कर्मवीर चिकित्सकको चिनारी
![कर्मवीर चिकित्सकको चिनारी](https://annapurnapost.prixacdn.net/media/albums/Binod-Sijapati-book-sahjak-gatha_20190720023518_g5om6mnbuY.jpg)
झन्डै पाँच दशक पहिलेको घटना हो, ठूलीआमा (आमाकी दिदी)लाई शूल भएर गाह्रो भएपछि वीर अस्पताल दगुराउनु पर्यो। त्यहाँ सुटेड बुटेड डाक्टर साहेब आउनुभयो। हामी परिवारका सदस्य सबैतर्फ फर्केर भन्नुभयो, ‘तपाईंहरूको काम छैन, ल बाहिर जानुस्।’
नर्सलाई सोधियो, ‘को हो यो चढेको डाक्टर ? ’
नर्सले भनिन्, ‘डाक्टर गंगोल भनेको उहाँ नै हो। भर्खर बाम्बेबाट सर्जन भएर आउनुभएको। उहाँको स्वभाव अत्यन्त कडा छ।’
बिरामी ढुकेका हामीसामु आएर डा. गंगोलले भन्नुभयो, ‘उहाँको पित्तमा पत्थरी छ। यो घातक पनि हुन सक्छ। तपाईंहरू मान्नुहुन्छ भने म भोलि टाइम मिलाएर अपरेसन गरिदिन्छु।’ सबैले टाउको हल्लाएर हुन्छ भन्यौं। भोलिपल्ट नै अपरेसन थिएटरमा ठूलीआमालाई राखेको तीनचार घण्टापछि डाक्टर साहेबले एउटा सानो सिसीमा ससाना ढुंगा देखाउँदै भन्नुभयो, ‘ल उहाँको पित्तभित्रका सम्पत्ति यिनै हुन्।’
उहाँको आदेश थियो, ‘उहाँलाई सातआठ दिनसम्म अस्पताल राख्नुपर्छ। एक जना कुरुवा आलोपालो गर्ने। त्योबाहेक अरू यहाँ पस्न पाइँदैन।’ त्यसपछिका दिनहरूमा बालविधवा ठूलीआमाले बाँचुन्जेलसम्म ‘डा गंगोल’ भनिरहनुभयो। सबैभन्दा जान्ने डाक्टर तथा आवश्यक परेको बेला घरायसी मामिलामा समेत सरसल्लाह गर्ने हितैषी मित्र हुनुहुन्थ्यो, उहाँ।
०००
३५/३६ वर्षपूर्वको घटना। मोटरसाइकल दुर्घटनामा परेर शिरमा चोट लागेका जेठान प्रद्युम्न विष्टलाई बेहोश अवस्थामा वीर अस्पताल पुर्याइयो। तीन दिनसम्म होश आएन। चौथो दिन बेलुका डा. गंगोलले बिरामी कुरुवाहरूमध्ये दुईजनालाई बोलाएर भन्नुभयो, ‘शिरको पछाडि भागमा रगत जमेको हुनाले निदारमा प्वाल पारेर रगत ‘डरेन’ गर्नु आवश्यक छ। के तपाईंहरू तयार हुनुहुन्छ ? ’ हामीले भन्यौ, ‘जे गर्दा राम्रो हुन्छ, गर्नुहोस्।’
त्यस्तै बेलुकी ९ बजेतिर जेठानलाई अपरेसन थिएटर लगियो। दुई घण्टापछि एक युवक डाक्टर अपरेसन थिएटरबाहिर आएर बिरामीको अवस्था सोचेभन्दा जटिल रहको र पूरै स्कल खोल्नुपर्ने बताए। बिहान ६ बजेतिर डा. गंगोल बाहिर आउनुभयो अनि हामीलाई भन्नुभयो, ‘केस अत्यन्त नाजुक छ। मैले गर्न सक्ने कोसिस गरेको छु। प्रार्थना गर्नुको विकल्प छैन।’ अपरेसन गरेको तेस्रो दिन जेठानको देहावसान भयो।
०००
मेरा जेठानको अप्रेसन असफल भएलगत्तै मित्र चिरञ्जीवी श्रेष्ठ (डा. गंगोलकी कान्छी सालीका पति)का पितालाई अति नै पेट दुखेपछि भरतपुरबाट दरभंगाको अस्पताल पुर्याइएछ। त्यहाँ उपचार नभएपछि उहाँलाई वीर अस्पताल ल्याइयो। डा. गंगोलले ‘एपेन्डिसाइटिस भएर पेरोन्टिस भइसकेको’ अनुमान गरेर तुरुन्त आकस्मिक अप्रेसन गर्नुपर्ने राय दिनुभयो। अप्रेसन आफंैले गरिदिने भन्नुभयो। सातआठ घण्टा लामो सर्जरीपछि डाक्टर साहेब बाहिर आएर साढुभाइ चिरञ्जीवीलाई अँगालो हाल्दै केही भनेर फटाफट अघि बढ्नुभयो। दुईतीन हप्ता अस्पतालमा बसेर चिरञ्जीवीका पिता सकुशल घर फर्कनुभयो। पेरोन्टिस भएर बाँच्ने विश्वमै अति थोरै व्यक्तिमध्ये उहाँ पनि एक हुनुभयो।
चार दशकभन्दा लामो मित्रताको कालखण्डमा मैले पहिलो पटक चिरञ्जीवीसँग केही लिएँ, पैसा तिरेर।
डा गंगोलको ‘एक सर्जनको गाथा’ पुस्तक पढ्दा आफूले भोगेका माथि उल्लिखित घटनाहरू एकपछि अर्को गरेर आए। पुस्तकमा अपरेसनका थुप्रै घटना उल्लेख गरिएको छ। कतिको त प्राविधिक वर्णनहरूसमेत गरिएका छन्। मैले भोगेका केसहरू डा. गंगोलका निमित्त केही सामान्य केस थिए होलान् तर मेरा निमित्त अत्यन्त महत्वपूर्ण।
डा. गंगोल वीर अस्पताल प्रवेश हँदाको प्रविधि, मानवीयलगायत प्राविधिक उपकरण तथा शल्यक्रियाका निमित्त उपलब्ध औजारहरूको अवस्था पुस्तकमा छर्लंग छ। उनले बिरामीको जीवनरक्षाका निमित्त गरेका थुप्रै सफल तथा असफल अपरेसनको वर्णन पुस्तकमा गरेका छन्। साधारणभन्दा साधारण उपकरण तथा औजारको अभावमा गरिएका शल्यक्रियाहरू समेटिएको पुस्तकमा डा. गंगोलले आफूले पुरुषार्थ गरेको भाव प्रकट गरेका छैनन्। जीवन रक्षाको प्रयासमा सफल हँदाको खुसीको भाव बुझिन्छ। अनि असफल हँदाको वेदना, बिरामीले गुमाएको जीवनप्रतिको दुःख, तिनको परिवारप्रति संवेदनशीलता सबै छर्लंगिन्छ। प्रत्येक बिरामी तथा आफूले गरेको शल्यक्रियाको सूक्ष्म मूल्यांकन गर्ने तथा त्यसबाट पाठ सिक्ने गरेको प्रस्ट हुन्छ। तिनले भएका गल्ती कमीकमजोरी लुकाएका छैनन्। अनि असफलता हात पर्दाका कारण आफूले खोज्ने गरेको पनि प्रस्ट हुन्छ। पुस्तकमा डा. गंगोलले प्रतिकूल अभावग्रस्त अवस्थामा आफूले अपरेसनहरू गरेको वर्णनका फेहरिस्त पस्केका छन् तर कतै पनि अरूलाई दोष लगाएका छैनन्।
न्युरो सर्जन भएर पनि आँखा, मुटु, पेट, हड्डी, हाइड्रोसिल आदि अपरेसन तिनले गरेको पढ्दा लाग्छ— कतै तिनी आत्मविश्वास चुलिएको महत्वाकांक्षी सर्जन त होइनन् ? तर त्यस कालखण्डमा मुलुकमा भएका सर्जनको संख्यालाई आत्मसात् गर्ने हो भने बिरामीलाई बचाउने अर्को विकल्प नभएको वास्तविकता खुल्छ। रोगको पहिचान गर्ने क्षमता तथा मानव शरीरभित्रका अंग, तिनको ज्ञान तथा निर्णय क्षमताजस्ता गुणले गर्दा मेरी ठूलीआमा तथा चिरञ्जीवीका बुवाजस्ता ‘आशा मारेका’ बिरामीहरूले नवजीवन पाए। त्यस्तो प्रयासमा मेरा जेठानजस्ता धेरै बिरामीको रक्षा गर्न डा. गंगोल सफल भएनन्। डाक्टर गंगोलले आफ्नो असफलताबाट पाठ सिकेर अन्य कति बिरामीलाई बचाए होलान् ? अनुमान गर्न सकिन्छ, किटान सम्भव छैन।
डा. गंगोलको पारिवारिक पृष्ठभूमि काठमाडौं-बुटवल-पाल्पा-काठमाडौं रहेछ। आवतजावत, विद्यार्थीकाल तथा ‘प्रोफेसनल’ जीवनलाई पुस्तकमा बिना कुनै बढाइचढाइ लेखिएको छ। राम्रा कुराको औधी बयान तथा नराम्रा पक्ष लुकाउने गरेको आभास पाइन्न। पुस्तकले त्यस कालखण्डमा जिम्मेवार व्यक्तिहरूको केही सीमितता वा निरीहतपनालाई पनि प्रतिविम्बित गर्छ। जस्तै— स्वास्थ्य विभागका महानिर्देशक तथा नाताका डा. रघुवीर वैद्य (डा. भरत वैद्य तथा ख्यातिप्राप्त बाग्मती संरक्षण आन्दोलनका प्रवर्तक हुतराम वैद्यका जेठा दाजु) जस्ता व्यक्तिले ब्रिटेनमा उच्च अध्ययन गर्न पठाउन आफूले नसक्ने तर बाम्बे सक्ने जस्ता भनाइहरूबाट त्यस कालखण्डको राजनीतिक अनुमान गर्ने आधार पाइन्छ।
पुस्तकले ‘कठोर स्वभावको डाक्टर’को लुकेका मानवीय पक्षहरूलाई पनि छरपस्ट पारेको छ। नित्य पूजापाठ, व्यायाम गर्ने डा. गंगोलको कलिलो मनको बयान तिनका बिरामीले गरेको पनि थाहा पाइन्छ। अनि मजस्ता बिरामी कुरुवाले भोगेको तिनको रूखोपनाका कारणहरूको स्वतः उजागर पनि हुन्छ पुस्तक पढेपछि। बिरामी भेट्न जाने हाम्रो सामाजिक परिवेश बिरामीको स्वास्थ्यप्रति कति हानिकारक हुनसक्छ, हामीले त्यसको अनुमान गरेका हँदैनांै।
डा. गंगोल आफू कुशल डाक्टर हँदाहुँदै पनि आफ्नो अनुपस्थितिमा नाबलक छोरी तथा परिवारका अन्य सदस्यहरूको असामयिक मृत्युले तड्पिन्छन्, पछुताउँछन्— सायद म भएको भए उनीहरू जीवित हुन्थे भनेर। उनी पनि साथीहरूको माझमा रमाउँछन्। दुई चार पेग लगाउने, सिकार खल्ने डाक्टर साहेबले पेटको बिरामी भएपछि रक्सी पिउन छाडेका रहेछन्। जतिसुकै सफल सर्जन भए पनि तिनलाई पनि रोग लाग्दो रहेछ, तिनको पनि अप्रेसन गर्नुपर्दो रहेछ।
वीर अस्पतालमा तिनको विरोधमा गराइएको घटनाले तिनलाई कति मर्माहत तुल्यायो होला, अनुमान गर्न सकिन्छ। पेसागत इमानदारीमा काहिल्यै सम्झौता नगर्ने कर्तव्यनिष्ठ व्यक्ति बिनाकारण अपहेलित हुनुपर्दा कसको मन दुख्दैन होला ? परिवारको उन्नतिबाट गौरवान्वित उनी आफ्ना चेलाहरूले गरेको उन्नतिबाट अत्यन्त हर्षित छन्। तिनको चरित्रको अचम्मको पाटो भनेको पुस्तकमा उनले कतै पनि कुण्ठाभाव प्रकट गरेका छैनन्।
गोस्ट लेखकको प्रयोगको उल्लेखले भने पुस्तकलाई अलि खल्लो बनाएको छ। डा गंगोलका भनाइहरूको प्रस्तुतिमा के कति काटछाँट भए होलान् ? जस्ता आशंका पाठकको मनमा परिरहन्छ।
पुस्तकको अन्तिम पृष्ठमा बिक्रीबाट हुने रकमको सदुपयोग काठमाडौंमा बन्दै गरेको ‘हसिपस नेपाल’ अर्थात् अन्तिम अवस्थाका बिरामीलाई सहज अवस्थामा बस्ने सुविधासम्पन्न स्थानका निमित्त जाने उल्लेख गरिएको छ। पुस्तक खरिद गरेर पढ्दा डा. गंगोलको व्यक्तित्वको पहिचान तथा तिनले गरेका अपरेसनसम्बन्धी ज्ञान हासिल हुन्छ। सँगसँगै त्यो रकम पुनीत कार्यमा खर्च हुने भएकाले उपकार गरेको अनुभूति अवश्य हुन्छ।
अन्त्यमा, मैले पहिलो पटक चिरञ्जीवीलाई पैसा तिरेँ। चार दशकभन्दा लामो मित्रताको कालखण्डमा प्रथम पटक कुनै कुरा लिएर पैसा तिरेँ मैले।
@binsija
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)