असारे विकास : एउटै सडकमा दोहोरो बजेट

असारे विकास : एउटै सडकमा दोहोरो बजेट

असार सुरु भएपछि पुरानो सडक पुन: प्रदेश सरकारले खन्ने काम भएको छ। मकवानपुरको पश्चिमी राक्सिराङ गाउँपालिकास्थित खैराङमा रहेको ठुलोटोड्के ज्याबराङ चरिमारा सडक गाउँपालिकाले यस अघि नै निर्माण गरिसकेको छ। तर प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उपभोक्ता समितिमार्फत सडक फराकिलो बनाउने काम गरेको हो।

सडक निर्माण उपभोक्ता समितिका अध्ययक्ष हस्त बहादुर तितुङले साँघुरो सडक फराकिलो बनाउने र भत्किएको ठाउँमा तारजाली भर्ने काम भएको बताए। ‘सडक एउटा गाडी पनि नछिर्ने साँघुरो थियो, अहिले करिब छ मिटर फराकिलो बनाएका छौं, भत्किएको ठाउँहरुमा मर्मत पनि गरेका छौं’, उनले भने। २४ लाख ५० हजार रुपैयाँमा जेठ ५ गतेबाट सडक खन्न सुरु गरेकोमा काम सकिएपछि असार १० गते मेसिन (डोजर) फिर्ता गरेको तितुङले बताए।

राक्सिराङकै मानेडाँडा सिलाधुनी थाहापहरा ठुलो टोड्के सडक जेठ अन्तिम साताबाट निर्माण सुरु भएको थियो। उक्त सडक खन्ने क्रममा एक सता अघि पहिरोले पुरिएर डोजर चालक र सहचालकको ज्यान गएपछि त्यहाँ नयाँ जोडर लैजान नसकेपछि काम अघि बढ्न सकेको छैन।

उक्त सडकको करिब १५ मिरट मुनीबाट गाउँपालिकाले सडकको ट्रयाक एक वर्ष अघि नै खनिसकेको ८ नम्बर वडा अध्यक्ष रामकृष्ण चेपाङले बताए। ३९ लाख २० हजार रुपैयाँमा मन्त्रालयले उपभोक्ता समिति मार्फत कृषि सडक निर्माण थालेको हो।

राक्सिराङको सरिखेतस्थित खरङ्गा सानोभावर भाड्डी सडक निर्माणको काम भइरहेको छ। राक्सिराङ गाउँपालिकाले गत चैत्र महिनामै उक्त सडक निर्माणमा दश लाख रुपैयाँ खर्चेको थियो। कृषि सडक निर्माणको लागि उक्त सडकमा मन्त्रायले ३९ लाख २० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ।

गाउँपालिकाले सडक फराकिलो बनाउनु भन्दा त्यसको स्तरिकरणमा खर्च गर्न भनेपनि मन्त्रालयले सिधै उपभोक्ता समितिमार्फत सडक फराकिलो बनाउने काम गरेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।

मन्त्रालयका प्रवक्ता निर्मल गदालले भने योजना कुनै पनि नदोहरिएको बताएका छन्। ‘गाउँपालिकाले प्रदेशको बजेट हेर्न भ्याउँदैनौं हाम्रो योजना बाँकी छ भनेकाले उपभोक्ता समितिमार्फत काम भएको हो तर कतै दोहरिएको छैन’, उनले भने। मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्कीले हालसम्म मकवानपुरमा निर्माण भएका कृषि सडकहरुमा भुक्तानी नगएको बताए। ‘भुक्तानी गएको छैन, दोहोरो बजेट हाल्ने काम भएको पाइए,हामी भुक्तानी दिँदैनांै’, उनले भने।

भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय मार्फत राक्सिराङमा मात्र आठ वटा कृषि सडक निर्माणको काम गरिरहेको छ। जेठ र असारमा निर्माण सुरु भएको यहाँको सडकको लागि मात्र मन्त्रालयले करिब दुई करोड रुपैयाँ पठाएको छ।

बनाउँदै छ, भत्कदै छ

धादिङको नीलकण्ठ नगरपालिकाको वडा नं ५ लाइ नगरपालिकाको केन्द्र धादिङवेशी सम्म जोड्ने धादिङवेशी खाल्टे फ्याक्से सडकको स्तरउन्नती गर्ने काम असार पहिलो साता मात्रै सुरु भयो।

हरेक वर्ष वर्षातमा सवारी आवतजावत ठप्पै रहने उक्त सडकको स्तरउन्नती हरेक वर्ष झै यस वर्ष पनि असारको पहिलो हप्तामात्रै सुरु भएको हो। वडा कार्यलयको योजना अनुसार यस वर्ष वर्षामासमा पनि उक्त सडक संचालन गर्ने रहेको छ। तर बनाउन नभ्याउदै वर्षाको पानीले सडक खोतल्न सुरु गरिसकेको छ।

खाल्टेको पात्ले डाँडाबाट सदरमुकाम तर्फ स्तरउन्नतीको काम सुरु गरिएपनि भिरालो पाखो जमिन भएकाले सामान्य पानी पर्नसाथै उक्त सडकबाटै पानी बगेर सडकको संरचना बगाउने गरेको छ। प्रदेश मन्त्रालयको २० लाख रुपैयाको बजेटमा सडक स्तरउन्नती कार्य गरिएको भएपनि वर्षामासको पानीले सडक पुरानै अवस्थामा पुग्न थालेको छ।

नीलकण्ठ नगरपालिका वडा नं ५ का अध्यक्ष राम कुमार श्रेष्ठ भन्छन्, ‘हामीलाइ कामको गर्नको लागि बजेट नै जेठको दोस्रो सातातिर मात्रै आएको थियो। काम नगरौँ बजेट फिर्ता भएर जान्छ, जसोतसो यसापालीको वर्खामा गाडी गुडाउन सम्भव हुने गरि स्तरउन्नतीको काम सुरु गरेका हौँ।’

सवै पालिकाहरुको तथ्याङ्क हेर्दा जेठको पहिलो हप्तासम्म ५५ प्रतिशत मात्रै भौतिक प्रगती र ७० प्रतिशत भन्दा माथी वित्तिय प्रगती देखिएको थियो। वाँकी ४५ प्रतिशत भौतिक प्रगती जेठ अन्तिम साता र असार महिनामा हुने गरेको छ।

निर्माण सम्पन्न नहुँदै ट्यांकी भत्कियो

सिन्धुलीको तीनपाटन गाउँपालिका १० लाम्पान्टारमा निर्माणाधिन पानी रिजर्भ ट्यांकी निर्माण सम्पन्न नहुँदै भत्किएको छ।

१० लाख १६ हजार ७४ रुपैयाँ ४३ पैस विनियोजन गरेर असारमा निर्माण थालिएको ट्यांकीको ट्यांकीको पर्खाल भत्किएको हो। सिंचाईको पानी संचित गर्न वर्षात सुरुभएपछि हातारहतारमा ट्यांकी निर्माण गरिएको थियो। वर्षातको पानी र कमशल कामका कारण भत्किएको स्थानीयहरुले बताएका छन्।

ट्यांकी झारो टार्ने हिसावले प्राविधिक स्टमेट विनानै निर्माण गरिँदा भत्किएको तीनपाटन गाउँपालिकाका इन्जीनियर राजेन्द्र मानन्धरले बताए। स्थानीय कृषकका लागि लक्षित गर्दै ८० हजार लिटर पानी रिजर्भ क्षमता भएको ट्यांकी रड, सिमेन्ट सहितको (आरसिसि) पक्का निर्माण गर्नु पर्नेमा चार इन्चीको इट्टामात्र लगाइएपछि भत्किएको उनको भनाई छ।

जिल्लामा कृषि सडक निर्माणका लागि भन्दै स्थानीय सरकारले ३० करोड रुपैयाँ बढी बजेट खर्च गरेको छ। यस्ता अधिकांस सडकहरु निर्माणसंगै काम नलाग्ने गरी बिग्रिसको छ।

जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाए अनुसार चालु आर्थिक वर्षको असार १० गतेसम्म जिल्लाका नौं वटै स्थानीयतहले २ अर्व ८५ करोड ८९ लाख रुपैयाँ बजेट खर्च गरिसकेका छन्। त्यस मध्ये ५० प्रतिसतबढी जेठ र असार महिनामामात्र काम गरेर निकासा मागिएको छ। यस बाहेक स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ८ करोड र प्रधानमन्त्री रोजगार कार्यक्रमको ३ करोड ९० लाख बजेट असारमै सक्न खोजिएको छ।

भरतपुरमा असारे हतार

आर्थिक वर्ष सकिनै लाग्दा भरतपुर महानगरपालिकामा बजेट सक्ने हतारो देखिएको छ। भरतपुरमा असारको पहिलो हप्तामा ७० प्रतिशत मात्र काम सम्पन्न भएको थियो।

हालसम्म पूँजिगत खर्च ४६ प्रतिशत र चालुतर्फ ७० प्रतिशत भुक्तानी भएको महानगरका योजना तथा बजेट शाखा प्रमुख असिम रेग्मीले बताए। महानगरपालिकाको पूँजिगत तर्फको करिब ४० प्रतिशत काम असारमा सञ्चालन भइरहेको छ। महानगरका उपसचिव कुलबहादुर जिसिले राजनीतिक संक्रमण सकिएपनि प्रशासनिक संक्रमणले काममा ढिलाई भएको बताए।


मकवानपुरबाट कृष्ण सारु मगर, धादिङबाट मनिष दुवाडी, सिन्धुलीबाट राजन गाउँले र चितवनबाट अनिल ढकाल


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.