बजेटमा पार्टीगत धारणा

बजेटमा पार्टीगत धारणा

काठमाडौं : विपक्षी दलका सांसदले बजेटको आलोचना गरेका छन्। सत्तारुढ दलका सांसद भने बजेटको बचाउमा लागेका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले वैशाख १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षका लागि बजेट पेस गरेका थिए। बजेटबारे सैद्धान्तिक छलफलमा सत्तापक्ष र प्रतिपक्षको धारणा बाझिएको हो।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपाका योगेश भट्टराईले सबैलाई समेट्ने गरी सकारात्मक रूपमा वितरणमुखी बजेट आएको बताए। ‘नेपालजस्तो मुलुकका लागि यस्तो बजेट बाध्यता हो’, उनले भने। सामाजिक सुरक्षा तथा लोककल्याणकारी व्यवस्थामा विशेष ध्यान दिएर बजेट आएको तर्क उनले तर्क। यसले नागरिक र राज्यबीच सामीप्य ल्याउने उनले बताए। विगतमा पुँजीगत खर्च अपेक्षाकृत रूपमा हुन नसक्नु मुख्य समस्या रहेकोतर्फ सरकारले ध्यान दिँदै बजेट कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो।

प्रमुख विपक्षी कांग्रेसका डा. मीनेन्द्र रिजालले सरकारले वितरणमुखी बजेट ल्याएकोमा असन्तुष्टि जनाए। सरकारले नयाँ इतिहास बनाउने गरी बजेट ल्याउन नसकेको उनको आरोप थियो। बलशाली नेताको क्षेत्रमा मात्र बजेट जाने गरेको तर्क उनले गरे। ‘प्रधानमन्त्रीज्यू र मेरो निर्वाचन क्षेत्र खोला वारिपारि हो’, उनले भने, ‘उहाँको निर्वाचन क्षेत्रमा खर्च हुने आधा रकम मात्र मेरो क्षेत्रमा जाने हो भने म पूर्वाधार विकास कार्यक्रमको रकम लिन्नँ।’ सरकारले स्वदेशी लगानी बढाउने र विदेशी लगानी भित्र्याउने वातावरण बनाउनेतर्फ ध्यान दिन नसकेको उनको भनाइ थियो।

राजपाका महन्थ ठाकुरले हुलाकी राजमार्गलाई केन्द्रमा राखेर सरकारले बजेट वृद्धि गर्नु सकारात्मक भएको बताए। तराईमा ठूला–साना सबै प्रकारका सिँचाइ आयोजनाको विकास, आर्थिक तथा सामाजिक विकास हुने आयोजना आवश्यक रहेको उनको भनाइ थियो।

समाजवादी पार्टीका प्रदीप यादवले बजेट संघीयताअनुरूप नआएको बताए। धेरैजसो बजेट केन्द्रमै केन्द्रित गरेका कारण समस्या भएको उनको भनाइ थियो। प्रदेशलाई विभेद गरिएकाले बजेट सच्याउनुपर्ने माग उनले गरे।

बजेट पुस्तिकामा त्रुटि

कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले बजेट पुस्तिकामा संशोधित अनुमान रकममा त्रुटि औंल्याएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले उक्त त्रुटिबारे अर्थमन्त्री डा. युवराज खतिवडाको जवाफ माग गरे। अर्थमन्त्री डा. खतिवडाले त्रुटि सच्याउने प्रतिबद्धतापछि सैद्धान्तिक छलफल अघि बढेको थियो। रिजालले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने राजस्व कुल राजस्वबाट घटाउनुको सट्टा सर्वसञ्चिति कोषमा दाखिला हुने गरी ९ सय ६२ अर्बको राजस्व अनुमान गरिएको भन्दै त्रुटि औंल्याएका थिए।

अर्थमन्त्री खतिवडाले प्राविधिक त्रुटिका कारण प्रदेश र स्थानीय तहमा जाने राजस्व पनि संघमा जोडिन गएकाले त्रुटि देखिएको स्वीकार गरे। त्यो सच्याइएको स्पष्ट पार्दै यसले बजेट अनुमानको अन्य अंकमा तल–माथि नपार्ने स्पष्ट गरेका थिए।

ज्यान जोगाइदिन आग्रह

सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले प्रतिनिधिसभाको कुर्सीबाट आफू चारपटक लडेको गुनासो गरे। उनले आइतबारको बैठकमा आफ्नो ज्यान जोगाइदिन सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराए। भाँचिएको कुर्सी देखाउँदै उनले मर्मत गरिदिन पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका थिए। सभामुख महराले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.