । काम र करिअरको क्षेत्रमा कहिल्यै कसैसँग सम्झौता गर्न नहुने उनको तर्क छ ।

नेपालमा मोडलिङ क्षेत्रमा केही परिवर्तन भए पनि क्षमता हुनेलाई भन्दा आफ्नालाई अवसर दिने गरेको अनुभव बटुलेकी छन् उनले । उनी भन्छिन्, ‘सानोमा म चञ्चले स्वभावको तर लजालु थिएँ । आफ्नो कुरा भन्न सक्दिनथेँ । मोडलिङमा लागेपछि बोल्न सक्ने भएकी छु । कन्फिडेन्ट बढेको छ । काम सिक्दै छु । छिट्टै भाइरल हुने रहर पनि छैन ।’

मोडलिङमा आउन आफ्नो चाहना मात्रै नभएर परिवारको पनि पूरा साथ हुनुपर्ने उनको तर्क छ । भन्छिन्, ‘मलाई मेरो परिवारले कहिल्यै पनि रोक लगाएन । राम्रो कामका लागि सधैं सहयोग ग¥यो ।’ १२ पढ्ने बेला कलेज बंक गर्ने बानी लागेको थियो । स्कुलमा म्यामको कुटाइ खाएको अनुभव पनि बटुलेकी विष्ट गलत काममा हरेक आमाबाबुले विचार गर्नुपर्ने सुझाउँछिन् । पढाइका अलावा सोल्टी होटलमा इन्टर्न पनि गर्दै गरेकी सिर्जना रहर पूरा गर्न आफूलाई कुनै पनि काममा व्यस्त राख्नुपर्ने जवाफ दिन्छिन् ।

मोडलिङ, ग्ल्यामर अन्तर्राष्ट्रिय स्तरमा पनि सबैको चासोको क्षेत्र भएकाले यहाँ राम्रो नराम्रो हल्ला बढी हुने उनको बुझाइ छ । ‘काम हो, यो गर्छु, यति मात्रै गर्छु भन्नु ठीक हुन्न । कथा र घटनाअनुसार खुल्नुपर्ने हुन्छ’, उनले भनिन् । हट देखिने भन्दैमा जता पनि लुगा खोलेर चर्चित हुन नसकिने उनको बुझाइ छ । तर चाहिने ठाउँमा खुल्न सकिएन भने त्यो पनि ठीक नहुने बताउँछिन् उनी । आफूलाई मन परेको कथा र गीतमा आवश्यकताअनुसार खुल्न समस्या नभएको उनले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.