सुकुमबासी मानव अधिकारको मुद्दा
काठमाडौं : कोही वास्तवमै सुकुमबासी छन्। कोही छैनन्। विशेषगरी थापाथली शान्तिनगर, बौद्ध, धुम्बाराही, जडीबुटीलगायत सुकुमबासी बस्तीको कथा यस्तै छ। शिक्षा, स्वास्थ्य, रोजगारीका समस्याका कारण मानिस सहर पसेका छन्। कामको सिलसिलामा बसाइँसराइ गर्नेहरू पछि गएर सुकुमबासी बनेका छन्। तिनै सुकुमबासीको कथा देख्न सकिन्छ, फोटोग्राफर दीपक तोलाङ्गे (३२) को छोटो फिल्म ‘टहरा’ मा।
दीपकले सातौं मानव अधिकार चलचित्र महोत्सव २०१९ को बेस्ट नेसनल नन् फिक्सन फिल्म अवार्ड हात पारेका थिए। २०१८ मा पनि उनले ‘डस्ट’ नामक छोटो फिल्म बनाएर महोत्सवमा भाग लिएका थिए। उक्त फिल्म इँटाभट्टामा काम गर्ने बालबालिकासम्बन्धी थियो।
‘टहरा’ निर्माण गर्न भने दीपकले सुकुमबासी बस्तीको कथा चुने। सुकुमबासीको निम्न जीवन स्तरलाई क्यामेरामा कैद गर्न दीपकले सन् २०११ मा सुकुमबासीसम्बन्धी एउटा फोटो स्टोरी गरेका थिए। कहिल्यै सुकुमबासी बस्तीमा नपसेका उनले फोटो खिच्नकै लागि एक दिन त्यो बस्ती प्रवेश गरे। उनी ती दिन सम्झँदै भन्छन्, ‘गाडी र टेम्पोमा यात्रा गर्दा सुकुमबासी बस्ती बाटैबाट देख्थेँ।’ बस्ती साँच्चिकै पसेपछि उनी अचम्मित भएँ, ‘काठमाडौं सहरमा पनि भत्केका साना साना टहराको बस्ती छ ? ’
‘सुकुमबासी बस्तीमा सबै मानिसहरू जग्गा अतिक्रमण गर्न मात्र बसेका छैनन्,’ दीपक भन्छन्, साँच्चिकै दुःख पाएकाहरू पनि छन्। तिनै कहानी समेटेर उनले डकुमेन्ट्री तयार पारेका हुन्।
उक्त डकुमेन्ट्री निर्माण गर्न दीपक एक्लै बस्तीमा गए। कहिलेकाहीँ सहयोगीहरू लिएर पनि गए। २०११ बाट सुरु गरेर २०१३ मा उनले एउटा च्याप्टर तयार पारेका थिए।
उनले अवार्ड जितेको फिल्म पछिल्लो पटक २०१६ मा इडिट गरिएको हो। सुरुको भर्जन अलि लामो थियो। त्यसमा नेपालका राजनीतिक पार्टीका केन्द्रीय सदस्यहरू र केही पत्रकारको अन्तर्वार्ता समेटिएको थयो। सबै जोडेर त्यो लगभग ४० मिनेटभन्दा लामो थियो। पछि त्यसलाई छोट्ट्याएर दीपकले २७ मिनेटमा झारे। त्यही छोटो फिल्म उनले महोत्सवतिर पठाएका हुन्।
सुरुसुरुमा उनी संस्थासँग मिलेर फिल्म, डकुमेन्ट्री बनाउँथे। अहिले एक्लै लागि परेका छन्। इमोरी युनिभर्सिटीले २०१४ मा लाइब्रेरी कलेक्सनका लागि उनको फोटो किनेको थियो। पछि उनले केही अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत भाग लिने मौका पाए।
जर्मनीको बोडिनाल फिल्म फेस्टिभलमा भाग लिएपछि उनको छोटो फिल्मले चर्चा पाएको थियो। पछि एकै चोटी उनले बसाइँसराइको मुद्दामा काम गरे र अवार्ड पनि जिते।
सुकुमबासी बस्तीको यो फिल्मलाई उनी फेरि नयाँ भर्जनमा ढाल्दै छन्। ‘अब केही थपघट गर्छु’, उनले भने। त्यहीँ बस्ने सुकुमबासी बालबालिकाको हातमा क्यामेरा दिएर फिल्म बनाउने इच्छा उनको रहेछ। फिल्ममा फरक दृष्टिकोण दिन लागेको उनी बताउँछन्।
प्रतिक्रिया दिनुहोस !