इटहरीका होटलमा यौन धन्धा निर्मुल पार्न स्थानीयको माग
इटहरी : इटहरीमा यौन विकृति बढेको भन्दै त्यसलाई निर्मुल पार्न प्रहरीको भुमिका प्रभावकारी नभएको स्थानीयले गुनासो गरेका छन् ।
सुनसरीको इटहरी १६ स्थित लबिपुरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै स्थानीयहरुले पैसाको लोभमा विकृतिमाथि आँखा चिम्लिदिने गरेको प्रहरी प्रशासनलाई आरोप लगाए ।
इटहरीका मेयर, सांसद, व्यवसायी, प्रहरी तथा पत्रकारहरु सहभागी कार्यक्रममा यौन विकृति हटाउन सबै पक्षको सहकार्य हुनुपर्ने स्थानीयले माग गरे । सामाजिक विकृतिविरुद्ध वडा नं. १६ र १७ का स्थानीयहरुले आयोजना गरेको कार्यक्रममा सो क्षेत्रमा भइरहेका वेश्यावृत्ती तथा यौन विकृति रोक्न प्रभावकारी कदम चाल्न स्थानीयले माग गरेका थिए ।
इटहरीको सो स्थानका साथै बसपार्कमा केही वर्षअघिसम्म वेश्यावृत्ती व्याप्त थियो । होटलको आवरणमा खुलेआम यौन व्यवसाय हुन्थ्यो । वेश्यावृत्ती रोक्न स्थानीयले आन्दोलन नै गरेका थिए । पछि प्रहरी र स्थानीयको विशेष सक्रियतापछि यौन व्यवशाय त हट्यो, तर होटलहरुमा युवा युवती जाँदा यौन विकृति फैलिएको गुनासो स्थानीयको छ । सो स्थानमा रहेका होटलहरुमा किशोर किशोरी तथा युवायुवती यौन गतिविधि गर्न पुग्ने गरेका छन् ।
कार्यक्रममा बोल्दै इटहरीका मेयर द्वारिकलाल चौधरीले होटल खोलेर वेश्यावृत्ती गराउने व्यवसायीहरुलाई घर भाडामा नदिन घरधनीहरुसँग आग्रह गरेका छन् । सोही ठाउँमा आफ्नो पनि घर भएको र आफ्नो घर भाडामा लिएर होटलको आवरणमा यौन विकृति फैलाउनेलाई आफूले हटाइदिएको चौधरीले बताए । उनले विकृती फैलाउने गरी होटललाई भाडा दिने घरधनीलाई पनि कारवाही गर्ने चेतावनी दिए ।