तपाईं पनि जीवन बचाउन सक्नुहुन्छ

तपाईं पनि जीवन बचाउन सक्नुहुन्छ

संसारमा अनेक किसिमका मानिस हुन्छन्। अझ राम्रा मानिसले त यो संसार भरिपूर्ण छ तर, अर्काे राम्रो मान्छेसँग भेट हुने संयोग त्यस भाग्यमानीलाई मात्र जुर्छ, जो दयावान्, शीलवान्, सहृदयी तथा अन्तर्मनदेखि शुद्ध होस्। जसमा कसैप्रति द्वेष, ईष्र्या तथा वैमनस्य नहोस्। राम्रो मान्छे भन्नाले यहाँ अनुहारको सुन्दरतासँग भन्दा उसका आचरण, बोलीवचन, व्यवहार, सोच, दैनिकी, रहनसहन तथा चरित्र आदि सबैबाट झल्किने तत्व सम्झनुपर्छ।

राम्रा मानिसको जीवन भित्रैदेखि सुन्दर हुन्छ। राम्रा मानिसले सकभर अरूको अहित हुने कामै गर्दैनन्, सोच्दैनन्, अरूलाई चित्त दुख्ने कुरा बोल्दैनन् र सुन्दैनन् पनि। अझ राम्रा मानिसले त सबैमा उनै परमात्माको वास भएको छर्लंग देखेको हुन्छ। अर्कालाई रुवाउने, दुःख दिने, अर्काको लुट तथा बलपूर्वक खाने, अर्काको दुःख विनाश र खतीमा रमाउने मात्र होइन, अर्काे व्यक्तिको हत्या गरेर धन आर्जन गर्ने व्यवसाय चलाएर बस्नेहरूका पनि यहाँ कमी छैन। उल्लिखित कुनै राम्रो मानिसका हातमा यो लेख परोस् र उसले कसैको अथवा धेरै बहुमूल्य जीवन बचाउन सकोस्।

अंग्रेजी शब्द ‘स्ट्रोक’ बाट आज को अनभिज्ञ होला ? पाठकवृन्द, यो अंग्रेजी शब्दअगाडिका तीन अक्षर एसटीआर मात्र सम्झने हो भने प्राणघातक ‘स्ट्रोक’ अवस्थाबाट पीडित धेरैको जीवन रक्षा गर्न सकिन्छ। केही वर्षअघि एकजना प्रतिष्ठित तथा सम्पन्न परिवारका मिलनसार, हंसमुख, सफल प्रशासक, व्यवसायी, खेलाडी तथा सहृदयी व्यक्ति अनुप राणाको ‘स्ट्रोक’ का कारण ज्यान गयो। घरबाट अस्पतालतिर कुदाउँदा–कुदाउँदै चक्रपथकै कुनै एक स्थानमा उनको अमूल्य जीवन समाप्त भयो। उनलाई चिन्ने मात्र होइन, उनको असल तथा निर्भीक स्वभावको प्रशंसकमध्ये एक म उनको निधनको समाचारले दुःखी भएको थिएँ। अरू पनि ‘स्ट्रोक’ बाट पीडित थुप्रै, जसका आफन्त, हितैषी, शुभचिन्तक तथा तत्क्षण मौजुद कुनै पनि विवेकशील व्यक्तिले केही गर्न नभ्याउँदै जीवनलीला समाप्त भएका धेरै घटना देख्न, सुन्न र पढ्न पाइन्छ। कुनै एक समय बिहान ‘मर्निङवाक’ मा निस्केका व्यक्ति बाटोमा ‘स्ट्रोक’ भएर सडककिनारमै मृत्यु भएको समाचार पनि पढेको थिएँ।

आकर्षक व्यक्तित्वका धनी सञ्चारकर्मी इन्द्र लोहनीलाई टेलिभिजन पर्दामा देखेपछि घरका तमाम क्रियाकलाप अचल हुन्थे र घरका सबै सदस्य टीभीअगाडि उनको खरो र दह्रो कार्यक्रम हेर्न मन्त्रमुग्ध भएर झुम्मिन्थे। एकपटक र्‍याडिसन होटलमा कुनै भोज र अर्काेपटक कालिकास्थाननजिक कुनै विवाह समारोहमा उनीसँग भेट भएको सम्झना छ। विवाहको रमझम र रंगीन माहोलमा आफ्ना केही साथीहरूका बीच हातमा माइक लिएर उनी गीत गाउनमा तल्लीन थिए। प्रफुल्लित मुद्रामा उनले बारबार गाइरहेको गीतको बोल थियो– ‘... ...म मुर्दा भएको तिमी आज हेर... ...।’

कुनै एक प्रख्यात कार्डियोलोजिस्टका अनुसार उपरोक्त जानकारी हासिल गर्नेले आफ्ना १० जना मित्र, आफन्त वा सहयोगीसमक्ष यी कुराको चर्चा मात्र गरेमा निश्चय पनि एउटा अमूल्य जीवनको रक्षा गर्न सकिन्छ।

उनले नै भने झैं को हेर्न चाहन्थ्यो र उनलाई त्यो अवस्थामा ? कसले नै बुझ्न सके र उनको त्यो संकेत ? ‘स्ट्रोक’ को महत्त्व जानेका कुनै एक व्यक्ति पनि गुह्येश्वरीनजिक उनको त्यो दुःखद घडीमा छेउछाउ हुँदो हो त आज सम्भवतः उनी बच्न सक्थे। कुनै पनि व्यक्ति पार्टी, घर, बाहिर अथवा अन्यत्र कतै भएका बेला ‘स्ट्रोक’ भयो र स्ट्रोक’ को लक्षणको सही पहिचान गरी उपचारस्थलसम्म तुरुन्तै पुर्‍याउन सकेमा एउटा अमूल्य मानव जीवन बचाउन सकिन्छ। दुःख छ, कोही नमर्ने मानिस पनि मृत्युको ग्राँस हुन जान्छन्, असहज, असहाय र विषम परिस्थितिको घेरामा परेर। स्ट्रोक’ को लक्षण जोकोहीले पनि चिन्नु अति आवश्यक छ।

कुनै न्युरोलजिस्टको भनाइअनुरूप यदि तीन घण्टाभित्र उनी स्ट्रोक’ पीडितकहाँ पुग्न सके भने त्यसको दुष्परिणामबाट बाहिर निकाल्न सकिन्छ। स्ट्रोक’ को पहिचान गर्ने तीन मुख्य संकेत एसटीआर सम्झनुपर्छ। बेलाबखत सर्वसाधारणलाई स्ट्रोक’ को पहिचान गर्न गाह्रो पर्छ। साधारणतया यसबारे अनभिज्ञता नै तमाम दुष्परिणामको जड हो। छेउछाउका मानिसले स्ट्रोक’ को सही पहिचान गर्न नसक्दा पीडितको ब्रेनमा हानि भइसकेको हुन सक्छ। डाक्टरको भनाइअनुसार छेउछाउमा उपस्थित मानिसले तीनवटा साधारण प्रश्न अगाडि सारेर ‘स्ट्रोक’ को सही पहिचान गर्न सक्छन्–

‘एस’ (स्माइल): पीडितलाई हाँस्न भन्नुस्।

‘टी’ (टक): पीडितलाई कुनै शब्द दोहोर्‍याउन भन्नुस्। जस्तैः आज घाम चर्काे छ, आज औधि चिसो छ। ‘आर’ (राइज): पीडितलाई दुवै हात उठाउन भन्नुस्। यदि पीडित उपरोक्त कुनै कुरामा असमर्थ भएमा तुरुन्त आफ्नो मोबाइल वा नजिकको टेलिफोनबाट एम्बुलेन्स बोलाउनुस्। एम्बुलेन्सको नम्बर प्रत्येक प्रहरी बुथ तथा औषधि पसलले पनि सर्वसाधारणले देख्ने गरी राख्ने प्रचलन सामाजिक धर्म हो। एम्बुलेन्स आएपछि पीडितका यी तमाम लक्षण बयान गरिदिनुस्। साथै एम्बुलेन्स आउन लाग्ने समयबीच स्ट्रोकका केही थप लक्षणको पहिचान गर्न पीडितलाई केही थप प्रश्न पनि गर्न सकिन्छ।

पीडितलाई जिब्रो बाहिर देखाउन भन्नुस्। यदि जिब्रो बांगो अथवा जिब्रो देब्रे वा दाहिनेपट्टि बटारिन्छ कि हेर्नुस्। कुनै एक प्रख्यात कार्डियोलोजिस्टका अनुसार उपरोक्त जानकारी हासिल गर्नेले आफ्ना १० जना मित्र, आफन्त वा सहयोगीसमक्ष यी कुराको चर्चा मात्र गरेमा निश्चय पनि एउटा अमूल्य जीवनको रक्षा गर्न सकिन्छ। पाठकवृन्द, यदि तपाईं पनि अमूल्य मानव जीवन रक्षाको यो पुनीत अभियानमा सम्मिलित हुन चाहनुहुन्छ भने सम्झनुस् एसटीआर।

यो त भयो अर्काको जीवन बचाउनेबारे। निःसन्देह मभन्दा पहिले ऊ, उनी वा अरू आउनु मानिसको शीलताको परिचय हो। तर अर्काे एउटा जीवन बचाउन आपूm पनि त बाँच्नुपर्‍यो। आपत्विपत् कुन घडीमा कसलाई कुन रूपमा आउन सक्छ भन्न कठिन छ। बाटोमा गुड्ने मोटर, ट्रक, टेम्पो, मोटरबाइक इत्यादि वा अन्य कुनै कारणले आफैं सडकपेटीमा ढल्नुपर्‍यो भने वा आफ्नै थाप्लोमा माथि उल्लिखित स्ट्रोक बजारिन पुग्यो भने... ... !

सम्झनुस् सडकछेउ लडिरहेको त्यो व्यक्ति कोही अरू वा आफैं परियो भने र साथमा मोबाइल (आज मोबाइल नलिने को होला) पनि छ भने कुनै शुभचिन्तकले तपाईंको वा उसको परिवारलाई खबर गर्न त्यो मोबाइलमा रहेको नम्बर खोज्न थाल्छन्। तर त्यहाँ त सयौं नम्बर हुन सक्छन्। तपाईंका घरमा उसले कसरी कुन नम्बरमा खबर गर्ने ? त्यसकारण इमर्जेन्सी नम्बर आफ्नो मोबाइलमा राख्नुस्।

- आफ्ना आमा–बुवा वा कसैको नम्बर।

- आफ्ना मामा–माइजू वा कुनै निकटको नम्बर।

- आफ्ना नजिकको मिल्ने तथा विश्वासिलो साथीको नम्बर राख्नुस्। आफू बच्नुस् र अरूको अमूल्य जीवन बचाउनुस्।

[email protected]


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.