जहाजमा बम भेटियो, तर... (फाेटाे फिचर)
तस्बिर : दिपेन श्रेष्ठ
काठमाडौं : घडीले दिउँसोको ३ बजाएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (एलोन विमानस्थल) को कन्ट्रोल रुममा ‘इएक्सई १२४’ विमानमा बम राखेको खबर प्राप्त हुन्छ। ३ बजेर २० मिनेट जाँदा इएक्सई १२४ धावनमार्गबाट घिसारेर नवनिर्मित रिमोर्ट पार्किङ एरियामा ल्याइन्छ।
जहाजमा बम भएको खबर भाइरल हुन नपाउँदै सुरक्षा निकाय, कर्मचारी र पत्रकारको हुल बाक्लिकेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणकी उपप्रबन्धक सुनिता भारद्वाजले माइकिङ गर्दै भनिन्, ‘इएक्सइ १२४ विमानमा बम राखिएको खबर प्राप्त भएको छ। वारुण नियन्त्रण, नेपाली सेना, नेपाल प्रहरी, एम्वुलेन्स र बम डिस्पोजल टोली आउँदैछ। तपाईहरु पनि सहयोग गर्नुहोस्।’
जहाजपछि एभिएसन रेस्क्यु एन्ड फायर सर्भिसको दुई वटा गाडी, एम्बुलेन्स र सेनाको गाडी पनि पछिपछि थिए। विमानलाई पार्किङ क्षेत्रमा पुर्याउने वित्तिकै प्रहरीको टोलीले सुरक्षित घेरा बनाउँछ।
उपस्थित प्रत्यक्षदर्शीलाई सुरक्षित धेरा बाहिर जान प्रहरीले निर्देशन दिन्छ। यात्रुलाई बाहिर निकाल्न भर्याङ बोकेको गाडी विमानमा जोडिन्छ। यात्रु सम्भावित घटना हुन सक्ने आंकलन गरी तछाड मछाड गरी भागदौडमा व्यस्त छन्। यात्रुलाई मेडिकल परीक्षण गर्ने स्थानमा पुग्न भारद्वाज सूचना जारी गर्छिन्।
विमानमा एक सय ७ जना सवार छन्। विमान चालक दलका सदस्य ११ छन्। विदेशी ७७ र ३० जना नेपाली छन्। ७० प्रतिशत यात्रु सकुशल बाहिर निस्केको एक क्षण नबित्दै ठूलो आवाजसहित विमानमा विष्फोट हुन्छ। जहाज वरिपरी कालो धुँवाको मुस्लो नै मुस्लो देखापर्छ। त्यो बेला उपस्थित व्यक्तिमा झन ठूला भागदौड मच्चिन्छ।
पार्किङमा खडा गरिएका दमकलले धुँवा निस्किएको स्थानमा पानीको फोहोराले हान्छ। रेसक्यु टिम विमानभित्र पसेर यात्रुलाई उद्दारमा खट्टिको देखिन्छ। यात्रुलाई सुरक्षित रुपमा विमानबाट बाहिर निकालेपछि विमानमा थप बम हुन सक्ने आशंकामा कुकुरबाट प्लेनको निरिक्षण गरिन्छ।
निकालिएका यात्रुमध्ये गम्भीर घाइते भएकालाई एम्बुलेन्स र हेलिकप्टरको सहयोगमा विभिन्न अस्पतालमा लैजाने व्यवस्था गरिएको थियो। करिब ४० मिनेटको अवधिमा सम्पूर्ण यात्रुलाई उद्दार गर्न रेस्क्यु टिम सफल भएको थियो।
माथिका दृश्य हेर्दा साँच्चिकै लाग्ने भएपनि यर्थाथमा जहाज र यात्रुलाई कसरी उद्दार गर्ने विषयमा अभ्यास गरिएको थियो। ४ बजे प्राधिकरणका उपनिर्देशक उत्सव खरेल पत्रकार सम्मेलनका लागि उपस्थित हुन्छन्। उनले दुर्घटनामा परेको जहाज र मानवीय क्षतिबारेमा जानकारी गराउँछन्।
‘यो विमानस्थल संकटकालीन योजना अभ्यास गर्नुपर्ने अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार गरिने योजनावद्ध नियमित अभ्यास मात्रै हो,’ खरेलले जानकारी गराउँदै भने।
दुईवर्ष अघि पनि विमानस्थलमा यस्तै अभ्यास गरिएको थियो। यो अभ्यासले आकस्मिक अवस्थामा कसरी उद्दार गर्ने भनेर पूर्व तयारी गरिन्छ।