सिमराको होटल इच्छामा निर्घात कुटिए ग्राहक

सिमराको होटल इच्छामा निर्घात कुटिए ग्राहक

सिमरा : बाराको सिमरामा रहेको होटल इच्छामा शुक्रवार राती तीन युवालाई होटलका बाउन्सर र कर्मचारीले मरणासन्न हुने गरी कुटपिट गरेका छन्। होटलका कर्मचारीको ज्यादतीले स्थानीय आक्रोशित बनेका छन्।

झगडाकै कारण पटकपटक विवादित बन्दै आएको होटलमा शुक्रबार राती होटलका कर्मचारीले सिमराका तीन स्थानीयलाई निर्घात कुटपिट गरेका हुन्। कुटपिटबाट सिमराका बिजय पाठक, धनबहादुर तामाङ र राम पुडासैनी घाइते भएका छन्।  

कुटपिटबाट घाइते भएका पाठकको टाउको, खुट्टा, छातीमा चोट लागेको छ भने शरीरभरी निलडाम बनेको छ। उनको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनलाई राती नै काठमाडौं लगिएको दाई कृष्ण पाठकले जानकारी दिए। अर्का घाइते तामाङको खुट्टामा र पुडासैनीको टाउकोमा चोट लागेको छ। आफूमाथी कुटपिट हुन थालेपछि पुडासैनीले भागेर ज्यान जोगाएका थिए। पाठक र तामाङलाई भने होटलका कर्मचारीले निर्घात कुटपिट गरी प्रहरीको जिम्मा लगाएको थियो। 

होटलमा राती पुगेका युवाले अपशब्द बोलेको भन्दै होटलका बाउन्सर रमेश पुनसहित कर्मचारीले नियन्त्रणमा लिइ कुटपिट गरेको पीडित परिवारको भनाइ छ। घाइतेका दाइ कृष्ण पाठकले अपशब्द बोलेको आरोपमा होटलका कर्मचारीले आफ्नो भाइ र उनको साथीलाई कुटपिट गरेको बताए। ग्राहकलाई मरणासन्न हुने गरी कुटपिट गर्न कुनै होटललाई छुट नरहेको पाठकको भनाइ छ।

घाइते घाइते तामाङ र पुडासैनीको अल्पाइन अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले पाठकलाई थप उपचारका लागि रिफर गरे पनि प्रहरीले नियन्त्रणमा लिन खोजेपछि अस्पताल परिसर केहीबेर तनावग्रस्त समेत बनेको थियो। रिफर गरिएको घाइतेलाई प्रहरीले पक्राउ गर्न खोजेपछि स्थानीय युवाले रोकेका थिए। 

घाइतेलाई पक्राउ गर्न २० जनाभन्दा बढी प्रहरी अस्पताल पुगेका थिए। स्थानीय युवा र जनप्रतिनिधिको विरोधपछि प्रहरी अस्पतालबाट फर्किएको थियो। 

घटनालगत्तै स्थानीय युवाले कुटपिट गर्ने होटलका कर्मचारीलाई पक्राउ गर्न माग गरेका थिए। तर प्रहरीले घाइतेलाई नै पक्राउ गर्न खोजेपछि होटललाई प्रहरीप्रशासनले संरक्षण गरिरहेको आरोप स्थानियले लगाएका छन्। 'कुटपिट गर्ने मान्छेलाई पक्राउ गर्न छोडेर प्रहरीले घाइतेलाई अस्पतालको शैयाबाटै उठाउन खोजिरहेको छ’ स्थानीय विक्रम थापामगरले भने, 'प्रहरीले होटलको संरक्षण गर्न खोजेको देखियो, यो सरासर गलत हो।’

घटनापछि कुटपिट गर्नेलाई पक्राउ गर्न प्रहरीले चासो नदेखाएको भन्दै पीडित परिवारले सिमरास्थित ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। पीडित परिवार र स्थानीयले होटलमा ग्राहक कुट्ने बाउन्सर र कर्मचारीलाई तत्काल नियन्त्रणमा लिन जाहेरीमार्फत माग गरेका छन्। ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले होटलमा पुगेर अपशब्द बोलेपछि सामान्य झगडा भएको भन्ने आफूले सुनेको र यस विषयमा बुझिरहेको बताएका छन्। 

स्थानीय युवासँगै प्रहरी कार्यालय पुगेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष तीलक श्रेष्ठले स्थानीय युवामाथि होटलले ज्यादती गरेको बताए। ग्राहकले अपशब्द वा अभद्र व्यवहार गरे पनि सम्झाएर प्रहरी जिम्मा लगाउने वा घर फर्काउनुपर्नेमा निर्धात कुटपिट गर्नु ठिक नभएको भन्दै वडाअध्यक्ष श्रेष्ठले पीडकलाई कारवाही गर्न माग गरेका छन्। 

प्रहरी कार्यालय पुगेका होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले ग्राहकलाई निर्घात कुटपिट गर्ने अधिकार होटललाई नरहेको बताए। यस क्षेत्रकै प्रतिष्ठित होटलको रुपमा रहेको होटल इच्छामा ग्राहक कुटिएको घटनाले समग्र व्यवसाय र सिमराकै बद्‍नाम हुने व्यवसायीको भनाइ छ। घटनाको यतिबेला चौतर्फी विरोध भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.