बझाङ दुर्घटना : दश जनाको सामूहिक दाहसंस्कार
बझाङ : जीप दुर्घटनामा सोमबार मृत्यु भएका दश जनाको सेती नदीमा सामूहिक दाहसंस्कार गरिएको छ। जिल्ला अस्पताल सिमखेतबाट शवयात्रा सुरु भएको थियो।
मृतकका आफन्त, शुभचिन्तक, स्थानीय, जनप्रतिनिधि, राजनीतिकर्मी, कर्मचारी लगायतको ठूलो संख्यामा सहभागी थिए। सामूहिक अन्त्येष्टि स्थलमा सबै भावुक देखिन्थे। दुर्घटनामा सन्देश खड्काका परिवारका ४ जनाको मृत्यु भएको थियो।
बुवा कलक खड्का, आमा जुनधाराको पार्थिव शरिरमा उनले दागबत्ती दिएका थिए। भाइ सरोज र बहिनी विपना खड्काको शव सेती बगरमै गाडिएको छ। कोटदेबलका सात र रनाडाका दुईको धौलाबगर मसानघाँटमा चालकको कपडे मसानघाटमा अन्त्येष्टि गरिएको हो।
सेती बगरमा गाउँका ९ जनाको जनाको शव जलिरहँदा सबैका आँखा रसाएका देखिन्थे। ‘अब यस्तो घटना कहिले नहोस। सरकारले ध्यान दिनुपर्छ’, अन्त्येष्टिमा सहभागी कोटदेबलका फोन बहादुर खड्काले भने,‘ दुर्घटना न्यूनिकरण गर्न सबै सचेत हुनुपर्छ।’
प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले घटना नदोहोरिन दिन प्रशासनले पहल गर्ने बताए। उनले ग्रामिण क्षेत्रका जिर्ण सडकको सुधार नभएसम्म जीप सञ्चालनमा रोक लगाइने प्रष्ट पारे।
मष्टा गाउँपालिकाले नौैं जनाको मृत्यु भएको भन्दै बुधवार शोक बिदा दिएको थियो। जीप मालिकले मृतकका परिवारलाई जनही तीन÷तीन लाख क्षतिपूर्ति दिने सहमति भएको छ। दुर्घटनामा घाईते भएका पाँच जनाको स्वास्थ्यमा सुधार हुँदै गएको परिवारजनले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !