तनहुँ कांग्रेस आधिकारिकता विवाद :  न्यौपाने नेतृत्वलाई केन्द्रको वैधता

तनहुँ कांग्रेस आधिकारिकता विवाद :  न्यौपाने नेतृत्वलाई केन्द्रको वैधता

दमौली : तनहुँ कांग्रेसमा आधिकारिकताका विषयमा लामो समयदेखि देखिएको विवादमा नयाँ मोड आएको छ। पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापति बैकुण्ठनाथ न्यौपाने सभापति र जितप्रकाश आले कार्यवाहक रहेको कार्य समिति आधिकारिक भएको पत्र पठाएपछि घटनाक्रमले नयाँ मोड लिएको हो। 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा व्यास ३ स्थित बीपी स्मृति भवन नै आधिकारिक कार्यालय रहेको उल्लेख गरिएको छ। यसअघि दुई कार्य समितिले एक अर्कालाई आधिकारिक भन्दै बेग्लाबेग्लै कार्य समिति सञ्चालन गरेपछि दुईबीचको विवाद सतहमा आएको थियो। 

आफू र आफूनिकट कार्यकर्तालाई उपेक्षा गरिएको भन्दै विशेष अधिवेशन बोलाउँदै पार्टी पूर्वसह महामन्त्री गोविन्दराज जोशी निकट नेताले बेग्लै समानान्तर कार्य समिति गठनको घोषणा गरेका थिए। 

चुनावमा पार्टीको हार हुनुमा न्यौपाने नेतृत्वको कार्य समिति जिम्मेवार रहेको भन्दै विशेष अधिवेशनबाट आफूनिकट डिल्लीराम अधिकारीलाई समूहले सभापति घोषणा गरेको थियो। 

त्यसयता तनहुँमा दुईवटा कार्य समिति र कार्यालय छ। जोशी समूहले विघटित घोषणा गरेको समूहमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल निकटको बाहुल्यता छ।

मे १ पछि सिर्जित विवाद
दुवै समूहले आफूलाई आधिकारिक भन्दै वक्तव्यबाजी भैरहेका बेला मे १ को मजदुर दिवसका दिन पौडेलनिकट नेविसंघका कार्य समितिका कार्यकर्ताले जोशी निकटको समानान्तर कार्य समितिले कार्यालयका लागि प्रयोग गर्दै आएको व्यास २ मालपोत लाइनको भाडाको भवनमा तोडफोड गर्दै बोर्ड फोड्ने तथा भित्तामा रङ पोतिदिएका थिए। त्यसपछि सतहमा देखिएको विवादमा प्रहरी प्रशासनसमेत मुछिएको थियो।

जोशीनिकट कार्य समितिले तोडफोडमा संलग्न नेविसंघ तनहुँका अध्यक्ष चुडामणि खनालसहितका कार्यकर्तालाई पक्रन प्रहरी र प्रशासनमा आग्रह गरेको थियो। विवाद चर्कंदै गएर आधिकारिकताको द्वन्द्व सतहमा आउँदा समेत केन्द्रीय कार्य समितिले मुख खोलेको थिएन। 

विगतमा विशेष अधिवेशनका बेला केन्द्रीय समितिले पार्टी विधानअनुसार मात्र चलिनुपर्ने भने पनि समानन्तर वा संस्थापन कुनै पनि समितिलाई प्रष्ट आधिकारिकता दिएको थिएन। तर नामै किटेर आफ्ना पक्षमा पत्र आए पछि संस्थापन पक्षले यसलाई आफ्नो जितका रुपमा व्याख्या गरेको छ। संस्थापन पक्षका कार्यवाहक सभापति जितप्रकाश आलेले विधानअनुसार नै क्रियाशिल रहे पनि केन्द्रको पत्रपछि अवस्था सहज भएको बताए। 

उनले अब पार्टीका नाममा रहेका दुवै कार्यालय आफ्नो सम्पत्ति रहेको भन्दै राख्ने वा हटाउने आफूको अधिकार भएको जिकिर गरे। ‘एउटै पार्टीका दुईवटा बोर्ड र कार्यालय रहँदैनन्,’ उनले भने, ‘अब प्रशासनले यसमा सघाउनुपर्छ।’ उनले आफूहरु भिड्ने पक्षमा नरहे पनि बोर्ड हटाउन प्रशासनले साथ दिनुपर्ने संकेत गरे। 

‘केन्द्रको पत्रले फरक पर्दैन’
तर केन्द्रको पत्रबाट केही फरक नपर्ने समानन्तर समूहको तर्क छ। समूहकी सचिव चिनु पोख्रेलले केन्द्रलाई प्रभावमा पारेर पत्र ल्याए पनि त्यसले आफूहरुको आधिकारिकतामा फरक नपर्ने जिकिर गरिन्। ‘हामी विधानअनुसार नै गठन भएका हौं,’ उनले भनिन्,‘नेतृत्वलाई प्रभावमा पारेर दिएको पत्रको केही अर्थ रहन्न।’ उनले आफूहरु व्यास २ कै कार्यालयमा रहेर नियमित कार्यसम्पादनमा सक्रिय रहने बताइन्। 

तनहुँ कांग्रेसको आधिकारिकता विवादमा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले जारी गरेको पत्र। तस्बिरः अन्नपूर्ण
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.