जनतासँग भिज्नुको मजा बेग्लै

जनतासँग भिज्नुको मजा बेग्लै

भरतपुर महानगरमा विकासको गति कसरी अगाडि बढेको छ ?       

 दिगो र आत्मनिर्भरमा केन्द्रित सन्तुलित र समुचित ढंगले विकासको मोडेल अगाडि बढाउन खोजेका छांै। अहिलेसम्म भएको काम सन्तोषजनक र सकारात्मक छ। हामीले गर्न सकिने, केन्द्र र प्रदेश सरकारसँग समन्वय र पहल गरेर हुने विकासको काममा सफल भएको सुखद अनुभूति छ। जुन खालको जमर्को गरेका छौं त्यसैअनुसार काम तीव्र गतिमा छ।

 विकास भएको छ भन्ने आधार के हो ?       

 महानगरीय बजेट विगत र अहिले हेर्दा धेरै फरक छ। कार्यान्वयनको पाटो हेर्दा देखिने विकास भनेको अहिलेका लागि सडक नै हो। सुरुवाती अवस्था भएकाले सडक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बाध्यता पनि छ। स्थानीय, प्रदेश या केन्द्रीय स्तरका योजनाको कुरा गर्दा जहाँ पनि देखिने भनेको सडक पूर्वाधार नै हो। महानगरले उत्पादनको क्षेत्रमा बढी फोकस गरौं भन्दा पनि पूर्वाधारमा ३५ प्रतिशतले बढी गयो। चाहेर पनि उत्पादन क्षेत्रलाई बढी दिन सकेका छैनौं। सडक पूर्वाधार क्षेत्रमा हामीले मनग्ये सफलता हासिल गरेका छौं। महानगरीय रिङ रोड र लिंक रोड र ५०औं वर्षअघि खोलिएका बाटो पहिलोपटक कालोपत्रे हुँदै छ। लामो दूरीका सडकलाई प्राथमिकतामा राखेर लिंक रोडको काम सुरु गरेका छौं।

महानगरको बजेटबाट साना सडकलाई प्राथमिकतामा राखिएको छ भने अलि लामो दूरीको सडकलाई प्रदेश र केन्द्रीय मन्त्रालयबाट बजेट ल्याएर निर्माण चरणमा छ। मैले ६ महिनाअघि दुई वर्षको समय मागेको थिएँ। अबको डेढ वर्षपछि महानगरभित्रका सडक पूर्वाधारको काम देखिनेगरी जनताले अनुभव गर्न पाउँछन्।

 महानगरले प्राथमिकतामा राखेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा केही समस्या देखियो, यो विचलित हुने खतरा त छैन ?

–विभिन्न बाधा, अड्चन भए पनि रंगशाला निर्माण अगाडि बढेको छ। महानगरको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना भएकाले यसको निर्माणमा हामी गम्भीर छांै। जुन मोडेलबाट बनाउने भनिएको छ त्यसअनुसार नभए सरकारले जिम्मा लिएर भए पनि रंगशाला बनाउँछौं। सम्झौतापत्रमै धुर्मुस सुन्तली फाउन्डेसनले जिम्मा लिने त्यसलाई महानगरले सहजीकरण, समन्वय र सहयोग गर्ने भनिएको छ। यदि, फाउन्डेसन गर्दा भएन भने महानगरले जिम्मा लिएर अगाडि बनाउने भनिएको छ। प्रदेश सरकारले पनि यस वर्ष पाँच करोड छुट्ट्याएको छ। केन्द्र सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रले निर्माण गरेको रंगशाला निर्माणमा प्रोत्साहन सहयोग गर्ने भनिएको हुँदा रंगशाला बन्नेमा कुनै शंका छैन।

 महानगरको विकासका लागि भएका अरू योजना कहाँ पुगे ?       

सीटीहलको डिजाइन अन्तिम चरणमा पुगेको छ। छिटो काम सकेर शिलान्यासको तयारीमा छौं। नगर विकास कोषसँग महानगरमा अटोल्यान्ड निर्माण पनि अघि बढेको छ। बहुउद्देश्यीय भवनका लागि महानगरीय विकास कोषसँग छलफल र सम्झौता गर्न प्राविधिक टोली लागेको छ। फोहोर–मैला व्यवस्थापन गर्न नेपाल सरकार, भरतपुर महानगर र कोरियन सरकारबीच सम्झौता भइसकेको छ। डीपीआरको काम कोरियन सरकारले गर्दै छ। पुल्चोक–गोन्द्राङ सडक ६ लेनको बनाउने योजना छ। भरतपुर–१९ को रानीपोखरीलाई महानगरीय पार्कका रूपमा विकास गर्न ११ करोड विनियोजन भएको छ। देवघाटमा विद्युतीय शव दाह गृह निर्माण भइरहेको छ। यी सबै कामबाट प्रस्ट हुन्छ कि हामीले सकेजति गर्न सफल भएका छौं।

महानगरको प्राथमिकतामा के–के परेका छन् ?

 मुख्य प्राथमिकता भनेको सडक हो। यससँगै स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई पनि उत्तिकै महत्वसाथ प्राथमिकतामा राखेका छांै।

 निर्वाचनका बेला स्मार्ट सीटीको अवधारणा निकै चर्चा भयो, यो कुन अवस्थामा छ ?       

 देशभरका २० सहरलाई स्मार्ट सीटी बनाउने सरकारको योजनाअनुसार भरतपुर पनि छनोटमा परेको हो। महानगरको समग्र गुरुयोजना निर्माण गर्न सहरी विकास मन्त्रालयबाट बजेट विनियोजन भएर कन्सलट्यान्टको नियुक्ति गरेर काम भएको ६ महिना भयो। घरधुरी सर्वेक्षण, स्मार्ट सीटीका लागि चाहिने आवश्यक मापदण्ड, भूउपयोग नीतिसहित बृहत् गुरुयोजना निर्माण गर्न अगाडि बढेको छ। औद्योगिक, पर्यटकीय, कृषियोग्य, शैक्षिक, मेडिकल क्षेत्रलगायतमा भूउपयोगको अवस्था अध्ययन गरी मूल्यांकन भइरहेको छ। तीन महिनाभित्र स्मार्ट सीटीको प्लान सार्वजनिक गर्छौं।

 गरिब र पिछडिएकाले पनि महानगरवासी हुनुमा कहिले गर्व गर्न पाउँछन् ?       

धनी, गरिब सबैको अपनत्व हुने वातावरण बनाउने हो। गरिबी र पिछडिएको बस्तीमा बढी केन्द्रित छौं। हामीले महिलासँग मेयर, जोखिममा परेका समुदायसँग मेयर भन्ने कार्यक्रम सञ्चालन गरेका छौं। आयआर्जन, जीवनस्तर उकास्ने, क्षमता अभिवृद्धि गरी समुदायलाई माथि उठाउन बजेटमा पनि प्राथमिकता दिइएको छ। महानगर सबैको हो, समान अधिकार छ। सबैको अपनत्व र अनुभव हुने गरी काम गरेका छौं।

 भरतपुर महानगरले साढे तीन अर्बको बजेट बनाएको छ। अन्य महानगरभन्दा यहाँ बजेट थोरै देखियो नि ?

 पूर्वाधार क्षेत्रमा ३५ प्रतिशत विनियोजन भएको छ। अरूभन्दा भरतपुरको कम हुनुको कारण कतिपयमा एडीबीसँग ऋण सहयोगमा गरिएको परियोजना छ, हामीसँग त्यो छैन। भरतपुरमा त्यस्ता परियोजना नभएर पनि बजेट कम देखिएको हो।

 नेतृत्व सम्हाल्न कत्तिको चुनौती छ ?       

 स्थानीय सरकारसँग जनताको सहज पहुँच छ, यसले जनताको अपेक्षा, दैनिक समस्या र भावनाको सम्बोधन, विकासको काम र आउने जटिलतालाई समेटेर सहकार्य गर्न चुनौती त पक्कै छ। तर, जनतासँग भिजेर काम गर्नुको मजा नै बेग्लै छ। व्यक्तिगत र पारिवारिक माहोलबाट टाढा भए पनि जनतासँग बसेर काम गर्दा सबै बिर्साउँछ। सफा नियत र सही उद्देश्य, पारदर्शी भए, नियतमा खराब नभई महानगरको हितलाई सर्वोपरी ठानेर काम गरे सबै बाधा–अड्चन समाधान गर्न सकिन्छ। यहीअनुसार काम भएको छ।

 तपाईंको बुवा राष्ट्रिय राजनीतिको प्रभावशाली नेता, उहाँको निर्वाचन क्षेत्र पनि यही छ। काम गर्न कत्तिको सहज छ ?       

बुवाको कारण धेरै सहज छ। मेयरको हैसियतबाट कार्यान्वयनको पक्षमा म सक्रियतासाथ लागेको छु। नीति–निर्माण तह र योजनाको सन्दर्भमा केन्द्रबाट हुनुपर्ने सहयोग र समन्वयका लागि बुवाबाट सानादेखि ठूला आवश्यकता पूरा गर्न भरतपुर महानगरलाई सहज भएको छ। शीर्ष नेता भरतपुर महानगरले पाएकोमा हामी खुसी छांै। कहिलेकाहीँ बाबु–छोरी भन्ने टिप्पणी नहुने होइन, त्यसलाई काम र व्यवहारले कुल्चिने हो। हामी नाता होइन, कर्ममा प्रतिबद्ध छौं। –

प्रस्तुति : अनिल ढकाल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.