किनारमा बास, वर्षभरि त्रास
जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका—९ स्थित सुन्दरपुरका भक्तबहादुर परियार तीन दिनदेखि निदाउन पाएका छैनन्। मुसलधारे वर्षापछि आउने भेलले रातुमा विलय गराउने हो कि भन्ने चिन्ताले वयावबृद्ध भक्तबहादुरलाई सताएको छ।
‘बगरमा बास छ, बगाउने हो कि भन्ने पिरलो छ’, उनले भने, ‘झरी प¥यो कि रातभरि जाग्राम बस्नुपर्छ। कतै खोला बस्तीमा पो आउँछ कि भन्ने पिरले हामी रातभरि सुत्दैनौं।’
बस्तीको दुवैतर्फ खोला छ। सामान्य झरी परे पनि चुरेबाट आउने पानीको भेलले कतिबेला डुबाउने भन्ने डर मनमा पसेको हुन्छ। उनले भने, ‘बनिबुँतो गरेर सम्पत्तिका नाममा आर्जेको झुप्रो घर र बालबच्चा बगाउँछ कि भन्ने चिन्ता छ।’ भक्तबहादुर मात्र हैन, सोही बस्तीका टोल सुधार समिति अध्यक्षसमेत रहेका कृष्ण परियार बादल लाग्यो कि तनावमा हुन्छन्। उनले भने, ‘गर्मीमा पानीको प्यास र वर्षामा त्रास छ। तर हाम्रो व्यथा कसैले सुनेन।’
बडहरी खोलाको बगरमा झन्डै ७० घरपरिवारको बसोबास छ। तीमध्ये अधिकांश दलित समुदाय छ। घरबार नभएका विपन्न परिवारका मानिस यहाँ ११ वर्षदेखि बस्दै आएका छन्। उनीहरु ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन्। सुन्दर बस्तीका मानिसका नाममा एक टुक्रा जग्गासमेत छैन। परियारले भने, ‘खोलामा बाढीको लहरले अधिकांश बालबालिकाको परीक्षासमेत छुटयो।’
बस्तीमा पानी पस्दा घर छोडी बालबच्चा लिएर पटकपटक डाँडामा जानुपरेको परियारले बताए। उनले भने, ‘रातभरि पानी प¥यो भने जाग्राम बस्नुपर्छ। खोलामा भेल आयो भयो भने कहिलेकाहीं पारि नै बस्नुपर्छ।’ सरकारलाई झुलुंगे पुलका लागि अनुनय गरे पनि सुनुवाइ नभएको उनले बताए।
स्थानीय ईश्वरदेवी महराले भनिन, ‘पाँच दिनसम्म हे भगवान् रक्षा गर भन्दै बिताएँ। मेरो घरै भएर पानीको भेल बग्छ, सबैभन्दा पहिले मेरै घर बगाउने त हैन भन्ने चिन्ता छ।’