क्यान्सर पीडित पूजालाई ‘दारी ग्याङ’को आर्थिक सहयोग
गोरखा : गोरखाका युवाले गठन गरेको दारी ग्याङले रक्त क्यान्सरबाट पीडित २४ वर्षीया पूजा थापाका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ।
सहिद लखन गाउँपालिका १ साबिक बक्राङ गाविसको दिप्लिङ निवासी थापाको रक्त क्यान्सरका लागि उपचार खर्च संकलन अभियान सुरु गरेको दारी ग्याङका सुमन कार्कीले जानकारी दिए।
दारी ग्याङले पहिलो चरणमा संकलित ७६ हजार एकसय ११ रुपैयाँ शनिबार थापालाई प्रदान गरिएको छ। उनले उपचार गराइरहेको काठमाडौंको सिभिल सर्भिस अस्पतालमा पुगेर रकम हस्तान्तरणा गरिएको हो।
सहयोग रकममध्ये ४० हजार रुपैयाँ गोरखा घर भइ हाल अष्ट्रेलियामा अध्ययनरत सन्दीप लम्सालले सामाजिक सञ्चालमार्फत संकलन गरेर पठाएका हुन्। बाँकी रकम दारी ग्याङ गोरखाले नै संकलन गरेको कार्कीले बताए।
थापाको उपचारमा अहिलेसम्म १७ लाख रुपैयाँ खर्च भइसकेको छ भने अझै २० लाख रुपैयाँ खर्च हुने अस्पतालले जनाएको छ।