नयाँ प्रशिक्षकको खोजीमा भारत र पाकिस्तान

नयाँ प्रशिक्षकको खोजीमा भारत र पाकिस्तान

मुम्बई : आफ्नो टोली हालै सम्पन्न विश्वकप क्रिकेटबाट रित्तो हात घर फर्किएपछि दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान क्रिकेट बोर्ड नयाँ प्रशिक्षकको खोजीमा जुटेका छन् । भारत र पाकिस्तान दुवैले राष्ट्रिय क्रिकेट टोलीमा नयाँ प्रशिक्षक नियुक्त गर्न लागेका हुन् । भारतीय टोली विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएको थियो ।

पाकिस्तानी टोली भने लिग चरणबाटै घर फर्किएको थियो । लिग चरणमा पाकिस्तानी टोली पाँचौं भएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले नयाँ प्रमुख प्रशिक्षकका लागि प्रस्ताव आह्वान गरिसकेको छ । भारतीय टोलीका वर्तमान प्रमुख प्रशिक्षक रवि शास्त्रीको पदावधि विश्वकपलगत्तै सकिएको थियो ।

त्यसपछि बीसीसीआईले ४५ दिनका लागि शास्त्रीको पदावधि थप गरेको छ । निकट भविष्यमा हुने भारतीय टोलीको वेस्ट इन्डिज भ्रमणपछि शास्त्रीको थप गरिएको पदावधि पनि समाप्त हुनेछ । वेस्ट इन्डिज भ्रमणका क्रममा भारतले आयोजक राष्ट्रसँग टेस्ट, एकदिवसीय र टीट्वेन्टी शृंखला खेल्ने कार्यक्रम छ ।

यसैगरी विश्वकपको समीक्षा र नयाँ प्रशिक्षकको खोजीका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को बैठक पनि छिट्टै बस्ने भएको छ । पीसीबीको बैठकमा राष्ट्रिय टोलीको कप्तानको विषयमा पनि निर्णय लिइने बताइएको छ । पीसीबीको बैठक यसै महिनाको अन्त्यमा बस्ने सम्भावना छ ।

पाकिस्तानी टोलीका वर्तमान प्रशिक्षक माइकी अर्थरलाई विश्वकपकै क्रममा उनको पदावधि नथपिने जानकारी गराइसकिएको पीसीबीका अधिकारीले जनाएका छन् । पीसीबीका अधिकारीहरू नयाँ प्रशिक्षकको खोजीमा छन् । पीसीबीले जिम्बाबेको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एन्डी फ्लावरलाई प्रशिक्षक बनाउन सक्ने सम्भावना पनि छ । फ्लावर इङ्ल्यान्डका पूर्वप्रमुख प्रशिक्षक पनि हुन् ।

पाकिस्तानमा देशभित्रैबाट नयाँ प्रशिक्षकको खोजी गरिनु पर्ने बहस पनि चलेको छ । ‘प्रशिक्षकका लागि एन्डी फ्लावरको नाम पनि चर्चामा छ । फ्लावरको क्षमताबाट हामी प्रभावित छौं । तर, देशभित्रैबाट नयाँ प्रशिक्षक खोजी गरिनुपर्ने माग पनि उत्तिकै चर्को रूपमा उठेको छ’, पीसीबीका एक अधिकारी भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.