‘आलोपालो नेतृत्व पार्टीले टुंगो लगाउँछ’

‘आलोपालो नेतृत्व पार्टीले टुंगो लगाउँछ’

लन्डन : प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन्। ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा ठिक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सरकारको कार्यशैलीबारे छलफल भए पनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए। नेकपाका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताइएको छ। दाहालले यस विषयलाई प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला टेलिभिजन अन्तरवार्तामा सार्वजनिक गरेका थिए। यद्यपि सहमतिपत्र पहिले नै बाहिर आइसकेको थियो।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताए।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थीको युनियन अक्सफोर्ड युनियनको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणदेखि समसामयिक राजनीतिक विषयमा चर्चा गरेका थिए।

भारत र चीनजस्ता दुई ठूला छिमेकीसँगको सम्बन्धमा नेपाल कस्तो नीतिसहित अघि बढ्दैछ भन्ने सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफ्नो हितलाई ध्यानमा राखेर सन्तुलित सम्बन्धमा अघि बढ्ने बताएका थिए। अब नेपालको विदेश नीति बलियो र परिपक्व रहने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेश नीति सञ्चालनमा आफूले ध्यान दिएको बताए। उनले नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र बेलायत भ्रमण द्विपक्षीय हितका दृष्टिले उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेका थिए। उनले भने, ‘पछिल्लो समय सरकारले कूटनीतिक मान्यता र चासोमा मात्र होइन, मुलुकको प्राथमिकतालाई छुट्याएर काम गरिरहेको छ।’ प्रधानमन्त्री लन्डनको हेथ्रो विमानस्थल ओर्लनेबित्तिकै त्यहाँबाट हेलिकप्टरमा अक्सफोर्ड पुगेका थिए। उनी बेलायती प्रधानमन्त्री टेरिजा मेको निमन्त्रणामा लन्डन आएका हुन्।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, अनुसन्धाता र बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहितका करिब ४ सय सहभागीमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजना सुनाएका हुन्।

विश्वका सर्वोच्च नेता तथा प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिँदै आएको यो मञ्च पाउने सम्भवतः ओली नै पहिलो नेपाली नेता रहेको अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा. कृष्ण अधिकारी बताए। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि अक्सफोर्डमा सम्बोधन गरेका थिए। तर उक्त कार्यक्रम अक्सफोर्ड युनियनले नभएर त्यहाँका नेपाली विद्यार्थीले आयोजना गरेका थिए।

अब फ्रान्स

स्विजरल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीको टोली बेलायत आएको थियो। मन्त्री, सल्लाहकार समूह, परराष्ट्र अधिकारीसहित आएका प्रधानमन्त्रीलाई बेलायतका आर्मड् फोर्सेस राज्यमन्त्री मार्क लांकास्टरले विमानस्थलमा स्वागत गरेका थिए। पछिल्लो १७ वर्षमा नेपालका बहालवाला प्रधानमन्त्रीबाट बेलायत भ्रमण भएको यो पहिलो अवसर हो।

बेलायती महारानी एलिजाबेथले दुईपटक र राजपरिवारका केही सदस्यले नेपाल भ्रमण गरेका छन्। कुनै पनि बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गरेका छैनन्। प्रधानमन्त्री ओली बुधबार नेपाली गोर्खाबारे थप अन्तरक्रिया गरेपछि रेलमार्ग हुँदै फ्रान्स जाने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.