साइबर बुलिङ नगर्न सुझाउँदै प्रहरी

साइबर बुलिङ नगर्न सुझाउँदै प्रहरी

पछिल्लो समय फुर्सद मिल्नासाथ कम्प्युटर, ट्याब र मोबाइलमा झुन्डिने विद्यार्थीको संख्या बढ्दो छ। यस्ता साधनमार्फत आफ्ना साथीभाइ र भाइबहिनीलाई जिस्क्याउने क्रम पनि बढिरहेको छ। यस्ता साइबर बुलिङका घटनाले गर्दा धेरै विद्यार्थीमा नकारात्मक असर परेको पाइन्छ। साथीभाइले जिस्क्याउँछन् भनेर विद्यालय जान नमान्ने, आफ्ना कुरा राख्न डराउने, तनावमा रहने लगायतका समस्या उनीहरूमा देखिन थालेको छ।

हिजोआज साइबर बुलिङ लगायतका अन्य साइबर अपराधमा केटाकेटी, किशोरकिशोरी र युवकयुवतीको बढी संलग्नता रहेको पाइन्छ। त्यसैले यस्ता अपराधबाट समयमै टाढा रहन प्रहरीले विद्यार्थीलाई सुझाएको छ। अभिभावकले पनि व्यस्तताले गर्दा छोराछोरीलाई समय दिन भ्याउँदैनन्। यसले गर्दा बालबालिकालाई यस्ता काम गर्नबाट रोक्नेसमेत कोही हुँदैनन्। त्यसैले प्रहरीले नै विभिन्न विद्यालयमा गएर अभिभावकलाई आफ्ना केटाकेटीको बढी चासो राख्न सुझाव दिन थालेका छन्।

नेपाल प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत विद्यार्थीले एकआपसमा जिस्क्याउने, हेप्ने, गाली गर्ने, धम्क्याउने जस्ता साइबर बुलिङका कारण पछिल्लो समयमा उनीहरू मानसिक तवान झेल्न बाध्य भएका छन्। यसैले गर्दा कतिले त आत्महत्यासम्मको प्रयास गरेको पाइन्छ। साथीसाथी एकआपसमा मिलुन्जेल जस्तोसुकै तस्बिर पनि साटासाट गर्ने र नमिल्दा त्यही तस्बिरलाई सामाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक गर्ने गरेको पाइन्छ। यही कारणले आपराधिक घटना वृद्धि भएको प्रहरीको भनाइ छ। आफ्नो पासवर्ड केटा या केटी साथीलाई नभई बाबुआमासँग मात्र सेयर गरी सामाजिक सञ्जाल चलाउन विद्यार्थीलाई प्रहरीले आग्रह गरेको छ।

पछिल्लो समयमा साइबर अपराधका घटना वृद्धि भएकाले यसको तत्कालै सम्बोधन गर्न नेपाल प्रहरीले गत सातादेखि भोटाहिटीमा साइबर ब्युरो स्थापना गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले जानकारी दिए। यस्ता समस्या देखा परेमा उक्त ब्युरो या नेपाल प्रहरीको महानगरीय अपराध महाशाखा टेकु र केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जमा तत्काल उजुरी दिन डीआईजी थापाले विद्यार्थीलाई सुझाए।

गत सोमबार काव्य स्कुल नयाँ बानेश्वरले समुदाय–प्रहरी साझेदारीअन्तर्गत आयोजना गरेको कार्यक्रममा उनले विद्यार्थी र अभिभावकलाई यस्ता धेरै विषयमा सजग रहन आग्रह गरे। ‘अभिभावकले आफ्ना छोराछोरीलाई मोबाइल चलाउन र सामाजिक सञ्जाल चलाउन रोक्ने होइन’, उनले भने, ‘ एउटा निश्चित समयमा चलाउन दिने गर्नुपर्छ। तर त्यसको नियमित रूपमा अनुगमन पनि गर्नुपर्छ।’

प्रहरीले आगामी दिनमा शान्तिनगरस्थित बेबिलोन नेसनल स्कुल, मीनभवनस्थित सनसाइन स्कुल, कोटेश्वरस्थित ग्रामर पब्लिक स्कुल, बालकोटस्थित महेन्द्र शान्ति माविलगायत निजी तथा सामुदायिक विद्यालयमा पनि साइबर बुलिङसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रहरीको सुझाव

विद्यार्थीलाई

गृहकार्य सकेर मात्रै मोबाइल चलाउने र भिडियो गेम खेल्ने

समय मिलाएर सामाजिक सञ्जाल चलाउने

सामाजिक सञ्जाल चलाउँदा ख्याल गर्ने

फेसबुकको पासवर्ड केटा या केटी साथीलाई सेयर गर्दै नगर्ने

पासवर्ड अभिभावकलाई मात्र सेयर गर्ने

केटा साथीले एकान्त ठाउँमा बोलाएमा नजाने

घरबाहिर जाँदा अभिभावकलाई खबर गर्ने

नचिनेको मानिसले दिएको खानेकुरा नखाने

चुरोट, सुर्ती र पानपराग कहिल्यै नखाने

‘गुड टच’ र ‘ब्याड टच’बारे जानकारी राख्ने

अभिभावकलाई

घरमा छोराछोरीलाई समय दिने

उनीहरूसँगै बसेर कार्टुन हेर्ने

छोराछोरीका साथीभाइको विवरण आफूले पनि राख्ने

छोराछोरी कहाँ जाँदै छन् र कतिखेर फर्किन्छन चासो राख्ने

छोराछोरीले सामाजिक सञ्जालमा कोसँग के कुरा गरिराखेका छन् र कसलाई के सेयर गरेका छन्, नियमित अनुगमन गर्ने

साइबरसम्बन्धी केही समस्या देखिए तत्कालै प्रहरीलाई खबर गर्ने


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.