बालबालिकालाई फुटबल सिकाउन सिमरामा ग्रास रुट डे
![बालबालिकालाई फुटबल सिकाउन सिमरामा ग्रास रुट डे](https://annapurnapost.prixacdn.net/media/albums/grass-root-day_20190515122926_qGFSeqea38.jpg)
सिमरा : अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार बारामा ‘ग्रास रुट डे’ मनाएको छ। स्कुले बालबालिकालाई फुटबलमा सहभागी गराउने र दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एन्फाले नेपालमा गत भदौदेखि ग्रास रुट फुटबल प्रशिक्षण सुरु गरेको थियो।
जिल्ला फुटबल संघ बाराको आयोजनामा सिमरा रंगशालामा सञ्चालित ग्रास रुट फुटबल प्रशिक्षणमा जिल्लाका १६ विद्यालयका चार सयभन्दा बढी बालबालिका सहभागी छन्। एसियाली फुटबल महासंघ (एएफसी) ले हरेक वर्ष मे १५ तारिकलाई ग्रास रुट डेको रूपमा मनाउँदै आएको छ।
सोहीअनुसार एन्फाले नेपालका तीन जिल्लामा ग्रास रुट डे मनाउने निर्णय गरेको थियो। एन्फाको निर्णयअनुसार बारासहित रूपन्देही र सुनसरीमा पनि ग्रास रुट डे मनाइएको जानकारी एन्फाका उपाध्यक्ष एवम् ग्रास रुट फुटबल संयोजक उपेन्द्रमान सिंहले दिए।
सिमरा रंगशालामा आयोजित ग्रास रुट डे कार्यक्रममा सहभागी राष्ट्रिय टोलीका पूर्वगोलरक्षक सिंहले ग्रास रुट कार्यक्रमबाट दक्ष खेलाडी उत्पादन हुनेमा आफू विश्वस्त रहेको बताए। ग्रास रुट प्रशिक्षणमा सहभागी बालबालिकाको हौसला बढाउन रंगशाला पुगेका जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले स्कुलस्तरबाटै सुरु गरिएको यस्तो प्रशिक्षणबाट नेपाली फुटबलको विकासमा निकै टेवा पुग्ने बताए। उनले कार्यक्रमलाई सफल बनाउन उपमहानगरले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।
एन्फाले ४८ जिल्ला ग्रास रुट प्रशिक्षण सुरु गरेको थियो। एन्फाले ग्रास रुट फुटबलका लागि प्रत्येक जिल्लालाई पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। एन्फाले उपलब्ध गराएको बजेटबाट बारामा सुरु गरिएको ग्रास रुट कार्यक्रममा यतिबेला बालबालिकाको मात्र नभई अभिभावकको समेत रुचि बढेको देखिन्छ।
आफ्ना बालबालिकालाई उत्साहका साथ अभिभावकले प्रशिक्षणमा सहभागी गराउँदै आएको बारा जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवम् ग्रास रुट फुटबल बाराका संयोजक रामचन्द्र लामाले बताए। ‘यो कार्यक्रमका लागि पाँच लाख बजेट पर्याप्त छैन तर, एन्फाले भित्र्याएको ठूलो कार्यक्रमलाई सफल बनाउन हामी लागिपरेका छौ’ लामाले भने ‘यसलाई सफल बनाउन संघ मात्र नभई स्थानीय सरकार, अभिभावक र स्थानीय फुटबलप्रेमीको सहयोगले हामीलाई ऊर्जा मिलेको छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)