सेफ्टी ट्यांकीमा निसास्सिएर ज्यान गुमाएका चारको सामूहिक अन्त्येष्टि
विराटनगर : मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु भएका चार जनाको मोरङको सुनवर्षी नगरपालिका–९ डाईनियामा आइतबार सामूहिक अत्येष्टि गरिएको छ। डाईनिया बजारको पूर्वतर्फ २ बिघा क्षेत्रफलमा रहेको कब्रिस्थानमा मुस्लिम रीतिरिवाज अनुसार अन्त्येष्टि गरिएको हो।
सुनवर्षी–९ डाईनियाको मुस्लिम बस्तीस्थित मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न एकपछि अर्को गर्दै भित्र छिरेका चार जनाको शनिबार मृत्यु भएको थियो। मृत्यु हुनेमा मुस्लिम बस्तीका २० वर्षीय मोहम्मद फिरोज आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय ओसिव आलम र ४५ वर्षीय कपिल आलम रहेका छन्।
मृत्यु भएका सहनवाद र कपिल बाबु छोरा हुन्। उनीहरुको सामूहिक अन्त्येष्टिमा मुस्लिम धर्मावलम्बीको ठूलो भीड लागेको थियो। अन्त्येष्टिका क्रममा भेला भएका सबैले नमाज पढेर चारै जनाको अन्तिम विदाई गरे।
एक महिना अघि चारैतिर बन्द गरेर हावा पास हुन नसक्ने गरी मस्जिदको १२ फिट गहिरो ट्यांकीको ढलाई गरिएको थियो। त्यही ढलाईको सेट्रिङ खोल्नका लागि एकपछि अर्को गर्दै गएका चारैको निसास्सिएर मृत्यु भएको हो।
आफन्त र मुस्लिम अगुवाले उपचार अभावमा उनीहरुको मृत्यु भएको भन्दै आक्रोस पोखेका छन्। एउटै बस्तीका चार जनाको मृत्युपछि सिंगो मुस्लिम बस्ती शोकमा डुबेको छ। आफन्त गुमाउँदा विक्षिप्त बनेका परिवारजन सम्हालिन सकेका छैनन्।