गाउँमा भेटिदैनन् युवा

गाउँमा भेटिदैनन् युवा

धनगढी :

बोल्ने कोही छैन, गाउँमा बोल्ने कोही छैन।

पाहुना आउँदा घरको ढोका, खोल्ने कोही छैन।

जोत्ने कोही छैन, बारी जोत्ने कोही छैन।

चुलोचौको मझैरी लौ, पोत्ने कोही छैन।

टाल्ने कोही छैन, छानो टाल्ने कोही छैन।

तुलसीको मठमा पानी, हाल्ने कोही छैन।

वरिष्ठ गायक शिशिर योगीको चर्चित गीतझैं सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँघर रित्ता छन्। बेरोजगारी र उच्च शिक्षाका लागि कलेज नहुँदा युवाले गाउँ छोडेपछि, घरको ढोका खोल्ने पनि कोही छैनन्, गाउँमा। घरका ढोका बन्द छन्। केही घर जीर्ण छन्। गाउँमा कोदो, फापर, जौ, मास र गहत फल्ने खेतमा घंगारु र तिरकुलाका झाडी उम्रेका छन्। बैतडीको दोगडा केदार गाउँपालिका ७ का दत्तराज भट्टको दुईतले घर खाली छ। भाइसहित उनी दिल्लीमा काम गर्छन्।

‘दुई दशकभन्दा बढी भइसक्यो, यहाँ काम गरिरहेका छौं, गाउँमा कुनै रोजगार छैन’, दत्तराजले भने। उनी पाँच वर्षअघि कञ्चनपुरको उल्टाखाममा बसाइँ सरेका हुन्। ‘बाआमा र बालबच्चा ल्याएर तराई झरियो, नुन तेलको जोहो गर्न भारत पसे’, दत्तराजका भाई दुर्गादत्तले भने। लिलाधर भट्टका दुई छोरा पनि घरमा छैनन्। ‘खेतमा फलेको अन्न तीन महिना मात्रै पुग्छ, नौ महिनाका लागि मजदुरी गर्नुको विकल्प छैन’ उनले भने। ‘त्यही भएर दुई छोराहरु पढाइ छोडेर मुग्लान हानिएका छन्।’

वडा नम्बर ७ का नउटे भट्टका छोरा महादेव भट्ट पनि भारत छन्। बाआमा, श्रीमती र बच्चाका लागि उनले भारतबाट महिनाको १० देखि १५ हजार रकम पठाउने गर्छन्। ‘छोराले रकम नपठाए महिनाभरी गाह«ो हुन्छ’ नउटेले भने।

त्यही गाउँका नरोत्तम भट्टका छोरा राजेन्द्र र प्रकाश पनि भारतमै छन्। बाआमा पहाडमा भए पनि दुवै भाइ कञ्चनपुरमा घर बनाएर बसेका छन्। दोगडा केदार गाउँपालिका ७ कै ९० वर्षीय तारादत्त भट्ट पनि पहाड देखेर निराश छन्। भन्छन, ‘ती दिनहरु याद आउँछन, जतिबेला एकैको घरमा दुधालु भैंसी, दुइ हल गोरु हुन्थें दर्जन बाख्रा नभएको त परिवार नै हुन्थेन। जुन गाउँमा गए पनि पानी, गुड र मोही दिने चलन थियो, अहिले कोही भेटिन्न।’

८२ वर्षका दामोदर भण्डारी पनि अहिलेको पहाड देखेर खिन्न छन्। भन्छन ‘गाउँमा कोही छैन, कुनै दिन थिए, गाउँभरीका मानिसहरु दर्जनौं पशु चौपाया लगेर वनमा गईन्थ्यो, वनपाखा गीतले गुन्जायमान हुन्थे। भैंसीलाई बाँध्ने घाँडाहरु टनटन बजेर बन गुन्जायमान हुन्थ्यो, त्यो पहाडको रौनक सकिसक्यो।’

६ वटा गाविस मिसाएर बनाएको दोगडा केदार गाउँपालिका मात्रै होईन, बैतडीका धेरै गाउँका मानिसहरु पलायन भएका छन। ‘गाउँमा बुढाबुढी र महिला तथा बालवालिका मात्रै छन्, युवाशक्ति बाहिर छ’ सुर्नया गाउँपालिकाका लबराज भण्डारीले भने।

‘गाउँमा मर्दा र जन्तीमा पनि युवाहरु देखिदैनन्, जन्तीमा कम मान्छे भए पनि चल्छ तर मलामीका लागि टाढा बोक्नुपर्ने भएकाले समस्या हुने गरेको छ’ भण्डारीले भने। ‘अर्को गाउँमा मानिस मरे तीन चार गाउँमा आवाज लगाइन्थ्यो, सयौं मानिसहरु मलामी हुन्थे, १३ दिनको पुण्य तिथिमा पिपल बोटमुनी बस्ने ठाउँ हुन्थेन तर अहिले किरियापुत्री लाई पिपल छुन लैजान गुहार्नुपर्छ।’

दशरथचन्द नगरपालिका २ का तर्कराज बोकटीको बैशाख २ गते विवाह भयो तर उनको जन्ती जान एक दर्जन युवा पनि पुगेनन्। ‘जन्ती जानका लागि ८७ वर्षसम्मका बृद्धहरुलाई अनुनय गरेर लगे, उनीहरुका लागि सानो जीप गरे, गाउँको कच्ची बाटोमै भए पनि सानो जीप मगाएर लगे’ जापानमा काम गरिरहेका तर्कराजले भने।

‘पहाडमा सरकारले कुनै सेवा सुविधा दिएन, पहाडमा रोजगारीका अवसरहरु जुटाएन, प्रदेश सरकारले पनि युवाहरुलाई गाउँमै रोक्न खालका कार्यक्रम ल्याउन सकेन’ दशरथ चन्द नगरपालिका वडा नम्बर २ का पदमराज बोकटीले भने।

सरकारले एक दशकअघि बैतडीको पाटनलाई नयाँ सहर बनाउने योजना अघि सारेको थियो। एक लाख मानिसहरुको बसोबास रहने गरी पहाडको बसाई सराई र पलायन रोक्ने सरकारको उद्देश्य थियो। ‘तर त्यो नयाँ शहर दशक देखि अलपत्र छ’, पाटन उद्योग वाणिज्य संघका उपाध्यक्ष शंकरदत्त भट्टले भने।

कलेज, रंगशाला, आवासीय क्षेत्र, विमानस्थल, कलखारखाना र उद्योगहरुको स्थापना, विषेशज्ञ सेवासहितको अस्पताल लगायतका संरचना निर्माण गर्ने परिकल्पना गरिएको थियो। ‘तर ती परिकल्पनाहरु सबै हराए, पाटनमा सडकसमेत बन्न सकेको छैन, करोडमा बजेट पनि आउदैन, अनी नयाँ र नमुना सहर कसरी बन्छ’ उपाध्यक्ष भट्टले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.