फरक क्षमताका व्यक्तिलाई परिचयपत्र

फरक क्षमताका व्यक्तिलाई परिचयपत्र

ललितपुर : डाउन सिन्ड्रोम भएका प्रितम विश्वकर्मा उत्साहका साथ मेयर चिरीबाबु महर्जनको पर्खाइमा थिए। ललितपुर महानगरपालिका कार्यालयमा अपांगता भएकालाई परिचयपत्र वितरण कार्यक्रम भइरहेको थियो। १६ वर्षीय प्रितम उपस्थित मानिसहरूसँग गफिरहेका थिए। केही समयपछि मेयर आए। परिचपपत्र दिए। मेयरलाई स्यालुट हाने। प्रितम भन्दा पहिला १० वर्षका दिप्ताम्सु धितालले परिचयपत्र लिए। अटिजमका समस्या भएका उनी बेलाबेलामा चिच्याइरहन्थे। बाआमाले उनलाई थम्थम्याउँदै राखे।

छेवैको ह्विलचेयरमा बसेका थिए ३२ वर्षीय युवक किरण शिल्पकार। मस्कुलर डीस्ट्रोफिका कारण १५ वर्षदेखि शरीरका सम्पूर्ण भाग सुक्दै गएका छन्। खुट्टा चल्दैनन्। हात थोरै चल्छ। उक्त रोगको कुनै उपचार नभएको चिकित्सकले सुझाएको किरणले बताए। ‘थेरापी मात्र गर्छु, अलि सजिलो भए जस्तो लाग्छ’, उनले भने, ‘भाग्यमा यस्तै लेखेको रहेछ।’ बाआमा गुमाइसकेका उनी दिदी भिनाजुका साथ बस्दै आएका छन्। प्रितम, दिप्ताम्सु र किरण सबै जना ‘क’ वर्गका अपांगता भएका व्यक्ति हुन्।

‘क’ वर्गका अपांगता भएकालाई पूर्ण अशक्तमा वर्गीकरण गरिएको छ। उनीहरूका लागि सर्वोच्च अदालतले ३ हजार भत्ता दिनुपर्ने व्यवस्था ०६९ मा गरेको थियो। तर कार्यान्वयन भएको छैन। ‘क’ वर्गको परिचयपत्र पाएका लुभुका भोजराज श्रेष्ठले सरकारले अपांगता परिचयपत्र दिएर मात्रै दायित्व पुरा नहुने बताए।

‘तपाईं हिँड्ने बाटोमा हामी हिँडन सक्दैनौं। तर हामी हिँड्ने बाटोमा तपाईं हिँड्न सक्नुहुन्छ’, श्रेष्ठले भने, ‘भौतिक संरचनाले गर्दा हामीलाई ज्यादै असुविधा छ।’ उनको अगुवाइमा काठमाडौंका सात ठाउँमा अपांगमैत्री बस स्टेसन बनाउने अभियान चलेको थियो। तर सार्वजनिक सवारीले सेतो छडी बोक्नेलाई, ह्विलचेयरमा हिँड्नेलाई चढाउनै नमानेको अनुभव उनीसँग छ। जबसम्म नीति निर्माण तहमा अपांगता भएका पुग्दैनन् तबसम्म परिवर्तन नआउने उनको बुझाइ छ।

अपांगता भएकालाई ह्विलचेयर, बैशाखी, सेतो छडी, सुन्ने मेसिनलगायतका कम्तिमा २० थरिका सामान खरिद गर्दा पनि सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन्। चारपांग्रे स्कुटर खरिद गर्दा भने भन्सार छुट दिने गरिएको छ। ०६८ सालको जनगणना अनुसार पाँच लाख १३ हजार ३ सय २१ जना अपांगता भएका व्यक्ति छन्।

दुई वर्ष पहिलाको तथ्यांकमा महानगरपालिकामा तीन सय ८८ जना अपांगता भएका व्यक्ति छन्। अपांगता भएकालाई पाक्षिक रूपमा एकमुष्ठ पाँच हजार रुपैयाँ महानगरपालिकाले दिने निर्णय गरेको मेयर महर्जनले बताए। साताको एक दिन बिहीबार परिचपपत्र दिइनेछ। अपांगता भएकालाई नक्सा पास निःशुल्क, साझा बसमा निःशुल्क सेवा दिने र अपांगमैत्री तीनवटा ट््याक्सीको प्रबन्ध मिलाउने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.