सडकमै सुत्केरी
विराटनगर : ३५ वर्षीया सालु सरदारले सोमबार बिहान मोरङको विराटनगरथित सडकमै बच्चा जन्माएकी छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी उनी कपडा किन्न सीमावर्ती भारतीय बजार जोगबनीतर्फ जाँदै थिइन्। उनलाई शिशु जन्मिएका बेला चाहिने कपडा आवश्यक थियो।
आर्थिक अवस्था कमजोर रहेकाले चाँडै कपडा जोहो गर्न नसकेको उनले सुनाइन्। विराटनगर बसपार्क आइपुगेपछि उनलाई असहज महसुस भएको थियो। तत्काल गाडीबाट ओर्लिइन्। गर्भवती भएपछि स्वास्थ्य जाँच नगराएकी उनलाई कहिले सुत्केरी हुन्छ भन्ने तिथिमिति पत्तै भएन।
‘अस्पताल जानुपर्छ भन्ने ज्ञान भएन। पहिलेको छोरा पनि अस्पताल नगईकन जन्मियो’, उनले भनिन्, ‘अस्पताल गएर जाँच गर्न पैसा पनि थिएन। आज त सडकमै सुत्केरी भएँ।’
विराटनगर–११ जनपथकी सन्तोषी श्रेष्ठले बिहान ६ बजे छटपटाइरहेको अवस्थामा उनलाई देखिन्। त्यसबारे सोधीखोजी हुँदाहुँदै सालुले छोरा जन्माएकी हुन्। शिशु र सुत्केरीलाई श्रेष्ठले उद्धार गरी कोसी अस्पताल पुर्याएकी थिइन्। सुत्केरी महिलाको उपचार सुरु गरिएको उनले बताइन्। भुइँमा जन्मिए पनि शिशुलाई चोटपटक लागेको छैन। ‘बसपार्कमा बच्चा जन्मिएपछि एक महिलाले तत्काल तन्ना दिइन्’, उनले भनिन्, ‘एक जनाले चाउचाउ पकाएर आमालाई खुवाइन्।’ त्यहाँ भेला भएकाहरूले १ हजार ५ सय रुपैयाँ सहयोग गरेका थिए।
सालुका श्रीमान् ४० वर्षीय राजकुमारको दुई महिनाअघि निधन भएको थियो। घरमा उनी र १२ वर्षीय छोरा अमित छन्। ‘ श्रीमान्ले ट्रक चलाएर परिवार पाल्दै थियो’, उनले भनिन्, ‘उहाँ बितेपछि मैले बिहान–बेलुकाको खानेकुरा पनि जुटाउन सकिरहेकी छैन।’ सम्पत्तिका नाममा एउटा झुप्रो घरबाहेक केही नरहेको उनले सुनाइन्।
सुत्केरी अवस्थामा अस्पतालबाट पाउने सेवासुविधा दिलाउन सहयोग गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए। भने, ‘यस्तो बेला सहयोग र हेरचाह गर्ने संरक्षक वा कुनै संघसंस्था छन् कि भनेर खोजी गर्ने काम भइरहेको छ।’
अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले सुत्केरी आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। उनका अनुसार शिशुको तौल २.७ किलो छ। सामान्य तरिकाले बच्चा जन्मिएको भए पनि २४ घण्टासम्म चिकित्सककै निगरानी राखिने उनले सुनाए।