मोरङ प्रहरीको अभियानमा मापसे परीक्षादेखि चिया कार्यक्रमसम्म
विराटनगर : मोरङ प्रहरीले शान्ति सुरक्षाका लागि विभिन्न अभियान सञ्चालनमा ल्याएको छ। नयाँनयाँ अभियान अपराध नियन्त्रण र अनुसन्धानका लागि प्रभावकारी बनेको प्रहरीको दाबी छ।
समुदायसँग चिया, लागुऔषध नियन्त्रण, मादक पदार्थ सेवन (मापसे) परीक्षा र नागरिकलाई सेवा प्रवाह कार्डलगायत कार्यक्रम प्रभावकारी देखिएको प्रहरीको दाबी छ।
प्रहरीले अगाडि सारेको एप्स, नागरिक सूचना कार्ड, इन्टरकम टेलिफोन सेवा, प्राथमिकताका सेवा, छलफल, साइकल गस्ती समेतले प्रहरीका काम कारवाहीमा सहयोग पुगेको छ।
प्रहरीका अभियान प्रभावकारी हुँदा सर्वसाधारणलाई राहत मिलेको नागरिक अगुवा रामबाबु दाहालको भनाइ छ। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका पालामा ल्याइएका योजना सफल भएको दाहालको भनाइ छ।
२०७५ भदौ ८ गतेबाट समुदायसँग अनौपचारिक संवाद निरन्तर गर्ने गरी महिनाको २ पटक नागरिकसँग चिया कार्यक्रम सञ्चालन गरिएको एसपी केसीको भनाइ छ। उनले प्रहरीका विभिन्न युनिटमार्फत् हालसम्म १ सय ३४ पटक कार्यक्रम सञ्चालन भइसकेको छ। यो अभियानमा ७ हजार ३ सय ६९ सँग प्रत्यक्ष संवाद भएको थियो।
अपराधबाट युवा जमातलाई मुक्त बनाउने उद्देश्यले भारतीय सीमावर्ती क्षेत्रमा प्रहरीले २०७५ भदौ २५ बाट लागुऔषधविद्ध विशेष अभियान सुरु गरेको थियो। हालसम्म १ हजार ६ सय ७८ जना दुव्र्यसनीलाई कोसी अस्पतालका विशेषज्ञ चिकित्सक र प्रहरीको संयुक्त टोलीले काउन्सिलिङ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।
प्रहरीले मापसे गरेर सवारी साधन चलाए अनिवार्य लिखित परीक्षा दिनु पर्ने नियम २०७५ असोज २४ गतेबाट मोरङमा लागू गरेको थियो। ८० प्रतिशत अंक ल्याएर परीक्षा उत्तीर्ण भएपछि मात्रै ट्राफिक नियम अनुसार कारवाही गरेर मापसे गर्ने चालकलाई सवारी साधन र कागजपत्र फिर्ता दिने नियम एसपी केसीले बनाएका हुन्। यो नियमपछि दुई हजार छ सय एकले परीक्षा लेखेका छन्।
प्रहरीले एक वर्षको अवधिमा मोरङका ५५ हजार ४ सय ५६ घरधुरीमा जनचेतनामुलक नागरिक सूचना कार्ड वितरण गरेको छ।
त्यस्तै सेवाग्राहीलाई लक्षित गरेर प्रहरीले ५ प्रकारको सेवा प्रवाह कार्डको व्यवस्था गरेको छ। जिल्ला प्रहरी कार्यालयमा काम विशेषले पुग्ने सेवाग्राहीले आफ्नो काम अनुसारको कार्ड अनिवार्य प्रयोग गर्नु पर्ने र यसले सेवा प्रवाहलाई समेत प्रभावकारी बनाएको डीएसपी श्रेष्ठको भनाइ छ। डेढ महिनाको अवधिमा २ हजार २ सय २३ सेवाग्राहीले कार्डको प्रयोग गरिसकेका छन्।
मोरङमा नागरिक सहायता कक्षबाट अशक्त, अपांगता भएका, वृद्धवृद्धा र गर्भवतीका लागि जाहेरी, घाउ जाँच केश फारम, सीआरएस सम्बन्धी सेवा, कानुनी परामर्श, आवश्यक मुचुल्कालगायतका सम्पूर्ण सेवा निःशुल्क गरिएको छ।
साइकलमा गस्तीमा निस्कने प्रहरीले समुदायसम्म पुगेर त्यहाँका समस्या र अवस्थाका बारेमा बुझेर त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाउन सहयोग गर्ने गरेको एसपी केसीले बताए।
अदालतले दोषी ठहर गरे पनि फरार रहेका ४ सय ८६ प्रतिवादी एक वर्षको अवधिमा मोरङमा पक्राउ परेका छन्। पक्राउ परेकाबाट ८७ लाख ११ हजार ६ सय ६० रुपैयाँ जरिवाना असुल भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङमा लिखित परीक्षा दिँदै मापसे कारबाहीमा परेका चालक।