कांग्रेस शीर्ष नेताकै उजुरी धेरै

कांग्रेस शीर्ष नेताकै उजुरी धेरै

काठमाडौं : कांग्रेसको अनुशासन समितिमा सबैभन्दा बढी र पेचिला उजुरी पार्टीका शीर्ष नेता र उनीहरूको क्षेत्रबाट परेपछि समितिलाई अप्ठ्यारो परेको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारीकै जिल्लाबाट आएका उजुरी पेचिला देखिएको समितिका एक सदस्यले बताएका छन्। 

सभापति देउवाको डडेलधुराबाट जिल्ला सभापति कर्ण मल्लमाथि नै निर्वाचनमा देउवालाई नसघाएको भन्दै कारबाही माग गरिएको उजुरी परेको छ। देउवापत्नी आरजु राणा निर्वाचन लडेको कैलालीबाट पनि त्यस्तै उजुरी समितिमा आएका छन्। वरिष्ठ नेता पौडेललाई निर्वाचनमा सहयोग नगरेको भन्दै तनहुँबाट ६० जनालाई कारबाहीको सिफारिस समितिमा आइपुगेको नेताहरूले बताएका छन्। यसका साथै कोषाध्यक्ष सीतादेवी यादवको गृहजिल्ला सिरहाबाट धेरै उजुरी परेको समितिले जनाएको छ। समितिका अनुसार अर्जुनरसिंह केसी, डा.रामशरण महतसहित सहमहामन्त्री डा.प्रकाशशरण महतको गृहजिल्ला नुवाकोटबाट पनि धेरै उजुरी आएका छन्। 

चैत पहिलो साता कांग्रेस केन्द्रीय समितिले भीष्मराज आङदेम्बेको नेतृत्वमा अनुशासन समिति गठन गरेको थियो। समितिले काम थालेको छ। चैत मसान्तभित्र ७७ जिल्लालाई उजुरी पठाउन निर्देशन गरेको थियो। निर्वाचनलगत्तै रमेश रिजाल नेतृत्वको तत्कालीन समितिले ६ सयजति उजुरी संकलन गरेको थियो। तत्कालीन समितिले पहिलो चरणमा ३ सयजतिलाई स्पष्टीकरणसमेत सोधेको थियो। तर, शीर्ष नेताहरूको दबाब बढेपछि एक वर्षअघि रिजालले राजीनामा दिएका थिए। 

यतिबेला उजुरी अध्ययन भइरहेको समितिले जनाएको छ। समिति संयोजक आङदेम्बेले जागरण अभियानको पहिलो चरण सकिएलगत्तै समितिको बैठक गर्ने तयारी भइरहेको बताए। ‘आएका उजुरी र पहिले सोधिएका केही स्पष्टीकरणसमेत हामीसँग छ’, उनले भने, ‘यसबारे हामी समितिका सबै सदस्यले अध्ययन गरिरहेका छौं। ’

१२ सयजति उजुरी संकलन भएको समिति सदस्य उमाकान्त चौधरीले बताए। समितिका सदस्यले शीर्ष नेताहरूका जिल्लाबाट आएका उजुरीबारे बोल्न मानेनन्। चौधरीले निर्वाचनलगायत पार्टीको अन्य सन्दर्भमा अनुशासनसम्बन्धी उजुरी डडेलधुरा, कैलाली, तनहँु, नुवाकोट, सिरहालगायत जिल्लाबाट धेरै संख्यामा आएको स्विकारे। त्यसैगरी मोरङ, सुनसरीलगायत जिल्लाबाट समेत उजुरी आएको उनले बताए। मोरङबाट डा.शेखर कोइराला, मीनेन्द्र रिजाललगायत चुनावमा उम्मेदवार थिए। सुनसरी उपसभापति विजय गच्छदारको गृहजिल्ला हो। 

अर्का उपसभापति विमलेन्द्र निधिको गृहजिल्ला धनुषा र उनको निर्वाचन क्षेत्रबाट समेत समितिमा उजुरी परेका छन्। समिति संयोजक आङदेम्बेले उजुरीको विस्तृत अध्ययनपछि मात्र कारबाहीको सिफारिस गर्ने बताए। ‘हामी नेताको जिल्ला भनेर हेर्दैनौं’, उनले भने, ‘आएका उजुरी सही ठहरिए कारबाहीको सिफारिस हुनेछ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.