भैरहवामा सर्पदंशका घटना बढे
भैरहवा : वर्षा सुरु भएसँगै यहाँ सर्पदंशका घटना बढेका छन्। सर्पदंशका घटना बढेसँगै उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्यामा पनि ह्वात्तै बढेको छ।
गर्मीयाममा दैनिक ३÷४ वटा सर्पदंशका घटना आउने गरेपनि वर्षायाम सुरु भएपछि संख्या बढेर दैनिक करिब १० वटा पुगेको भैरहवास्थित भीम अस्पतालका चिकित्सक त्रिलोचन पन्थीले बताए।
सर्पदंशका घटना घट्ने गरेपनि उपचारका लागि अस्पताल आउने अधिकांश बिरामीलाई विष नभएको सर्पले डस्ने गरेको पाइएको उनले बताए। उनका अनुसार त्यस्ता बिरामीलाई पानी सर्पले डसेको हुन्छ।
'सर्पले डसेपछि मानिस आत्तिएर अस्पतालमा आउन्छन् तर अधिकांशलाई विष नभएको सर्पले डसेको हुन्छ,' उनले अन्नपूर्ण पोष्टसँग भने, 'अस्पतालमा आउने दशजना बिरामीमध्ये एक-दुई जना बिरामीलाई मात्र विषालु सर्पले डस्ने गरेको पाइएको छ।'
भैरहवा भीम अस्पतालमा कार्यरत डा. त्रिलोचन पन्थी।
अस्पतालका अनुसार सर्पका प्रजातिमध्ये यस क्षेत्रमा सबैभन्दा गोमन (कोब्रा) र करेत प्रजातिका विषालु सर्पले मानिसलाई डस्ने गरेका छन्। खाली खुट्टा हिँड्ने बालबालिका, बिहान खेतमा शौच गर्न जाने महिला र खेतामा हिड्ने, काम गर्ने पुरुषलाई सर्पले डस्ने गरेको घटनाले देखाएको छ।
अहिलेको समयमा अध्याँरोमा हिँडडुल गर्दा सजगता अपनाउनु पर्ने उनी बताउँछन्।
सर्पदंशबाट कसरी जोगिने, डसेपछि के गर्ने, के नगर्ने र देखिने लक्षण विषयमा उनले दिएको सुझाव यहाँ प्रस्तुत गरिएको छ।
-सर्पदंशबाट कसरी जोगिने ?
-रातिमा आवश्यक परे मात्र हिड्ने।
- घरवरीपरी झाडी लगायत सरसफाई गर्ने।
- ढुंगा, ईट्टा जस्ता वस्तु जम्मा गरेर घर वा घरवरीपरी नराख्ने।
-अध्याँरोमा हिड्दा लठ्ठी, टर्चलाइट, खुट्टामा लामो बुट लगाएर हिड्ने।
-सुरक्षित ठाउँमा सुत्ने।
-घर वा घरवरीपरी भएको प्वालहरु सावधानीपूर्वक बन्द गर्ने, लगायत।
सर्पले डसेपछि के गर्ने र के नगर्ने ?
- सर्पले डसेपछि सम्बन्धित व्यक्तिलाई नजिकको सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा पुर्याउने।
- गाउँघरमा रहेको भ्रमपूर्ण विधी जस्तै सर्पले डसेको स्थानमा धरिलो वस्तुले काट्ने, डोरीले कसेर बाँध्ने, मुखले चुसेर विष निकाल्ने प्रयास, घाउमा आफै औषधी, झारपात लगाउने जस्ता कुनैपनि कार्य नगर्ने।
- सर्पले डसेपछि कुनै किसिमको पेय पदार्थ वा खाद्य पदार्थ नखुवाउने।
- सर्पले डसेको स्थानको मासु नचलाउने।
- सर्पले डसेपछि नआत्तिने र नदौडिने।
- सर्पले डसेको प्राय व्यक्ति डराएको हुने हुदाँ सान्तवना दिने।
- डसेको सर्पलाई मार्नका लागि समात्ने प्रयास गर्नुहुदैन। किनभने यसलाई अर्को घटना पनि निमत्याउन सक्छ।
- ठूलो घाँस, पात, झाँडी भएको ठाउँमा हिड्नुहुदैन, लगायत।
विषालु सर्पले टोकेपछि देखिने लक्षण
-टोकेको ठाउँमा दुखाई हुन्छ।
-टाउकको, पेट दुख्ने, आखाँ लठ्ठ हुन्, दृष्टि कमजोर भई धमिलो देखिने।
-सर्पले टोकेको स्थानको छालामा रातो दाग देखिने। टोकेको स्थानमा सुन्निने।
-श्वाँस फेर्न असजिलो हुने।
-वाकवाकी हुने। हातखुट्टा झमझमाउने।
-स्वरमा परिवर्तन आउने।
-थुक निल्न गा्रहे हुने। चक्कर लाग्नेलगायत।
प्रतिक्रिया दिनुहोस !