बझाङको उत्तरी भेगमा बल्ल पढाइ
बझाङ : बर्खे बिदाको तयारी भइरहेका बेला बझाङको उत्तरी भेगमा भने शैक्षिक सत्रको पढाइ भरखरै सुरु भएको छ । विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि बन्द भएका विद्यालयमा अहिले पढाइ सुरु भएको हो । जिल्लाको तल्लो भेगका विद्यालयले बर्खे बिदा गर्ने तयारी गरिरहेका बेला उत्तरी भेगका विद्यालयमा भने पढाइ थालिएको हो ।
उत्तरी भेगका ४४ वटा विद्यालयको पठ्न पाठन सुरु भएको छ । सुर्मा गाउँपालिकाको दौलिचौर माविमा असार १६ गतेबाट विद्यार्थीलाई पुस्तक बितरण गरेर पढाइ सुरु भएको बिद्यालयका शिक्षक अशोक बोहराले बताए ।
उनले कक्षा ३ देखि १२ कक्षा सम्मका अधिकांश विद्यार्थी बैशाखको पहिलो साताबाट यार्सा टिप्न लेकतिर गएकाले अहिले फिर्ता भएपछि बिद्यालय सुचारु गरेको बताए । बझाङको बुंगल नगरपालिका, दुर्गाथली गाउँपालिका, छबिसपाथीभेरा गाउँपालिका, सुर्मा गाउँपालिका, मष्टा गाउँपालिका, तल्कोट गाउँपालिका र साईपाल गाउँपालिकाका अधिकांश मानिस आफ्ना बालबालिकासहित हिमालतिर यार्सा टिप्न जाने गर्दछन् ।
हिमाली क्षेत्रमा बझाङ जिल्लाका झण्डै सातहजार विद्यार्थी यार्सा टिप्न हिमालतिर गएको तथ्यांक छ । दौलिचौर माविमा कक्षा सात पढ्ने रोसन बोहराले यसवर्ष एकसय पचास यार्सा टिपेको बताए । दौलिचौर माविका मात्र झण्डै पाँचसय विद्यार्थी यार्सा टिप्न लेक तिर गएका थिए । बझाङमा वार्षिक रुपमा ३ क्वीन्टल जति यार्सा संकलन हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस !