पारिवारिक विवाद र भयग्रस्त समाज

पारिवारिक विवाद र भयग्रस्त समाज

हामीले सही संस्कृतिको विकास गरेमा वा सद्भाव र भलो चिन्तन राखेमा आपराधिक गतिविधिमा नपरी जीवन स्वच्छ हुनेछ।


यही जेठ ६ गते पाँचथर मिक्लाजुङ गाउँपालिकामा नौ जनाको हत्या र एक जनाको आत्महत्याको कारण पारिवारिक सम्बन्ध बिग्रेको परिणाम भएको पाइएको छ। यो वारदातपछि मानिस परिवारसँगै आफ्नै घरभित्र बस्न पनि डराउन थालेका छन्। हत्याराको आशंका गरिएका मानबहादुर माखिन मारिनेमध्येकी मानकुमारी फियाकका पति हुन्। माखिनले आत्महत्या गरेका थिए। यी दुईबीचको आपसी सम्बन्धमा तिक्तता हुनुको अतिरिक्त मानकुमारीले मानबहादुरउपर सम्बन्धविच्छेद मुद्दा अदालतमा दायर गरेको देखिन आउँछ।

२०७५ को असोज महिनादेखि सम्बन्धविच्छेद मुद्दा चले पनि दुई पक्षबीच मारपिट र झैझगडा निरन्तर भइरहेको पाइएको छ। यथार्थ के हो, कतिले हत्या गरे वा एक्लैले हो यो पक्ष अनुसन्धान हुन बाँकी छ। तथापि हत्या हुनुपर्ने मुख्य कारण भनेको पतिपत्नीबीचको विवाद नै हो भन्ने पुष्टि भएको देखिन्छ। यसरी दुईजनाबीचको आपसी द्वन्द्वले परिवारका नौजना व्यक्ति, त्यसमा पनि संसारमा राम्रोसँग बुझ्न नपाएका नाबालकले ज्यान गुमाउन परेको वारदातले समाजको मनोदशा अस्तव्यस्त हुन पुगेको देखिन्छ।

नेपालमा सम्बन्धविच्छेदको कानुन २०२० सालको मुलुकी ऐनमा पहिलोपटक स्थापित गरिएको थियो। नेवारी परिवारमा पारपाचुकेको प्रचलन भए पनि अन्य जातिमा सम्बन्धविच्छेद हुँदैन थियो। नयाँ मुलुकी ऐनले त्यसबखत सम्बन्धविच्छेदको प्रावधान राख्दा स्वयम् महिलाले घोर कलियुग आयो भनी जिब्रो टोकी आश्चर्य प्रकट गरेका थिए। पुनः २०३३ सालमा महिलालाई थप सुविधा दिँदै कानुनमा संशोधित गरियो। मुलुकी ऐनको ११ औं संशोधनले सम्बन्धविच्छेद गरेकी महिलालाई अंश दिने व्यवस्था कायम गरेको हो। अहिले नयाँ मुलुकी ऐन देवानी संहिता २०७५ आएको छ। गत २०७५ को भदौदेखि कार्यान्वयन हुन सुरु भइसकेको छ। यस संहिताले साबिकको व्यवस्थालाई केही फरक पारेको देखिन्छ। संहिताको दफा ८४ को क र ९५ को सबै अवस्थामा महिलाले सम्बन्धविच्छेद गर्दा अंश पाउने सहुलियत प्रदान गरेको छ। तर दफा ९४ को ख ग र घ को अवस्थामा भने महिलाले अंश नपाउने प्रावधान कायम गरिएको छ।

पतिपत्नीबीच सम्बन्धविच्छेद भनेको पारिवारिक मेलमिलाप हुन नसक्ने अवस्था भएपछि सम्बन्ध भंग गरी बेगल हुने हो। पश्चिमा मुलुकका कानुनमा सामान्यतः सम्बन्धविच्छेद हुने आधारमा के मानिएको छ भने वैवाहिक जीवन भनेको पवित्र सम्बन्ध हो। यदि पतिपत्नीबीच फेरि पनि मिल्न नसक्ने गरी सम्बन्धविच्छेद हुन्छ अर्थात एकअर्काप्रति कुनै लगाव नै हुँदैन। त्यसपछि पनि सँगै बस्नु भनेको सम्बन्धलाई क्रमशः समाप्त पार्दै लैजानु हो। अर्थात पतिपत्नीबीचको वैवाहिक सम्बन्ध र एकअर्काप्रतिको कर्तव्य पुनस्र्थापित नहुने गरी सम्बन्ध बिग्रिएको अवस्था हो। कमन ल पालना गर्ने इङल्यान्ड र सम्बन्धविच्छेदको मामलामा त्यही कानुन पालना गर्ने अमेरिकामा सम्बन्धविच्छेदको बारेमा यसका आधार र कारणको सम्बन्ध पनि मुलुक–मुलुकबीच फरक छ। मुसलमानको सरियत कानुनले महिलालाई खुला र पुरुषलाई तलाक गर्न पाउने व्यवस्था छ। फिलिपिन्समा अहिले सम्बन्धविच्छेदको कानुन नभएकाले कानुन बनाउने र हाउसबाट पारित गराउने प्रयास गरिँदैछ। त्यहाँ मुसलमानले केही सर्तमा सम्बन्धविच्छेद गराउने प्रावधान छ। बाँकी अन्यका हकमा यदि पारिवारिक सम्बन्ध जटिल भएमा अदालतबाट अर्को बिहे गर्ने इजाजत लिने व्यवस्था छ। तर सम्बन्धविच्छेदको कानुन बनेको छैन।

नेपालमा नयाँ मुलुकी ऐन देवानी संहिता २०७४ ले दफा ९४ मा पुरुषद्वारा सम्बन्धविच्छेद गर्ने प्रावधान छ भने दफा ९५ मा महिलाद्वारा सम्बन्धविच्छेद गर्ने प्रावधान छ। दफा ९५ मा दुई उपदफा थप गरिएको छ। एउटामा पतिले अर्को बिहे गरेमा र पतिले पत्नीविरुद्ध जबर्जस्ती करणीको अपराध गरेको अवस्थामा। संहिताले स्थापित गरेको नयाँ व्यवस्था भनेको अहिले पुरुषले पनि सम्बन्धविच्छेदको निम्ति प्रत्यक्ष अदालतमा मुद्दा दायर गर्न सक्छन्। जबकी खारेज भएको २०२० सालको मुलुकी ऐनमा पुरुषको हकमा पहिले गाविस वा नगरपालिकामा उजुरी गरी वर्ष दिनसम्म नमिलेको अवस्थामा स्थानीय निकायको सिफारिसमा उजुरी अदालतमा गर्ने व्यवस्था कायम थियो। तथापि स्थानीय निकायसम्बन्धी ऐननियममा अहिले पनि स्थानीय निकायअन्तर्गतको न्यायिक समितिमा उजुरी गरी छलफल गर्ने प्रावधान छ। मेलमिलाप हुने अवस्था नभएमा दुईपक्षको सहमतिमा अदालतमा सिफारिस गरी उजुर गर्न पाउने प्रावधान छ।

भरसक मिलेर बस्नु राम्रो हो, पतिपत्नीबीच सानातिना विषयमा विवाद नगरी एकअर्काप्रति सुझबुझ र सल्लाह गरी समस्या समाधान गर्नु राम्रो हो।

आजभोलि पतिपत्नीबीचको झैझगडा र विवाद समाजमा प्रशस्त देखिन थालेको छ। झन् नयाँ मुलुकी ऐन संहिता लागू भएयता मुद्दाको संख्यामा पनि बढेको देखिन्छ। यसको पहिलो कारण सानै उमेरमा भागेर वा परिवारको जोडबलमा बिहेवारी हुनु। अहिलेको सम्बन्धविच्छेदको मुद्दा विशेषतः अधिक संख्यामा १६ वर्षदेखि ३० वर्ष उमेरसमूहमा परेको देखिन्छ। दोस्रो, पुरुष रक्सी खाने, फजुल खर्च गर्ने, परिवार र घरको समस्या गर्जो नटार्ने। तेस्रो, वैदेशिक रोजगारीले खडा गरेको विकृति। चौथो, पितृसत्तात्मक सोच अज्ञानता, असमझदारी, अशिक्षित भएको कारण कुटपिट झैझगडा आदि। पाँचौं, अहिले आधुनिकताको नाममा आएको उच्छृंखल व्यवहारका कारण पनि विवाद भएका छन्। छैटौं, केही संख्याका महिलामा आर्थिक प्रलोभन बढेको छ। त्यसकारण चार दिन बिहे गर्ने र पाँचौं दिनमा सम्बन्धविच्छेद गर्ने प्रवृत्तिमा बढ्दै गएको देखिन्छ।

कतिपय महिलाले दाम्पत्य जीवनको अर्थसँग सरोकार नराखी घरव्यवहार नगर्ने, बरु सौख आनन्द गर्ने कारणबाट पनि विवाद भई सम्बन्धविच्छेद हुन पुगेको देखिन्छ। पुरुषमा हुने पितृसत्तात्मक चिन्तनको कारण अधिकांश पुरुषले महिलालाई दबाब र प्रभावमा राख्ने प्रवृत्तिका कारण अबको आधुनिक युगमा पढेलेखेको युवतीले सहन गर्न स्वाभाविक रूपमा कठिन हुन्छ। आधुनिक युगमा महिलाले पनि स्वतन्त्रताको र समानताको अपेक्षा राखेका हुन्छन्। झन् सम्बन्धविच्छेदपछि अंश दिने विषयले पुरुष वर्गलाई टाउको दुखाइको विषय बनेको छ। जसले घर छाडेर, परिवार र थरसमेत त्यागेर जान्छ त्यसलाई किन अंश दिने भन्ने चिन्तन छ। यसकारण पनि हत्या हिंसाको वारदात बढेको हो। सम्बन्ध बिग्रेको कारण सम्पत्तिबाट वञ्चित हुनुभन्दा पतिको हत्या सुपारी दिएर पनि गरेका उदाहरण छन्। पश्चिमी मुलुकमा सम्बन्धविच्छेद सामान्य हुन्छ। दुईबीचमा मन नमिलेपछि सल्लाहले छुट्टिन्छन्। कतिपय मुलुकमा विवाहपश्चात कमाएको सम्पत्ति भाग लगाइन्छ। अथवा एलिमनी सम्बन्धविच्छेद पछि दिने व्यवस्था छ। १० वर्षभन्दा बढी समयसम्म सँगै बसेकी       श्रीमतीलाई जीवनभर, केही समयका लागि वा अर्को बिहे नभएसम्म अथवा आत्मनिर्भर नभएसम्म पढ्न वा तालिम लिन खर्च गर्ने व्यवस्था छ। सन्तान छन् भने नाबालक भएसम्म आमाबुवा दुवैले खर्च दिन सक्छन्। अमेरिकाको सरकारी तथ्यांक हेर्दा ४० देखि ५० प्रतिशतसम्म सम्बन्धविच्छेद भएको देखिएको छ।

नेपालमा सम्बन्धविच्छेदको संस्कृतिको विकास भएको छैन। महिलाहरू परिवार र लोग्नेले कष्ट दिए पनि सहेर बसेका छन्। पढेलेखेका मै हुँ भन्ने धनीमानी परिवारले खानादानको इज्जत र मान राख्ने आधारमा कष्ट सहेका छन्। भित्रभित्र पाकेर बरु मृत्युवरण गर्न तयार छन् तर सम्बन्धविच्छेद गर्दैनन्। कतिपय त सम्बन्धविच्छेद भएको लोग्नेले कोसँग बिहे गर्दैछ भन्ने चासो राख्ने पूर्वपत्नीको कमी छैन।

त्यस्तै सम्बन्धविच्छेद भए पनि पूर्व पत्नीको बारेमा गालीगलौज र अनावश्यक टीकाटिप्पणी गर्ने पतिको हाम्रो समाजमा कमी छैन। त्यसका अतिरिक्त महिलालाई छोड्ने विवाद सुरु भएदेखि नै घरबाट निकाल्ने, खानलाउन नदिने, सन्तान भए तिनको खर्च नव्यहोर्ने र भरमग्दुर कष्ट दिने प्रयास गरेको देखिन्छ। अंशबाट वञ्चित गर्न खर्च नदिन न्यायपालिकामा घुसको आदानप्रदान गर्न तयार हुन्छन् तर पत्नीलाई खाइखर्च दिन तयार हुँदैनन्। महिलाले आफ्नो गुजारा कसरी गर्ने र कहाँ बस्ने समस्या हुन्छ। झन् सन्तान भए आमासँगै पछि लाग्छन्। त्यसबेला महिलाको अनिश्चित भविष्य एकातिर हुन्छ भने अर्कोतिर सँगै भएका बालबालिकाको भविष्य पनि जोखिममा पर्न जान्छ। यस्तो बेला पति र उसका परिवारले भरथेग नगर्ने र प्रताडित भएको देखेर आनन्द लिने प्रवृत्ति हाम्रो समाजमा छ। यसै कारण पनि आफू मात्र होइन नाबालक सन्तानैसहित आत्महत्या भएको उदाहरण यही समाजमा देखिएको छ। यस्तै विवाद बढ्न गई कति ठाउँमा लोग्ने र उसको परिवारको हत्या गर्न परिवारबाट वञ्चित भएकी महिलाले सुपारी दिएको उदाहरण पनि छ। यसरी बदलाको भावना लिएर हत्याको वारदात हुनुपर्ने अर्को कारण हो स्वास्नी मानिसको हठ।

कतिपय अवस्थामा पुरुषलाई सम्बन्धविच्छेद गरी बाटो खोजी दिने काम पनि नगर्ने र उसँग घरजम गरी बस्ने काम पनि नगर्ने पनि गरेका छन्। श्रीमान्सँग नबस्ने तर अघोषित रूपमा अरूसँग लिभिङ टुगेदर गर्ने। यसकारण पनि हत्याका वारदात भएका उदाहरण छन्। वैदेशिक रोजगारले सरकारलाई विदेशी मुद्रा प्रदान गर्छ र नेपालको आर्थिक व्यवस्थामा यो पनि एउटा आयको स्रोत बनेको छ। तर ७० प्रतिशत परिवार बर्बाद भएको छ। कति पुरुष विदेशमा बसी घरजम गर्ने र नेपाल नफर्कने प्रवृत्ति छ, कति महिला घरवार र सन्तान त्यागी पुरुषले कमाएको धन सिरीखुरी पारी बोकेर अरूसँग भागेका उदाहरण पनि छन्।

नयाँ मुलुकी ऐन संहिता लागू भएपछि एकाएक सम्बन्धविच्छेद मुद्दा संख्यामा व्यापक वृद्धि भएको छ। २०७४ साउनदेखि ०७५ असारसम्मको देशभरि कुल संख्या १४ हजार आठ सय ८२ थान थियो। अहिले २०७५ भदौदेखिको हालसम्म कुल देशभरि चलेको मुद्दाको संख्या ४५हजार आठ सय ५० थान पुगेको छ। यो बढ्ने दुई कारण छन्। पहिलो पुरुषले अधिक मुद्दा दायर गरेका छन् अर्को महिलाले पुरुषले अर्की श्रीमती ल्याएका वा वैवाहिक बलात्कार गरेमा त्यसकै आधारमा मुद्दा उठान गर्न पाउने भएर केही जिल्ला अदालतको आँकडा हेर्दा काठमाडौं जिल्ला अदालतमा दैनिक पाँचदेखि आठ थानसम्म मुद्दा दर्ता हुने गरेका छन्। अहिले त्यहाँ सम्बन्धविच्छेद मुद्दाको कुल संख्या २२ सय थान छ। पोखरामा ६ सय ४६ थान, चितवनमा सात सय सात थान, मकवानपुरमा दुई सय ९९ थान र गुल्मीमा एक सय ४७ थान छ। मोरङ जिल्ला अदालतमा २०७४/०७५ भित्रमा नै सात सय १८ थान मुद्दा फैसला भएको छ भने सोही अदालतमा २०७५ को फागुन र चैतमा मात्र दुई सय ८५ थान मुद्दा दर्ता भएकोमा एक सय ९१ थान महिलातर्फबाट र बाँकी पुरुषद्वारा महिलाविरुद्ध दर्ता भएका छन्।

अन्त्यमा

सम्बन्धविच्छेद चाहे पुरुषको हकमा होस् वा महिलाको हकमा सो गर्नु नराम्रो होइन। एक परिवारको छोरी र अर्को परिवारको छोराबीच सम्बन्ध रहँदा/बस्दा नराम्रो हुन सक्छ। त्यस्तै पतिपत्नीबीच लामो समयसम्म सँगै बस्दा तिक्तता आउन सक्छ। यस्ता विवाद बढाउँदै लगि जीवनलाई नर्क बनाउनु राम्रो होइन। भरसक मिलेर बस्नु राम्रो हो, पतिपत्नीबीच सानातिना विषयमा विवाद नगरी एकअर्काप्रति सुझबुझ र सल्लाह गरी समस्या समाधान गर्नु राम्रो हो। घरमा विवाद त आफैंलाई जन्माएका पिता माता र सँगै एउटै कोखमा जन्मेका भाइबहिनीसँग पनि हुन्छ, त्यो स्वाभाविक हो। तापनि मिल्दैन भने आफूसँग जे छ त्यो चिन्त बुझाइ बाँडफाँट गरी अघि बढ्नु राम्रो हुन्छ।

यदि त्यही विवादलाई लिएर दिनरात अड्डा अदालत धाउने हो भने त्यसैकारण मनमस्तिष्कमा नकारात्मक असर पर्न सक्छ वा रोजगारीमा बाधा आउन सक्छ। यसै विवादको कारण मानसिक विकृति पनि छाउन सक्छ। यसरी विवादमा अल्मलिनुको सट्टा व्यवहारमा साफोनाफो गरी छुट्टिने र सन्तान भए तिनको शिक्षादीक्षा र विकासमा सहयोग पुर्‍याउनु राम्रो हो। हामीले यही संस्कृतिको विकास गरेमा वा सद्भाव र भलो चिन्तन राखेमा आपराधिक गतिविधिमा नपरी जीवन स्वच्छ हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.