छात्रामा अनौठो रोग देखिएपछि विद्यालय बन्द
धनकुटा : छात्रामा अनौठो रोग देखा परेपछि छथरजोरपाटी गाउँपालिका—४ तेलियाको तिलेश्वर माध्यमिक विद्यालय चार दिनदेखि बन्द छ।
एकहप्ता अघिदेखि सातदेखि १० कक्षासम्म अध्ययनरत छात्रामा बेहोस हुने, बर्बराउने, काम्ने, चिच्याउने, शरीर बाउँडिने जस्ता अस्वभाविक समस्या देखिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकेन्द्र भण्डारीले जानकारी दिए।
अभिभावकको सल्लाहमा विद्यालय बन्द गरिएको भण्डारीको भनाइ छ। पाँच दिनअघि तीन चारजना विद्यार्थीमा यस्तो समस्या देखिएको थियो। विस्तारै बिरामी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ।
विद्यार्थीमा डर, त्रास देखिएपछि दैनिक २० देखि २५ जनासम्म अनुपस्थित हुनथालेपछि विद्यालय बन्द भएको हो।
विद्यालयमा नर्सरदेखि कक्षा १० सम्म १ सय ७० विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीमा देखिएको यस्तो अनौठो रोग यस भन्दा पहिले गाउँमा कहिल्यै पनि नदेखिएको तेलियाका स्थानीय शंकरप्रसाद ओझाले बताए। उनले भने,‘विद्यार्थीमा देखिएको रोगले अभिभावकहरु त्रासमाा छन्।’
चौबिसे गाउँपालिकाको बुधुक माविका छात्रामासमेत यो समस्या देखिएको छ। १५ दिन अघिदेखि छात्रामा समस्या देखिएको प्रधानाध्यापक टीकाप्रसाद कोइरालाले बताए।
कक्षा ८ का विद्यार्थीमा बढी समस्या देखिएपछि आइतबारसम्म बिदा दिएको उनको भनाइ छ। केही वर्ष अघि देखिएको यस्तै समस्या भने मनोवैज्ञानिक उपचारपछि ठिक भएको प्रधानाध्यापक कोइरालाको भनाइ छ।