विप्लवका एरिया इन्चार्जले दिए राजिनामा
राजविराज : पार्टीले लिएको ध्वंशात्मक गतिविधिको विरोध गर्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका एक नेताले राजिनामा दिएका छन्।ध्वंशात्मक गतिविधि देशको समृद्धि र विकासका लागि वाधक भएको भन्दै सप्तरी जिल्ला ३ नम्बर एरिया इन्चार्ज छिन्नमस्ता गाउँपालिका-१ का ४० वर्षीय तेजनारायण यादव 'रन्जित' ले एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीबाट राजिनामा दिएका हुन्।
उनले पार्टीले लिएको ध्वंशात्मक गतिविधि, पार्टीभित्रको आन्तरिक कलह र मधेश एवम् मधेशीलाई हेर्ने पार्टीको दृष्टिकोण स्पष्ट नभएको उल्लेख गरेका छन्।'सरकारले लिएको वार्ता र संवादबाट सबै समस्याको हल भन्ने नीतिअन्तर्गत पार्टी वार्तामा नआउनु देश र जनताका लागि घातकसिद्ध हुनेछ। प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ, 'हतियार सबै समस्याको हल नभएको हुँदा आजैको मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिई स्वतन्त्र नेपाली नागरिकको रुपमा जीवनयापन गर्न चाहेको छु।'
तत्कालिन नेकपा माओवादीको जनयुद्धमा समेत संलग्न रहेका 'रन्जित' ले अब उप्रान्त आफू कुनै पनि पार्टीमा आवद्ध नहुने तथा घरपरिवार चलाउन योग्यता अनुसारको पेशामा लाग्ने प्रतिक्रिया दिए।ध्वंशात्मक गतिविधिका साथ जनधनको क्षति गर्न थालेपछि सरकारले 'विप्लव' नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ। पार्टी प्रतिबन्धपछि सप्तरी प्रहरीले विप्लव समूहका एरिया इन्चार्ज
'रन्जित' लाई चैत ११ गते र त्यसपछि पनि पटक-पटक पक्राउ गरेको थियो। पार्टी प्रतिबन्ध हुनुअघि पनि उनी 'टाइम बम' विष्फोट गर्न खोजेको आरोपमा पक्राउ परेका थिए।