नेपाल–भारत सम्बन्ध जनस्तरमै सुमधुर : मोदी

नेपाल–भारत सम्बन्ध जनस्तरमै सुमधुर : मोदी

काठमाडौं : नेपाल र भारत सहकार्य उल्झनरहित अघि बढ्ने विश्वास लिएर प्रधानमन्त्री केपी ओली स्वदेश फर्केका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री प्रसन्न मुद्रामा स्वदेश फर्केका हुन्।

ओलीले शुक्रबार बिहान भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएको र यसलाई थप उचाइमा लैजान ‘रचनात्मक सहकार्य’ गर्ने बताएका थिए। उनले सहकार्यप्रति खुसी व्यक्त गर्दै यही गतिमा सम्बन्ध अगाडि बढाउने आफ्नो चाहना पनि व्यक्त गरे। मोदीले प्रधानमन्त्री ओलीसमक्ष आतंकवादविरुद्ध जुटेर सहकार्य गर्दै समृद्धिमा अघि बढ्नुपर्ने धारणा राखेका थिए। उनले यस क्षेत्रबाट आतंकवाद अन्त्य गर्दै थाती रहेका परियोजना अघि बढाउने र नयाँ परियोजना थालनी गर्ने बताएको एक अधिकारीले जानकारी दिए। मोदीले दुईपक्षीय भेटबारे ट्विट गर्दै नेपालसँग सहकार्य गर्दै सम्बन्ध थप उचाइमा लैजान भेटवार्ता महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले स्वदेश फर्कनुअघि शुक्रबार बिहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्तामा ओलीले नेपाल–भारत सम्बन्ध एवं आपसी हितबारे छलफल गरेका थिए। ओलीले प्रबुद्ध व्यक्ति समूूह (ईपीजी) को विषयमा पनि मोदीसँग छलफल गरेका छन्।

प्रधानमन्त्री ओलीले नयाँदिल्ली विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाल–भारतबीच रहेको परियोजना र सहकार्यको अल्झनको गाँठो खुल्दै गएको बताए। उनले छिट्टै हुने नेपाल र भारतबीचको विदेशमन्त्रीस्तरीय संयुक्त आयोग बैठकमा दुईपक्षीय सम्बन्धबारे समीक्षा हुने प्रस्ट पारे।

‘एउटा व्यक्तिले सम्बन्धमा फरक पर्दैन’

नेपालमा खासै नरुचाइएका अर्थात् संविधान जारी हुनु अघि नेपाल भ्रमण गरेर फर्केपछि नाकाबन्दीसम्मको तहमा पु¥याउने आरोप खेप्दै आएका पूर्वविदेश सचिव एस जयशंकरले विदेशमन्त्रीको जिम्मा पाएका छन्। आगामी महिना हुने मन्त्रीस्तरीय संयुक्त आयोग बैठकमा उनी सहभागी हुनेछन्। उनको विदेश मन्त्रालय जिम्मेवारीले अर्कै प्रकारको असर पर्ने त होइन भन्ने आमधारणा बाहिर आएको छ।

भारतीय पत्रकारले पनि प्रधानमन्त्री ओलीलाई जयशंकरकै विषयमा जिज्ञासा राख्दा ओलीले कुनै एक व्यक्ति पदमा पुग्ने विषयले दुईपक्षीय सम्बन्धमा तात्त्विक भिन्नता नआउने बताए। त्यो भारत सरकारको नितान्त आन्तरिक विषय हो भन्दै उनले यस्तो विषयमा धेरै दिमाग लगाउन नहुने बताए।

मोदी पुनः नेपाल आउने

प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन्। भारतीय पक्षले पनि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएको छ। भारतीय प्रधानमन्त्री मोदीले आफू पुनः नेपाल आउने चाहना व्यक्त गरेका छन्। संयुक्त आयोग बैठकपछि मोदीले नेपाल भ्रमण गर्ने सम्भावना छ।

प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीले रुद्राक्षको माला उपहार दिएका थिए। हिन्दुत्वको बढवा दिएर अघि बढेका मोदी शिवभक्त समेत रहेकाले उनलाई रुद्राक्षको माला दिएर पुनः पशुपति दर्शनको निमन्त्रणा गरिएको हो।

ओली र भाजपाका महासचिवबीच भेट

प्रधानमन्त्री ओलीलाई भारतीय जनता पार्टीका महासचिव राम माधवले भेटे गरेका छन्। दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको थियो। प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई पनि उक्त भेटमा सँगै थिए। भेटलाई नेपाल र भारतको दुईपक्षीय मामिला र सम्बन्धबारे रणनीतिक छलफलका रूपमा लिइएको छ। भेटबारे परराष्ट्र मन्त्रालय अनभिज्ञ छ। मन्त्रालयका एक अधिकारीले भने, ‘राजनीतिक भेटघाट भएको हो। त्यो भेटमा भएको छलफलबारे हामी अनभिज्ञ छौं।’ भेटबारे प्रधानमन्त्रीका सल्लाहकार भट्टराईले पनि केही बताउन चाहेनन्। प्रधानमन्त्री ओलीले शुक्रबार बिहान नेपाली दूतावास पुगेर दूतावासको समस्या र कामबारे जानकारी लिएका थिए।

सार्क र बिमस्टेक नदाजौं : ओलीप्रधानमन्त्री ओलीले सार्क र बिमस्टेक फरक रहेकाले यसलाई विकल्प भन्नै नमिल्ने बताएका छन्। उनले भने, ‘सदस्य मुलुकको बुझाइले कहिलेकाहीं फरक निमन्त्रणा हुन सक्छ तर त्यसो भन्दैमा सहकार्यमै फरक पर्ने भन्ने होइन।

नेपाल सार्कको अध्यक्ष मात्र होइन यसको मुख्यालय पनि नेपालमा रहेकाले सार्कले पुनर्जीवन पाउनुपर्छ यसलाई प्रभावकारी बनाउनुपर्छ। सार्क अध्यक्षसमेत रहेका ओलीले यसलाई अगाडि नेपाल वा भारतको चाहनाले मात्र नहुने भन्दै सबै सदस्य राष्ट्रको सहकार्य आवश्यक रहेको बताए।

पछिल्लो समय भारत–पाकिस्तानबीच बिग्रँदो सम्बन्धका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन। मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीसहित बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.