नेकपा मोरङमा पोख्रेल र उप्रेती सिफारिस
विराटनगर : सत्तारुढ नेकपा मोरङको जिल्ला अध्यक्षमा ऋषिकेश पोख्रेल र सचिवमा गणेश उप्रेती ‘सुशील’ को नाम सिफारिस गरिएको छ।
पोख्रेल तत्कालीन एमाले र उप्रेती तत्कालीन एकीकृत माओवादीका नेता हुन्। विराटनगरमा बिहीबार आयोजित शपथ ग्रहण तथा जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले पोख्रेल र उप्रेतीको नाम सिफारिस गर्दै अनुमोदनका लागि केन्द्रमा पठाएको नेकपा जिल्ला सदस्य धर्मलाल माझीले जानकारी दिए। त्यस क्रममा १ सय ८५ सदस्यीय जिल्ला कमिटीको शपथ ग्रहण पनि गराइएको थियो।
यसअघि केन्द्रले जिल्ला अध्यक्षमा विनोद ढकाल र सचिवमा गोपीबहादुर अछामीलाई जिम्मेवारी तोकेको थियो। ढकालकै अध्यक्षतामा बिहीबार बसेको पहिलो बैठकले अध्यक्षमा पोख्रेल र सचिवमा उप्रेतीको नाम सिफारिस गरेर अनुमोदनका लागि केन्द्रमा पठाएको हो।
पोख्रेल तत्कालीन एमालेका जिल्ला सचिव एवं संविधासभा सदस्य हुन्। उप्रेती तत्कालीन एकीकृत माओवादीका जिल्ला सह–इन्चार्ज थिए। तत्कालीन एमाओवादी र एमालेबीचको एकीकरण पश्चात जिल्लामा पहिलो पटक बैठक बसेको हो। कार्यक्रममा नेकपाका प्रदेश १ का इन्चार्ज भीम आचार्य, सह-इन्चार्ज सावित्रीकुमार काफ्ले, प्रदेश अध्यक्ष देवराज घिमिरे, प्रदेश सचिव सुरेशकुमार राईलगायत उपस्थित थिए।