पतिका रूपमा वरको पूजा गरी बरसाइत पर्व मनाइयो
राजविराज : पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिको कामना गर्दै सप्तरीसहित तराईका महिलाले सोमबार बरसाइत (बट सावित्री) पर्व मनाएका छन्। नयाँ वस्त्र पहिरी, सोह्र श्रृंगार गरेर महिलाले सौभाग्य-समृद्धिका लागि वरको रूखमा दूध र जल चढाई श्रद्धापूर्वक बरसाइत (बटसाबित्री) पर्व मनाएका छन्।
वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुने तथा सावित्री पनि सोही रूखमा प्रतिष्ठापित हुने मान्यताअनुसार पतिको दीर्घायुका लागि व्रत गर्ने गरिएको राजविराज ६ की मालती साहले बताइन्।
राजविराजस्थित बैष्णव काली मन्दिरमा रहेको वरको पूजा गर्न छोरी, बुहारीका साथ आएकी ६५ वर्षीया साहले पतिको दीर्घायुका लागि ५० वर्षदेखि बट सावित्रीको पूजा निरन्तर गरिरहेको बताइन्। मैथिली भाषामा वटलाई वरभनिन्छ भने पतिलाई पनि वरभन्ने गरिन्छ। बरको रुख लामो समयसम्म बाँच्ने भएकाले यसको पूजा गर्ने मान्यता रहेको छ। बट-सावित्री पूजा नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्नुपर्ने राजविराज ७ की कल्पना देव बताउँछिन्।
नवविवाहिता महिलाले पहिलो वरसाइत (विहेपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा श्रीमानकै घरमा मनाउनुपर्छ।अघिल्लो दिन नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र श्रृंगार अर्थात् लाउने लुगादेखि चुरासम्मका सबै श्रृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ।
सुरुमा ब्राह्मण, क्षेत्री, बैश्य र कायस्थले मात्र मनाउने पर्व अहिले सबै मैथिल समुदायका साथै तराईमा बसोबास गर्ने पहाडी, माडबारी समुदायले समेत मनाउन थालेको देब बताउँछिन्। बिहानै नुहाई रातो पहिरनमा नजिकको वर (बट) को रुखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिँदुरले रगाउँछन्। प्रसाद चढाइसकेपछि ब्रतालुले वरको रुखमा सात फेरो पहेलो र रातो धागोले बेर्छन्।
वरको रूखको पूजासँगै जेष्ठ महिलाले रुखमुनि गौरी, भगवती र विसहराको कथा भन्ने र अरुहरुले सुन्ने गर्छन्। पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने गर्छन्।
ब्रतालु महिलाले बट सावित्री व्रतका दिन सिन्दूर, फल, फूल, अक्षता, बाँसको पंखा, चना र मिठाईले सावित्री, सत्यवान, नाग र यमराजको पूजा गर्छन्। नयाँ फल आँप, लिच्ची, केरा, भिजाएको चना आदी चढाएर पूजा गरी बाँसको पंखाले हम्कनाले शितलता प्राप्त हुने विश्वास रहेको राजविराज ३ की निशु झाले बताइन्।
विवाह भएपछि ३५ वर्षदेखि लगातार पूजाब्रत गर्दै आएकी राजविराज ४ की कृष्णा साहले आमा, हजुरआमा, सासूले मनाउँदै आएको परम्परा रहेको जनाइन्। सम्पूर्ण मिथिला क्षेत्रमा १६ श्रृंगार गरेका महिलाले दूध, लावा, फलफूल चढाई वरको रुखको परिक्रमा गरी बेसारले रंगिएको काँचो सुतको धागो बाँध्ने चलन रहेको राजविराज ६ की रमीला साहले बताइन् ।
प्रेम, श्रद्धा र समर्पणको यो पर्व पवित्र प्रेमको पौराणिक कथामा आधारित छ। राजविराज ३ स्थित बैष्णव काली मन्दिरका पुजारी राजिब झाले सनातन काल त्रेतायुगदेखि मनाउन थालिएको बट सावित्रीको पूजा गरेमा महिलाले अखण्ड सौभाग्यवतीको आर्शिवाद प्राप्त गर्ने विश्वास रहेको बताए।
पतिव्रता सावित्रीले यही पर्व गरेर मृत पति सत्यवानलाई यमराजबाट फिर्ता गरेको धार्मिक मान्यता छ।राजविराज ३ की बब्ली साहले सर्पदशंले अल्पायुमै मृत्यु भएका पतिलाई यमराजसँग खोसेर ल्याउन सकिने मान्यताका साथ पर्व मनाउँदै आएको बताइन्।
कथाअनुसार यमराजले सत्यवानको प्राण लिएर जान लागेपछि सावित्री पनि यमराजको पछि लागिन । यमराजले मृत पतिसँगै जिवित सावित्री जान नपाउने भन्दै त्यस्को साटो बरु वरदान माग्न भने। सावित्रीले सय पुत्रको आमा हुन पाऊँ भनी बरदान मागिन्।
यमराजले सय पुत्रको आमा हुन पाउने बरदान दिएलगत्तै सावित्रीले यमराजसँग आफू पतिव्रता महिला भएकोले पति बिना सन्तान सम्भव नहुने बताएपछि सत्यवानको प्राण फिर्ता गर्न यमराज बाध्य भएको राजविराज ७ स्थित भगवती मन्दिरका पुजारी दुर्गानन्द पुजारी मिश्रले बताए।
पुजारी मिश्रका अनुसार जेठ कृष्णपक्ष अमावश्याका दिन मैथिल महिलाले पतिको दीर्घायुका लागि बरको पूजा गर्ने र अमावश्याका दिन सोमबार परेमा पतिका साथै पुत्रको लागि पिपलको पूजा गर्ने चलन रहेको छ।
सावित्रीले पतिको प्राण बचाउन यमराजको पछि लागेको बेला बट वृक्षले नै सत्यवानको शवको देखरेख गरेको पौराणिक कथामा छ। पतिको प्राण फिर्ता लिएर फर्किने बेला सावित्रीले बट वृक्षप्रति आभार व्यक्त गर्दै परिक्रमा गरेर आराधना गरिन्। यसैले वट सावित्री व्रतमा बरको रुखमा पूजा तथा परिक्रमा गर्ने नियम छ। आसपासमा बरको रुख नभएको अवस्थामा वरको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ।