दुर्घटनामा दुईको मृत्यु, ६ घाइते : राजमार्गमा विराेध प्रदर्शन
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकामा भएका अलग अलग दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।
कोसी राजमार्ग अन्तर्गत बुढीगंगा–३ मा कार र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा आइतबार दिउसो एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार विराटनगरबाट सुनसरीको इटहरीतर्फ तिव्र गतिमा जाँदै गरेको को २९ प ५८७३ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको बा ३ च ८८२१ नम्बरको कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका–९ भोजपुरे टोल बस्ने ४५ वर्षीय रुसना खातुनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार दुर्घटनामा घाइते भएपछि उपचारका लागि विराट टिचिङ अस्पताल पु¥याउन साथ खातुनको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक खातुनका छोरा २८ वर्षीय ईब्राहिम मियाँ घाइते भएका छन् । मोटरसाइकल ठोक्किना साथ अनियन्त्रित बनेको कारले इटहरीतर्फ नै जाँदै गरेको अर्को को ३८ प २९२६ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिँदा सुनसरीको इनरुवा नगरपालिका–४ बस्ने ३५ वर्षीय शम्भुकुमार साह र पछाडि सवार इटहरी–१८ की २६ वर्षीय यशोदा साह घाइते भएका छन् । अनियन्त्रित कारले ठक्कर दिँदा साइकलयात्री बुढीगंगा–३ का २२ वर्षीय विश्वनाथ खवास पनि घाइते भएका छन् ।
डीएसपी श्रेष्ठका अनुसार दुर्घटनामा परेर कार चालक धरान उपमहानगरपालिका–१२ का निशान रिजाल र कारमा सवार उनकी आमा अञ्जु रिजाल पनि घाइते भएका छन् । घाइते सबैको विराट टिचिङमै उपचार भइरहेको छ । दुर्घटनामा कार र दुवै मोटरसाइकलमा क्षति पुगेको छ ।
यस्तै विराटनगर–४ बरगाछीमा शनिबार राति बा २० च ७४० नम्बरको कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
को ३५ प ५६३४ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय शंकरकुमार मिश्रको मृत्यु भएको प्रहरी प्रवक्ता श्रेष्ठले बताए । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मोटरसाइकललाई एउटै दिशाबाट आउँदै गरेको कारले राति १०ः४५ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते मिश्रको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेको कारलाई प्रहरीले विराटनगर–११ स्थित किरण लामाको घरबाट राति नियन्त्रणमा लिएको थियो । डीएसपी श्रेष्ठले दुर्घटना भएका बेला कार लामाले नै हाँकेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताए । लामा फरार रहेका कारण खोजी तीव्र पारिएको जनाइएको छ ।
प्रहरीका अनुसार लामा केही साथीहरुसहित विराटनगरको एयरपोर्ट मोडको होटल ह्याजट्यागमा केही साथीहरुसँग बसेका थिए । मादक पदार्थ सेवनकै क्रममा होटलमा केही विवाद पनि भएको र त्यसपछि निस्किएका लामाले चलाएको कारले करिव एक किलोमिटर अगाडि मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाइ छ । डीएसपी श्रेष्ठले घटना नियोजित रुपमै भएको हो या सवारी साधन चलाउने क्रममा दुर्घटना मात्रै भएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाए । उनले नियोजित रुपमा ठक्कर दिएको भए त्यही अनुसार मुद्दा चल्ने पनि बताए ।
घटनाको विरोधमा विराटनगरमा आइतबार टेम्पो चालकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कोसी राजमार्ग अन्तर्गत बरगाछी र महेन्द्र चोकमा केही बेर सवारी आवागमन बन्द गराए । घटनाको विरोधमा उत्रिएर प्रदर्शन गर्दै सवारी साधन सञ्चालनमा अवरोध पु¥याउन थालेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर राजमार्ग खुलाइएको थियो ।
दुर्घटना लामाले गराएको भए पनि नक्कली चालक खडा गरेर घटनालाई मोड्ने र लामालाई उन्मुक्ती दिने प्रयास भन्दै टेम्पो चालकहरु त्यसको विरोधमा उत्रिएका हुन् । दुर्घटना गराउने लामा फरार भएका कारण खोजी गरेर कारबाही प्रक्रिया अघि बढाउनु पर्ने उनीहरुको माग छ ।