आँटिली शैली दिदी

आँटिली शैली दिदी

सगरमाथाको सफल आरोहण गर्ने प्रथम महिला को हुन् ? हाजिरीजबाफ प्रतियोगितामा सोधिने धेरै प्रश्नमध्ये यो पनि एउटा हो। त्यसैले धेरै भाइबहिनीलाई यसको उत्तर थाहा हुनुपर्छ। यसको सही उत्तर हो पासाङल्हामु शेर्पा। अहिलेसम्म कुल चार सयभन्दा बढी महिलाले सगरमाथाको सफल आरोहण गरेकोमा ३९ जना नेपाली महिला छन्।

सगरमाथाको सफल आरोहण गर्ने तीनै महिलामध्ये एक हुन्, शैली बस्नेत। उनले ‘प्रथम समावेशी महिला सगरमाथा आरोहण’ टोलीअन्तर्गत २०६५ साल जेठ ११ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन्। उनी सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला पत्रकार पनि हुन्। उनले २५ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेकी थिइन्। शैलीले अहिलेसम्म विश्वको सर्वोच्च शिखर सगरमाथासहित् पाँच वटा उच्च हिमालहरूको सफल आरोहण गरिसकेकी छिन् भने दक्षिण अमेरिकाको अकान्कागुवा हिमालको ६ हजार पाँच सय मिटरसम्म पुगिसकेकी छिन्। उनले सात महादेशका सात उच्च हिमाल आरोहण गर्ने विश्वकै पहिलो महिला टोलीको नेतृत्व पनि गरेकी छिन्।

उनले सन् २००५ मा काठमाडौं कलेज अफ् म्यानेजमेन्टबाट बीबीआईएस (ब्याचलर अफ बिजिनेस इन्फर्मेसन सिस्टम्स) उत्तीर्ण गरेकी हुन्। त्यसपछि पत्रकारिता सुरु गरेकी शैली थप अध्ययनका लागि भारत गइन्। त्यहाँबाट उनले ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन जर्नालिज्म’ उत्तीर्ण गरिन्।

पत्रकारिता गर्दागर्दै उनी हिमाल आरोहणमा आकर्षित भइन्। सगरमाथा आरोहण गर्नुअघि उनीसँग हिमाल आरोहणको कुनै अनुभव थिएन। पत्रकारिता गरिरहेको मान्छे, कसरी हिमाल आरोहणमा मोडिइन् त ? जवाफ फर्काउँदै उनले भनिन्, ‘अरू महिलाले हिमाल आरोहण गरेको सुनेर मलाई पनि मन लाग्यो। मन लागेपछि त्यसैमा लागिरहेँ। लागिरहेपछि गर्न सकिने रहेछ।’

‘कत्तिको गाह्रो भयो त ? ’ उनले हाँस्दै भनिन्, ‘गाह्रो त एकदमै गाह्रो छ। संसारकै सर्वोच्च शिखर आरोहण गर्नु चानचुने कुरै होइन। पहाडको बाटो हिँड्दा पनि कत्ति अप्ठ्याराहरू आउँछन्। हिमाल चढ्दा त झन् त्यस्ता अप्ठ्याराहरू कत्ति हुन् कत्ति। ज्यानै जाने खतरा पनि धेरैचोटि मोल्नुपर्छ। तर आँट भए गाह्रो हुन्न। आँट गरेपछि गाह्रो पनि सजिलै लाग्छ।’ फेरि हाँस्दै भनिन्, ‘मेरो सानो ज्यान र होचो कद देखेर मानिसले विश्वास पनि गरेका थिएनन् मैले सगरमाथा चढ्छु भनेर। तर मेरो आँटले मलाई साथ दियो। त्यसैले म सफल भएँ।’

सगरमाथा चढ्नुअघि शैली बस्नेतले नेपाल पवर्तारोहण संघबाट लाङटाङ हिमाली भेकमा दिइने पर्वतारोहण तालिम लिइन्। यसमा आइस क्लाइम्बिङदेखि रेस्क्युसम्म सिकाइन्छ। त्यसपछि काठमाडौंमा स्वयम्भूको सानो भ¥याङमा दैनिक दुईतीन घण्टा १५–२० किलोको भारी बोकेर तलमाथि गर्ने र दैनिक बेलुका दुई घण्टा जिम गर्ने गरिन्। पटकपटक नागार्जुन, चम्पादेवी, शिवपुरीलगायतका डाँडामा भारी बोकेर हिँडिन्। यी सबै गरेपछि उनलाई सगरमाथा चढ्न सक्छु भन्ने आँट आयो। अनि ‘प्रथम समावेशी महिला सगरमाथा आरोहण’ टोलीमा उनी सगरमाथा चढ्न गइन्।

शैलीले अहिलेसम्म विश्वको सर्वोच्च शिखर सगरमाथासहित् पाँच वटा उच्च हिमालहरूको सफल आरोहण गरिसकेकी छिन् भने दक्षिण अमेरिकाको अकान्कागुवा हिमालको ६ हजार पाँच सय मिटरसम्म पुगिसकेकी छिन्।

सगरमाथाको शिखरमा पाइला टेक्दा मनमा कस्तो कुरा आयो भनेर सोध्दा उनले एकछिन् सोचेर भनिन्, ‘ओहो, शिखरमा पुग्दा म त संसारकै सबैभन्दा माथि छु भन्ने सम्झेँ। तल हेर्दा बाक्लो सेतो बादलैबादल, नीला हिमालहरू टलक्कटलक्क बादलमाथि झुल्केका, पृथ्वीको गोलाद्र्धसमेत देखिने, त्यो पनि तल। अचम्मै लाग्यो। मलाई त खुसीले नाचुँनाचुँ लाग्यो। अनि खुसी भएर मेरो सँगैको साथी आशासँग सगरमाथाको टुप्पोमै नाचेँ पनि।’

हिमाल चढ्नका लागि चाहिने मुख्य कुरा के हो ? हिम्मत कि शारीरिक तन्दुरुस्ती ? उनले यस्तो उत्तर दिइन्, ‘दुवै। हिम्मत छ, तर शरीर स्वस्थ छैन भने त्यहाँ मर्न गए सरह हुन्छ। त्यस्तै तन्दुरुस्ती छ तर हिम्मत छैन भने त्यस्तो शरीरले सफलता दिलाउँदैन।’

बालबालिकामा उत्प्रेरणा जगाउन उनी यसो भन्छिन्, ‘म सानो छँदा केटी मान्छेले कुनै खेलकुद खेल्ने वातावरण र अवसर थिएन। मैले फुटबल, ब्याडमिन्टन, दौड केही खेलिनँ। तर आजको विज्ञानले दिमाग विकासकै लागि पनि शरीर सक्रिय हुनुपर्छ भन्छ। त्यसैले खेलकुदमा समय अनिवार्य दिनुपर्छ। प्रकृतिमा समय बिताउनुपर्छ। हाइकिङ जानुपर्छ। खेलकुद र प्रकृतिमा साय दिँदा पढाइ, स्वास्थ्य र पछिको जीवनकै लागि पनि असाध्यै राम्रो हुने रहेछ। ट्याब्लेट र इन्टरनेट हेरेर धेरै समय बिताउनु हुँदैन। असली जादु त बाहिर प्रकृतिमा र भित्र तिम्रो शरीरमा छ।’

शैली बस्नेतको कद पनि सानो छ। तर उनको आँट र साहसको उचाइ सगरमाथा जत्तिकै छ। त्यसैले उनी सगरमाथाको शिखरमा पुग्न सफल भइन्।

हिमाल आरोहण मात्रै होइन, अरू क्षेत्रमा पनि उनले आफूलाई सफल सावित गर्दै गइन्। अमेरिकाकै ठूलो कमेडी क्लब गोथम कमेडी क्लबमा ‘स्ट्यान्ड अप कमेडी’ प्रस्तुत गरेर उनले आफूलाई सफल कमेडियनको रूपमा संसारभर चिनाएकी छिन्। यसैगरी मोटिभेसनल स्पिकरको रूपमा पनि उनले आफूलाई चिनाउँदै आएकी छिन्। पछिल्लो समय उनी गाउँका विद्यालयका गरिब विद्यार्थीलाई सहयोग गर्न खटिरहेकी छिन्।

व्यवस्थापन पढेर पत्रकारितामा लाग्ने। पत्रकारिता गर्दागर्दै हिमाल आरोहण गर्ने। हिमाल आरोहण गर्दागर्दै अमेरिकाको न्युयोर्कमा ‘स्ट्यान्ड अप केमडी’ मा आफ्नो जोडदार प्रस्तुति दिने। अनि समाजसेवाको काममा समेत उत्तिकै खट्ने शैली बस्नेत धेरैका लागि ‘रोलमोडल’ बनेकी छिन्। हामीले पनि उनको जीवनबाट धेरै प्रेरणा लिन सक्छौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.