समलिंगी संवेदना

समलिंगी संवेदना

साहित्य समाजको ऐना हो भनिन्छ। यसका विविध पाटालाई विषयवस्तु बनाएर धेरैले साहित्य सिर्जना गरेका छन्। यति हुँदाहुँदै पनि अझै केही सामाजिक पाटाहरू साहित्यमा उघ्रन बाँकी नै छन्। कताकति सूक्ष्म रूपमा कुनै कुनै कृतिमा यस्ता नउघारिएका पाटाहरूको चर्चा भए पनि सिंगो कृतिका रूपमा समाजको ओझेल पाटोलाई पाठकसामु ल्याउनु कम साहसको कुरा होइन र कम चुनौतीको विषय पनि होइन। यस्तै साहस र चुनौतीलाई तर्कना शर्माले सार्थक तुल्याएकी छन्।

उनले आख्यान कृतिका रूपमा ‘जेबाक्रस’ उपन्यास बजारमा ल्याएकी छन्। हाम्रो समाजमा समलिंगी समुदायलाई जिज्ञासा र रहस्यले भरिएको व्यक्तिका रूपमा लिइन्छ। यही समलिंगी पात्रलाई उपन्यासमा प्रमुख पात्रका रूपमा उभ्याइएको छ। दुई सय त्रिचालीस पृष्ठसम्म फैलिएको यस उपन्यासको परिवेश स्याङ्जा, पोखरा र काठमाडौं रहेको छ। उपन्यास पढ्दा यसको प्रथम पृष्ठबाटै पाठकलाई रहस्यमय तरिकाले तान्दै तान्दै लगिरहेको हुन्छ। पुरुष पात्र भनिएको विराज र महिला पात्रकी रूपमा आएकी ‘म’ पात्रको बिहेपछि पनि एउटै ओछ्यानमा रात बित्दैन। पुरुष पात्र ओछ्यानको कुनापट्टि फर्केर सुत्छ। तुरुन्तै आफ्नो कमजोरी देखाउन पनि ऊ सक्दैन।

उल्टो आफ्नी श्रीमती लाउन नजान्ने, खान नजान्ने र बोल्न नजान्ने आदि अनेक प्रकारका आक्षेप लगाउँदै आफूले अंग्रेजी साहित्य पढेको तर ‘म’ पात्रले नेपाली विषय पढेको भनेर होच्याउँछ। उसले समाजमा पुरुषभन्दा नारी कमजोर छन् भन्ने कुरालाई अनेक दृष्टान्त दिएर आफ्नो पुरुषत्व देखाउँदै जान्छ। आफ्नो कमजोरी छोप्न उसले गरेको नाटकलाई ‘म’ पात्रले मूल्यांकन गरिरहेकी हुन्छे।

विराजले आफ्नो पतिधर्म निभाउन नसक्नुको स्पष्ट कारण के हो भनेर उपन्यासका हरेक शब्द बडो सावधान बनेर पाठक पढिरहन्छ। अन्ततः एक सय साठी पृष्ठमा पुगेपछि बल्ल जिज्ञासाको अन्त्य हुन्छ। म पात्रसँग अनेक परीक्षा लिएपछि बल्ल कतिपय प्रश्नको सही उत्तर ठीक नभएको भन्दै आफू समलिंगी गे भएको कुरा व्यक्त गर्छ।

आफू समलिंगी भएको थाहा पाउँदापाउँदै पनि ऊ गाउँकी सोझी केटीलाई फसाउन गाउँ पुग्छ र गरिबीको फाइदा उठाएर बिहे गर्छ। एउटी नारीको जीवन बर्बाद बनाएकामा उसलाई रत्तिभर पनि पश्चात्ताप हुँदैन बरु आफ्नो साथी राजकुमारसँग यौन सम्पर्क गरेर बच्चा जन्माउन ‘म’ पात्रलाई दबाब दिन्छ।

‘म’ पात्र अत्यन्त निडर, जुझारु र साहसी भएकै कारण उसको योजनाले कुनै मूर्त रूप लिँदैन। जीवनभर आफू एक्लै बाँच्न सक्ने अदम्य साहस भएको कुरा ‘म’ पात्रले व्यक्त गर्छे र ऊसँग अलग्गिने प्रयास गर्छे। उसको यो निर्णयलाई सफल हुन नदिन विराजले अनेक प्रयत्न गर्छ। नारीहरू कमजोर हुन्छन्, आफूलाई परेको अन्यायविरुद्ध केही गर्न सक्दैनन् भनेर अत्यन्त हलुकासँग विराजले लिएको देखिन्छ। समाज, इज्जत र परिवारका अगाडि शिर ठाडो पार्न पनि पतिको आदेश उल्लंघन गर्न सक्दैनन् भन्ने उसको भ्रम रहेको हुन्छ। ‘अब मसँग धेरै बोलेर केही फाइदा छैन, जीवनमा सम्झौता गर्न सिक। तिमीले जतिसुकै बकवास गरे पनि कसैले तिमीलाई कुमारी छे अब भन्दैन।’ (पृष्ठ १६७)

बिहे नभइन्जेल ‘म’ पात्रलाई फकाउन अनेक प्रयत्न गरेको देखिन्छ।

गाउँमा रातिराति सँगै हिँडेको हल्ला फिँजाएर यी दुई पात्रका बीचमा प्रेमसम्बन्ध छ भन्ने भान गराएर अप्रत्यक्ष रूपमा ‘म’ पात्रलाई इमोसनल ब्ल्याकमेल गरेको देखिन्छ। बिहेपछि उसले गरेको अत्याचारलाई पत्नी धर्म मानेर नारीले सहनुपर्ने पितृसत्तात्मक सोचविरुद्ध ‘म’ पात्रले विद्रोह गरेकी छ। अत्यन्त शिष्ट भाषामा उसले आफ्नो पतिलाई सम्झाउँछे, समाजमा पुरुषले जे गरे पनि हुने तर महिलाले भने केही गर्न नहुने है भनेर उसले प्रश्नमाथि प्रश्न गरेकी छे। तिनको चित्तबुझ्दो उत्तर विराजले दिन सक्दैन।

सट्टामा समाजका कुरीति र कुसंस्कारका अनेक डर देखाएर आफूसँगै बस्न अनुनय-विनय गर्छ। तर ‘म’ पात्र आफ्ना विचारमा हिमालझैं अडिग बनेकी छ। महिलाहरू कुनै हालतमा पनि कमजोर छैनन्, जीवन जिउनैका लागि भनेर पुरुषको दमन र शोषणलाई सहेर बस्नुपर्छ भन्ने पुरुषको कमजोरी मात्र हो भन्दै ऊसँग कुनै हालतमा सँगै बस्न नसकिने कुरा उसले गर्छे।

‘हामी प्रकृति नै नमिलेका मान्छे कसरी साथमा बस्नु ? म तिम्रो साथमा खुसी हुने प्रयास गर्न सकूँली। मसँग बसेर तिमी सधैं दुःखी रहन्छौ।’ यसो भन्दै विराजका सामु म पात्रले धेरै सम्झाइबुझाइ गरेकी छ। यति हुँदाहुँदै पनि विराजले ऊसँग नछुट्टिन अनेक प्रयास गरेको छ। समाजमा आफ्नो पोल नखुलोस् र सन्तानको पितासमेत हुँ भन्नका लागि आफ्नी पत्नीलाई परपुरुषसँग सम्बन्ध राख्न बाध्य पार्ने विराजलाई अन्ततः म पात्रले अनेक संघर्षमार्फत कानुनी रूपबाटै छाडेकी छ। विराजलाई आफ्नो जीवनबाट हटाए पनि समलिंगी समूहकै हितमा संस्था स्थापना गरेर महान् कार्य गरेकी छ।

नेपाली आख्यान-जगत्मा बिल्कुलै नौलो स्वाद लिएर आएको यो कृति अत्यन्त पठनीय छ। राष्ट्र, समाज र परिवारबाटै अन्यायमा परेका समलिंगीहरूको हितमा लेखिएको यस उपन्यासले साहित्य जगत्मा नयाँ आयाम थपेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.