राजधानी जोड्ने सडक बेहाल

राजधानी जोड्ने सडक बेहाल

मकवानपुर : प्रदेश ३ को राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौंसँग जोडने दुईवटा छोटो मार्ग बेवारिसे बनेको छन्। तीनवटा तहका सरकारले बाटो मर्मतमा चासो नदिँदा ६ दिन अघि गएको पहिरो पन्छाउने सुरु भएको छैन। पहिरो हटाउन नसक्दा कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक बिहीबारदेखि अवरुद्ध छ।

केन्द्रीय सरकार मातहत रहेको ती दुई सडक प्रदेश सरकार गठन भएपछि प्रदेश मातहत आएका थिए। प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक मर्मतको काम सुरु गर्न सकेको छैन।

सडक मर्मतको जिम्मा लिँदै आएको सडक डिभिजन कार्यालय हेटौंडाले आफ्नो सडक नभएको भन्दै मर्मत गर्नबाट पन्छिएको छ। ‘हाम्रो जिम्मामा रहेका सबै सडक सुचारू छन्। कुलेखानीबाट उताको सडक प्रदेश सरकारको हो’, डिभिजन प्रमुख सुमन योगेशले भने, ‘प्रदेशको जिम्मामा रहेको सडक हामीले मर्मत गर्न मिलेन।’

मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सडक डिभिजन कार्यालयले आफ्नो कार्यक्षेत्र नपर्ने भन्दै डोजर पठाउन नमान्दा तत्कालै काम गर्न नसकिएको बताए।

इन्द्रसरोबर गाउँपालिकाअन्तर्गत पर्ने दुबै सडक मर्मतका लागि गाउँपालिकाले आफ्नो क्षमता भन्दा बाहिरको काम भन्दै केन्द्र र प्रदेश सरकारसँग पहल गरिरहेको जनाएको छ। ‘गाउँपालिको एक वर्षको बजेट खर्च गर्दा पनि सडक मर्मत हुन सक्दैन। धेरै ठाउँमा क्षति भएको छ’, गाउँपालिका अध्यक्ष जीवन लामाले भने, ‘मुख्यमन्त्रीसँग पनि कुरा भएको छ। अब छिट्टै मर्मतको काम सुरु हुनेमा आवाशादी छौं।’

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झाले सडक मर्मतको काम तत्काल सुरु गर्न आफू मातहतको निकायलाई निर्देशन दिइसकेको बताए। ‘सडक विभाग र डिभिजनलाई तत्काल काम सुरु गर्न भनिसकेका छौं’, उनले भने, ‘प्राविधिकहरू फिल्डमा खटिसकेका छन्। अब काम सुरु हुन्छ।’

सडक नै भासिएपछि यातायात अवरुद्ध सिस्नेरी–दक्षिणकाली २६ किलोमिटर सडकमध्ये सिस्नेरीको ज्यामिरे बजारमा पहिरोले बढी क्षति गरेको छ। ‘ज्यामिरेमा ठूलो पहिरो गएको छ। अन्य दर्जन बढी अन्य ठाउँमा पहिरो गएको छ भने ३/४ ठाउँमा सडक नै भत्किएको छ’, गाउँपालिका अध्यक्ष लामाले भने, ‘सिस्नेरीतर्फको सडक सामान्य मर्मतबाट तत्कालै सुचारू हुन सक्ने अवस्था छैन।’

डिभिजन सडक कार्यालय काठमाडाैं २ टेकुले दक्षिणकालीदेखि कुलेखानीसम्म २६ किलोमिटर सडक १० मिटर फराकिलो बनाउने काम गरेको थियो। सडक फराकिलो बनाउने क्रममा खनिएको पहाड कमजोर बन्दा वर्षातको पानीले धेरै ठाउँमा पहिरो गएको स्थानीयको भनाइ छ। फाखेलतर्फको खण्डमा ४ ठाउँमा सडक नै भासिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिए। ‘सानो सानो पहिरो धेरै छ। स्याउलीबजार, राकस खोला, महालक्ष्मी खोला र हुमानेमा ठूलो पहिरो छ। तर पनि केही मर्मतको काम गर्ने हो भने एकातर्फी साना सवारी सञ्चालन गर्नसक्ने अवस्था छ’, उनले भने, ‘लक्ष्मी खोलामा सडक नै बगाएकाले त्यहाँ अलि बढी अप्ठयारो छ।’

स्थानीयको सक्रियतामा पहलमा फाखेलको पुरन्डिदेखि दक्षिणकालीसम्म भने सडक सुचारू गरिएको उनले जानकारी दिए। ती दुई सडक भएर दैनिक ६ सय टाटा सुमोसहित एक हजार भन्दा बढी सवारीसाधन काठमाडौ–हेटौंडा ओहरदोहर गर्छन्। हेटौँडादेखि कुलेखानीसम्म कुलेखानी जलविद्युत् आयोजनाले आफ्नो परियोजना निर्माणको लागि सडक बनाएको थियो। कुलेखानीदेखि सिस्नेरी हुँदै दक्षिणकाली र फाखेल हुँदै दक्षिणकालिसम्मको सडक स्थानीयवासीकै सक्रियतामा निर्माण भएको थियो।

हेटौंडा–कुलेखानी–सिस्नेरी काठमाडाैंको दुरी ८६ किलोमिटर छ। हेटौंडालाई काठमाडौंसँग जोडने त्रिभुवन रापजथ सुचारू भइसकेको छ। कान्तिलोकपथ मर्मत गरी सुचारू गर्न केही समय लाग्ने मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.