विराट भर्सेस केन : ११ वर्ष पूरानो हिसाब चुक्ता

काडमाडौं : क्रिकेट प्रतियोगितामा सबैभन्दा ठूलो भिडन्त मानिने एकदिवसीय विश्वकपको अहिले इङ्ल्याण्डमा जारी छ। विश्वकपमा अब दुई खेल मात्रै बाँकी छन्। अस्ट्रेलिया र आयोजक इङ्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल बिहीबार हुँदैछ, फाइनल आइतबार हुनेछ।
वर्षाका कारण मंगलबार र बुधबार गरी दुई दिन खेलाइएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले निकै बलियो भारतलाई पराजित गरी फाइनलमा स्थान बनाएको छ।
खेलमा हारजित सामान्य कुरा हो। विश्वकै सबैभन्दा धेरै क्रिकेटको माहौल भारतमा छ। राष्ट्रिय टोलीले जब कुनै महत्वपूर्ण प्रतियोगितामा हार व्यहोर्छ भारतमा निकै हल्लीखल्ली हुने गर्छ।
कोच, कप्तान, खेलाडीमाथि तिखो गाली वर्षाउनेदेखि भिटी सेट फुटाउनेसम्मका हर्कत गर्न भारतीय समर्थक पछि पर्दैनन्।
बुधबार भारत न्युजिल्याण्डसँग पराजित भई विश्वकपबाट बाहिरिएपछि पनि कसरी हार्यो ? के भएको भए हार्दैनथ्यो ? भन्ने जस्ता प्रशंग, विश्लेषण भारतीय मिडियादेखि सामाजिक सञ्जालमा छाइरहेका छन्।
मंगलबार न्यजिल्याण्डका ब्याट्सम्यानको सुस्त ब्याटिङ देखेर उनीहरू टेस्ट क्रिकेट खेलिरहेका छन् कि एकदिवसीय ? भन्दै भारतीय समर्थकले उडाइरहेका थिए। बुधबार न्युजिल्याण्डका बलरले भारतीय ब्याट्सम्यानको झन हालत खराब बनाइदिए।
यस खेलको हार जितलाई न्युजिल्याण्डका कप्तान केन विलियमसन र भारतका कप्तान विराट कोहलीको रमाइलो इतिहाससँग जोडेर चर्चा भइरहेको छ।
बुधबार न्युजिल्याण्डले भारतलाई हराउँदै केनले कोहलीसँग ११ वर्ष पूरानो हारको बदला लिएको भनी चर्चा भइरहेको प्रसंग रोचक छ।
भएको के थियो ?
सन २००८ मा मलेसियामा यु–१९ विश्वकप हुँदा पनि भारतका कप्तान विराट कोहली र न्युजिल्याण्डका कप्तान केन विलियमसन नै थिए। फेब्रुवरी २७,२००८ मा भारत र न्युजिल्याण्डबीच सेमिफाइनल खेल थियो। पहिले टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो। उक्त खेल पनि वर्षाले प्रभावित भएको थियो।
४३ ओभरमा झारी १९१ रनको लक्ष्य पाएको भारतीय युवा टोलीले ३ विकेटको जित हात पारेको थियो। उक्त प्रतियोगितामा न्युजिल्याण्डका कप्तान केनले ३७ रन र भारतका कप्तान कोहलीले ४३ रन बनाएका थिए। कोहलीले ७ ओभर बलिङ गर्दै २ विकेट पनि लिएका थिए। विराट त्यस प्रतियोगिताका ‘प्लेअर अफ दी म्याच’ भएका थिए।
त्यसदिन न्युजिल्याण्डका कप्तान केनलाई आउट गर्ने कोहली नै थिए। केनले पनि १ ओभर बलिङ गरी ७ रन दिएका थिए।
त्यतिबेला विराट १९ वर्षका र केन १७ वर्षका थिए। फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले उपाधि जितेको थियो।
११ वर्षपछि आएर उमेर समूहको जस्तै भेट सिनियर टोलीको विश्वकपमा हुँदा केनले बाजी मारे। विराटलाई निराश बनाउँदै त्यतिबेलाको हारको बदला केनले ब्याजसमेत असुल गरे भनी चर्चा भइरहेको छ।
यस भिडन्तमा भने विलयिमसनले टोलीलाई ६७ रनको महत्वपूर्ण योगदान गर्दा कोहलीले १ रन मात्रै जोड्न सके। बुधबार भारतका लागि सर्वाधिक रन बनाएका रवीन्द्र जडेजा पनि त्यस टोलीमा थिए। एक रन बनाएर आउट भएका उनले १ विकेट लिन सफल भएका थिए।
सो यु–१९ विश्वकपमा नेपाल पनि सहभागी थियो। नेपालका हालका कप्तान पारस खड्का नै त्यस टोलीका कप्तान थिए।
१६ राष्ट्र सहभागी प्रतियोगिताको समूह सीमा रहेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो। श्रीलंका र अस्ट्रेलियासँग पराजित भएको नेपालले नामिबियालाई हराएको थियो।
प्लेट क्वाटर फाइनलमा जिम्बाब्बे र प्लेट सेमिफाइनलमा नामिबियालाई हराउँदै नेपाल आठौं स्थान हासिल गर्न सफल भएको थियो।
प्रतिक्रिया दिनुहोस !
