पाँचथर हत्याकाण्ड: घाइते बालिकाको उपचार प्रदेश-१ सरकारले गर्ने
विराटनगर : पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको विभत्स हत्या काण्डबाट भागेर ज्यान जोगाएकी १२ वर्षीया बालिकाको उपचार प्रदेश -१ सरकारले गर्ने भएको छ। दुई परिवारका नौजनाको हत्या भएको घटनामा भागेर बाँचे पनि घाइते अवस्थामा रहेकी सीता खजुमको सबै उपचार खर्च सरकारले बेहोर्ने प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए।
मन्त्री कार्कीले जारी गरेको विज्ञप्तिमा क्रुर र बर्बरतापूर्वक घटनामा घाइते भएकी बालिकाको उपचारमा कुनै कमी हुन नदिने र सबै खर्च सरकारले बेहोर्ने उल्लेख छ। अपराधिक, अमानवीय तथा निन्दनीय हत्याले सबैलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख छ। घटनामा संलग्न जो कोही अपराधीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने प्रतिवद्धता पनि प्रदेश सरकारले गरेको छ। घटनाको प्रभावकारी अनुसन्धानका लागि प्रहरीलाई आवश्यक निर्देशन दिँदै विशेष प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको विज्ञप्तिमा जनाइएको छ।
सोमबार राति बमबहादुर फियाक र धनराज शेर्माको परिवारका ९ जनाको हत्या गरिएको थियो। धनराज बमबहादुरका ज्वाइँ हुन्। उनीहरुको घर पैदल १५ मिनेटको दूरीमा छ। बमबहादुरसहित श्रीमती फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक र नातिनी आसिका खजुमको हत्या भएको थियो। धनराजसहित श्रीमती जस्मिता फियाक (शेर्मा), छोरीहरु युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको थियो।
बमबहादुरकै नातिनी १२ वर्षीया सीताले भने भागेर ज्यान बचाएकी थिइन्। उनले ज्यान बचाउन भाग्ने क्रममा ठोक्किएर दाहिने हात भाँचिएको बताएकी छन्। शरीरका अरु कुनै अंगमा चोट नरहे पनि बालिका मानसिक रुपमा विक्षिप्त छिन। उनको झापाको दमकमा उपचार भइरहेको छ। नकाब लगाएर आएका व्यक्तिले एकाएक खुकुरी प्रहार गर्न थालेपछि आफू भने भागेर बाँचेको उनले बताएकी छन्।