पानीको हाहाकार
प्रदेश ब्यूरो। अन्नपूर्ण : नदी दोहन र सडक निर्माणका कारण मुलुकका विभिन्न ठाउँमा पानीका मुहान सुकेका छन्। यस्तै खडेरी र वनविनाश बढेसँगै प्राकृतिक ताल र मुहानबाट पानी आउन छाडेको छ। यसले गर्दा तराई क्षेत्रका किसान बढी मर्कामा परेका छन् भने पहाडी क्षेत्रमा खानीपानी लिनकै लागि घन्टौं हिँड्नुपरिरहेको छ।
भोजपुर मानेभन्ज्याङ भोर्लेनीका ६४ वर्षीय केशर पराजुली परिवारसहित सुनसरी बसाइँ सरे। गाउँमा पानीका मुहान सुकेपछि उनी तराई झरेका हुन्। उनी मात्रै होइनन् गाउँका करिब ६१ घरपरिवारले बसाइँ सारिसके। मानेभन्ञ्ज्याङमा बर्सेनि खानेपानीको हाहाकार हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारी पनि मानेभन्ज्याङमै जन्मिएकी हुन्। उनकै गाउँमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ। यहाँका अर्चले, भोर्लेनी, आमबोटे, गडा, अगौटे, रानागाउँ, गुराँसेलगायत गाउँमा पानीको समस्या छ। यहाँका मानिसको दैनिकी पानी जोहो गर्नमै बित्छ। साउनेपानी, भन्ज्याङ र जुकेपानी लगायत ३ वटा मुहानमा बिहानबेलुकी पालो कुरेर पानी जोहो गर्ने महिलाको घुइँचो लाग्छ।एक गाग्रो पानी थाप्न बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म धारामा लाइन लाग्नुपर्ने बाध्यता रहेको साउनेपानीकी ६६ वर्षीया लीलामाया निरौलाको दुःखेसो छ।
बुटवल रामनगर क्षेत्रमा खानेपानीका लागि डिप ट्युबवेल राख्न सात स्थानमा प्रयास गरियो। एसियाली विकास बैंकको परियोजनाका लागि गरिएको प्रयास दुई ठाउँमा मात्रै सफल भयो। अन्य स्थानबाट पानी निस्किएन।
बुटवलकै सुख्खानगर र दीपनगर क्षेत्रमा खानेपानी संस्थानले डिप ट्युबवेल राख्नकै लागि अध्ययन गरिरहेको छ। तर सुख्खानगर क्षेत्रमा प्रतिसेकेन्ड १२ लिटर पानी आउने स्रोत भेटिएन। यी दुई घटनाले यस क्षेत्रमा पानीको सतह गहिरिँदै गएको देखिन्छ। तराई क्षेत्रमा चार वर्षयता ट्युबवेल सुक्दै गएका छन्।
रुपन्देहीको हर्नैयामा चार वर्षअघिसम्म पम्प नै नगरी पानी निस्किन्थ्यो। तर अहिले सबै सुकेका छन्। ‘डिप बोरिङबाट पानी निकाल्न समस्या भएको छ ’, खानेपानी संस्थान बुटवलका प्रमुख बुद्धरत्न महर्जनले भने। संस्थानले बुटवलमा पानी आपूर्तिका लागि डिप ट्युबवेल राख्न अध्ययन गरिरहेको छ। जनता मावि क्षेत्रबाहेक अन्यत्र राम्रो स्रोत नभेटिएको उनले बताए।
सिँचाइ डिभिजन कार्यालय भैरहवाका प्रमुख टंक केसीका अनुसार आकाशे पानी रिचार्ज नहँुदा जमिनबाट आउने पानीका पम्प प्रयोगविहीन छन्। ‘पूर्वाधार निर्माणले रिचार्ज हुने क्षेत्र घटायो’, उनले भने, ‘पर्याप्त वर्षा भएको छैन। त्यसैले नकारात्मक असर परेको छ।’
बाँके, बर्दिया, गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पाका सहरी क्षेत्रमा पानीको हाहाकार छ। १ जेठमा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरका एक सय चार जनाले खानेपानी उद्योगका कारण ह्यान्डपम्प सुकेको उजुरी दिए। उनीहरूको माग थियो, ‘वैशाखदेखि साउनसम्म पानी उद्योग सञ्चालन गर्न दिनु भएन’, वडाध्यक्ष मोहम्मद सफिक बेहनाले भने।
पाल्पाको तानसेन ढुंगेधाराकै भरमा चलेको थियो। तर अहिले ती कुनै धाराबाट पानी आउँदैन। ३० वर्षअघिसम्म तानसेन वसन्तपुरका प्रेमबहादुर मल्लले घर नजिकै रहेको निसानधारामा दिनहुँ नुहाउँथे। निसानधारामा कहिल्यै पानी सुक्दैनथ्यो तर अचेल वर्षायाममा ३ महिनामात्रै पानी आउँछ। पानीको मुहान वरिपरि रहेका अधिकांश रूख मासिएका छन्। ढंगेधारा वरिपरि सिमेन्ट र क्रंक्रिटका ठूलाठूला महल ठडिएका छन्।
चुनढुंगा उत्खननका कारण खानेपानीका मुहान सुकेपछि अर्घाखाँचीको नरपानीमा चुनढुंगा उत्खनन बन्द भयो। चुनढुंगा उत्खनन गर्न सुरु गरेको ६ वर्षमा पानीका मुहान सुकेपछि गाउ“ले आन्दोलनमा उत्रिएका थिए।
प्युठान नगरपालिका–५ जुम्रिकाँडाकी ६० वर्षीया इन्द्रा रोकालाई गर्मी मौसम सुरु भएपछि पानीको चिन्ताले पिरोल्छ। गाउँभरकै एउटै धारा छ। सुक्खायाममा पानी आउँदैन। गाउँमा आउने लिस्ने लेकको फेदीस्थित छराखोलाको मुहान सुकेको महिनांै बितिसक्यो। मुहानमै पानी नभएपछि धारा सुकेको रोकाको भनाइ छ। छिमेकी रोल्पाको सिमानामा पर्ने पातलकटेरीसहित देउरालीका गरी ७० बढी घरधुरी खानेपानी अभावमा छटपटाइरहेका छन्। भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन विकास कार्यालय बुटवलका इन्जिनियर इच्छाकुमार श्रेष्ठ माथिल्लो सतह प्रभावित भए पनि पानीको तल्लो सतह नघटेको बताउँछन्। ‘पानी ढिलो पर्दा माथिल्लो सतहका पम्पमा समस्या हो। तल्लो सतहमा कुनै समस्या छैन’, उनले भने।
धनगढी उत्तरबेहडीका प्रदीप थापाले सात वर्षअघि हालेको ह्यान्डपम्प सुकेको छ। एक कट्ठा जग्गामा सिँचाइ गर्न र खानेपानीका लागि पर्याप्त हुँदै आएको पम्प सुकेपछि उनले दुईवटा मोटर लगाएर पानीको जोहो गरेका छन्। हर्कबहादुर विष्टको पनि पम्प सुकेको छ।
नदी दोहन, वनविनाश, जथाभाबी सडक निर्माणले पानीका मुहान सुकेपछि अधिकांश जिल्लामा खानेपानीको संकट उत्पन्न भएको छ।
शिवनगरका लीलाधर भट्टले ११ वर्षअघि हालेको ह्यान्ड पम्म अहिले फेरेका छन्। तराईमा पानीको तीनवटा सतह हुन्छ। २५ देखि ४० फिट पहिलो, १५० देखि १७५ फिट दोस्रो र तेस्रो सतह तीन सय फिट भन्दा तल भेटिन्छ। ठूलाठूला खानेपानी योजनाको डिप बोरिङ तीन सय फिटसम्म गरिन्छ। ‘२५ फिट खन्दा नै पानी आउँथ्यो, अहिले ५० फिट खन्दा पनि आउनै छाड्यो’, जाइका रवीन्द्र चौधरीले भने, ‘स्रोत सुक्दै जान थालेपछि समस्या भयो।’
कैलाली तराईको सबैभन्दा बढी पानीको स्रोत भएको जिल्ला हो। यहाँ ८० जति ठूला प्राकृतिक ताल छन्। ‘कुनै पनि संरक्षण हुन सकेको छैन। कतिपय बाढीका कारण पुरिएका छन्। धेरै पानीको मूल फुट्न छाडेपछि सुके’, संरक्षणकर्मी भोजराज ढुंगानाले भने। केही तालमा माछापालनको ठेक्का दिन थालेपछि असर परेको छ। ‘तराईमा सहरीकरण बढिरहेको छ। कंक्रिटीकरणले पानी रिचार्ज हुन सकेको छैन। घर बनाउँदा धेरै मानिस पानी रिचार्ज हुने ठाउँ छोड्दैनन्’, खानेपानी डिभिजन कार्यालय कैलालीका डिभिजन प्रमुख मोहन कँुवरले भने।
पहाडी जिल्लाका पानीका मुहान सुकेका छन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेलीको सुनकोटबासी खानेपानीको मारमा छन्। दुई सय दलित परिवार रहेको सुनकोट गाउँमा असुर्पा भन्ने मुहानबाट ट्यांकीमा पानी भरिन्छ। दिनभर ट्यांकीमा भरिएको पानी दिउँसो एकपटक मात्र दिने गरिएको छ। ‘हामीलाई दिनको ५० लिटरको एक जर्किन मात्र पानी दिइन्छ’, हरुदेवी भुलले भनिन्। उनले दैनिक तीनदेखि चार सय लिटर पानी चाहिने ठाउँमा ५० लिटरले खान पनि मुस्किलले पुग्ने गरेको बताइन्।
बैतडी सेराका महिलाले पानीको रिचार्ज पोखरी बनाएका छन्। ‘तीनचार वर्ष भयो, सुक्खायाममा खोला सुक्छ। कहिले नसुक्ने खोला सुकेपछि हामी पनि अचम्भित छौं’, स्थानीय नन्दराम अवस्थीले भने, ‘रोपाइँ गर्न र पिउने पानीको ठूलो अभाव हुन थालेको छ।’ यहाँका किसानले ५ वर्षयता पानीकै अभावले रोपाइँ गर्न छाडेको स्थानीय दुर्गादत्त अवस्थीले बताए।
पहाडमा जथाभाबी सडक निर्माण भन्दै डोजेर चल्न थालेपछि मुहान सुक्न थालेको बैतडीका सहायक डिभिजन वन अधिकृत रामप्रसाद चौधरी बताउँछन्। दार्चुलाका शैल्यशिखर नगरपालिका, लेकम र मालिकार्जुन गाउँपालिकाका बस्तीमा फागुन लागेदेखि खानेपानी अभाव छ। ‘बस्तीमा दुई वटा खानेपानी योजना छन्। तर धारामा पानी आउँदैन’, चन्द्रदेव जोशीले भने, ‘यस्तै अवस्था रहे पानी नपाएर तड्पिनुपर्ने अवस्था आउन सक्छ।’
मोरङका प्रायः सबै घरमा कल गाडिएको छ। तर ती कलमा पानी आउँदैन। भूमिगत पानीको सतह घट्न थालेपछि इनार सुकेका छन्। ‘एक दशकअघि एक सय ५० फिट गहिराइमा जडान गरिएका कलमा सहजै पानी आउँथ्यो। अहिले चार सय फिट गहिरो खने पनि पानी आउँदैन’, हरिचरण घिमिरेले भने, ‘विगतमा असार मध्यतिर मात्र इनार र कल सुक्ने समस्या थियो। यस वर्ष वैशाखमै पानी सुक्न थाल्यो।’
सहरबजारमा खानेपानी संस्थानले पानी वितरण गरे पनि गाउँबस्तीमा पानीको हाहाकार छ। ‘चुरे जंगलको फडानी, ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननले समस्या निम्त्याएको छ’, खानेपानीका क्षेत्रमा कार्यरत विनोद शर्माले भने।
ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका ५ र ९ का बासिन्दाको समस्या पनि उस्तै छ। यहाँका मुहानमा पानी आउँदैन। एक गाग्री पानी पाँच घन्टा लगाएर बोक्नुपर्छ। आठवटा स्थानीय तहमध्ये मानेभन्ज्याङ गाउँपालिकामा पानीको ठूलो समस्या छ। अन्य क्षेत्रमा समेत सहजै पानी उपलब्ध छैन। बालेथाम गाउँमा खानेपानी योजना उद्घाटन गर्न पुगेका प्रमुख अतिथिसहितका पाहुनालाई रित्तो कलश उपहार दिएर स्वागत गरियो। ‘मुहानबिनाको खानेपानी योजना उद्घाटनमा रित्तो कलश उपहार पाइयो, यो व्यंग्यको प्रतीक रहेछ’, गाउँपालिका अध्यक्ष मोतीराज राईले भने।
(लक्ष्मण पोखरेल/बुटवल, शंकरप्रसाद खनाल/बाँके, केशर रोका/प्युठान, कृष्ण पोखरेल/पाल्पा, प्रेमनारायण आचार्य/अर्घाखाँची, शिवराज भट्ट र कैलाश जोशी/धनगढी, परमानन्द पाण्डेय/टीकापुर, बन्दना बम/डडेल्धुरा, भगीरथ अवस्थी/बैतडी, सुन्दरसिंह धामी/दार्चुला, रविन भट्टराई/विराटनगर, प्रदीपचन्द्र राई/भोजपुर, शिवप्रसाद ढुंगाना/ओखलढुंगा को सहयोगमा)