बझाङ जीप दुर्घटना : श्रीमती जोगाए तर बाबुसहित परिवार गुमाए
बझाङ : मष्टा गाउँपालिका १ का कलकबहादुर खड्काको घरमा छुट्टै तयारी थियो। जेठा छोरा सन्देशले तलकोटबाट दुलही ल्याएका थिए। मंगलबार हिन्दू परम्परा अनुसार छोराको विवाह गर्ने तयारी भइरहेको थियो।
सोमबार श्रीमती जुनधारा, नव दुलही र जेठो छोरा, छोरी संगीता र कान्छो छोरासमेत दिनभर सदरमुकाममा किनमेल गरे। श्रीमति, ४२ वर्षका कलक, ३८ वर्षीया जुनधारा, १७ वर्षीय छोरा सन्देश, नयाँ दुलही, १५ वर्षकी छोरी संगीता खडका र १२ वर्षका कान्छा छोरा सरद सहित ६ जनाको परिवार मिलेर सोमबार दिनभरी किनमेल गरे।
तर कलक बहादुरको परिवारको खुसी एकैछिनमा भताभुंग भयो। चैनपुर बजारबाट विवाहको सामान गरगहना किनेर, सेती पारीको डुंग्री भन्ने स्थानबाट जीपमा चढेका उनका परिवारका तीन जना सदस्य कलक बहादुर, उनकी पत्नी जुनधरा र कान्छा छोरा सरद खडकाको जीप दुर्घटनामा मृत्यु भयो।
‘दाजुको जेठो छोरा भएकाले धुमधामसँग विवाह गर्ने सपना अधुरै रह्यो’, कलक सहितका आफन्तको शव बुझ्न चैनपुर पुगेका उनका भाई शिवराज खडकाले भने। ‘तीन कट्ठा चामलको भात पकाएर गाउँभरीमा आफन्तलाई भोज दिने योजना थियो।’
सोमबार दिउसो दुई बजेर ४५ मिनेटमा चैनपुर पारीको डुंग्री भन्ने स्थानबाट मष्टा गाउँपालिकाका लागि छुटेको से १ ज १०७२ नम्बरको बोलेरो जीप त्यहाँबाट हिँडेको एक घण्टामै मष्टा गाउँपालिकाको डौठी भन्ने स्थानमा भीरमा खसेपछि खड्का परिवारका तीन जना सदस्य सहित १० जनाको ज्यान गएको थियो।
जीपमा ठाउँ नभएर पैदल हिँडेका कलकका जेठा छोरा सन्देश, भगाएर ल्याएकी युवती भने जीपमा ठाउँ नभएको भन्दै पैदल हिँडेकाले उनीहरू जोगिएका छन्। कलककी कान्छी छोरी संगीता खडका पनि गम्भीर घाइते छिन्। उनलाई उपचारका लागि हेलीकप्टरबाट काठमाडौं लगिएको छ।
‘गाडीमा कोचाकोच थियो, १५ जना मान्छे बसिसकेका थिए, त्यसैमा चार पाँच कट्टा चामल, केही कट्टा सिमेन्ट पनि, मैले ओभरलोड भइसक्यो, जान्न भने, बाआमा भाई र बहिनीलाई बसाएर हामी दुबै जना पैदल गयौं’ दुर्घटना अघिको स्मरण गर्दै कलकका छोरा सन्देशले भने। उनले गाडीमा जाने नजाने बारे बुवासँग सामान्य विवाद समेत भएको बताए।
‘मैले बुवा आमालाई पनि पैदल जाउँ, सामान मात्रै गाडीमा पठाउँ, ओभरलोड भइसक्यो भनेँ तर बुवाले मान्नु भएन, छिटो पुगिन्छ भन्नुभयो, हामी पैदल हिँड्यौ, बाटोमा फेरि त्यो जीपले हामीलाई छोप्यो, बुवाले फेरी जीपमा बस्न भन्दै रोक्नुभयो। मैले फेरि मानिनँ’ सन्देशले भने, ‘केही पर त जीप भीरमा खस्यो।
सन्देशको विवाह रोकिएको छ भने उनको परिवाका तीन सदस्य सहित एकै गाउँका आठ जनाको दुर्घटनामा मृत्यु भएकाले गाउँ नै शोकमग्न छ। सोही गाउँका २३ वर्षका हिक्मत खडका, ५९ वर्षिया धौली खडका, ६५ वर्षिया जुना खडका, भक्त द्वाल र २७ वर्षकी लक्ष्मी द्वालको मृत्यु पछि गाउँ नै शोकमा डुबेको हो।
मंगलवार कोटदेवल गाउँभरीका मानिसहरू जिल्ला अस्पताल पुगेका छन्। धेरै जनाका आफन्तहरू कामका लागि भारतमा रहेकाले उनीहरू आएपछि बुधबार मात्रै शव आफन्तको जिल्मा लगाइने जिल्ला अस्पतालले जनाएको छ।
चैनपुर छेउ भएर बग्ने सेती नदीमा रहेको काठेपुल बाढीले बगाएपछि उक्त जीप डुंग्रीबाट भातेखोला, कोटदेवल र मष्ट चल्ने गरेको स्थानीयले बताए। ‘तल्लो गाउँको चालक भएकाले गाउलेले भन्ने बित्तिकै जीप गई हाल्थ्यो, लोकल भएकाले पनि कसलाई उत्रेर जा भन्ने ? ’ मृतक चालकका बुवा सुरेन्द्रले भने। दुर्घटनामा चालक सुरेन्द्र थापाको पनि ज्यान गएको छ।
बोलेरो जीपको यात्रु क्षमता पाँच जनाको मात्र भएकाले पनि बिमा दाबिमा समस्या देखिएको छ। चालक बाहेकका मृतक ९ जनाको परिवारले पाँच लाख रकम बराबरको तेस्रो पक्ष बिमा दाबी गरेका छन् भने बिमा कम्पनीले यात्रु क्षमता बाहेकेको बिमा दाबी गर्न नमिल्ने भनेपछि विवाद समेत भएको छ।
बझाङ जिल्लामा यस्ता महेन्द्रा बलेरो जीप एकसय भन्दा बढी छन्। ती सबैले पछाडि सीट राखेर बढी यात्रु ओसार्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !