नराश अभिव्यक्ति

नराश अभिव्यक्ति

पचास वर्षसम्म निरन्तर प्रकाशन भइरहेको दुईमहिने साहित्यिक पत्रिका ‘अभिव्यक्ति’को २००औं अंक प्रकाशनपछि यसका सम्पादक तथा प्रकाशक नगेन्द्रराज शर्मा (नराश) ले वि श्राम लिन खोजेको संकेत गरेका छन्। ५० वर्षसम्म आर्थिक लाभ नहुने काम गर्नु चानचुने साहस, चानचुने प्रतिबद्धता र चानचुने आँटले सम्भव हुने कुरा होइन। अभिव्यक्तिको प्रकाशनले उनले आर्थिक उपार्जन गर्न सक्ने अवसर गुमाए, लेखनमा लाग्ने समय गुमाए तर नेपालको कुनाकुनासम्म पनि आफूलाई परिचित बनाए, आफन्त कमाए, शुभचिन्तक कमाए। मान्छेहरू अवकाशपछि समय बिताउन कष्ट भएको महसुस गर्छन्। तर उनले अभिव्यक्तिलाई सुखद रूपमा समय कटाउने मित्रका रूपमा अपनाए।

नराशको उपन्यासकार व्यक्तित्व थियो। उनका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास प्रकाशित थिए। नराशको कथाकार व्यक्तित्व थियो। उनका ‘पीपलको बोटमुनि’ तथा ‘एकान्तका आफन्त’ कथासंग्रह प्रकाशित थिए। उनका कृति रत्न पुस्तक भण्डार तथा साझा प्रकाशनबाट छापिएमा छन्। ती कृति रहर वा लहडले लेखिएका किंवा प्रकाशित भएका थिएनन्। तर अभिव्यक्तिको निरन्तर सम्पादन प्रकाशनमा रमाउन थालेपछि उनी लेखनबाट क्रमशः विमुख हुँदै गए।

५० वर्षअघि २०२६ सालमा पहिलो अंकको सम्पादकीयमा उनले लेखेका थिए, ‘पत्रपत्रिकाहरूको छेलोखेलोमा एउटा अर्काे पत्रिका थपिएको छ। तर भोकभोकै बसेर साहित्यको सेवा वा ललनी गाएर वाङ्मयको श्रीवृद्धि गर्न यो अवश्य पनि तम्सिएको होइन। अतः जसरी लेखनलाई एक किसिमको रहर वा सनक वा तुष्टि भन्न सकिन्छ- ‘अभिव्यक्ति’लाई पनि त्यसै मात्र भन्दा वेश होला।’

तर आफैंले लेखेको कुरालाई समयको क्रममा उनले आफैंले असत्य साबित गरिदिए। ‘अभिव्यक्ति’ रहरको रूपमा रहेन। सनकको रूपमा रहेन। तुष्टिको रूपमा रहेन। यो त प्रतिबद्धताको रूपमा देखियो। निरन्तरताको एक कडीका रूपमा देखियो। मेची महाकालीमा मात्र सीमित नरही नेपालीभाषी संसारमा प्रस्टसँग उभिएको देखियो। चौतारी बनेर नयाँ पुराना साहित्यकारलाई छहारी दिएको देखियो।

कुनै बेला नेपाली साहित्यको तीर्थस्थल थियो नयाँ सडकको पीपलबोट। अनि त्यो पीपलबोटमुनि साँझपख देशका राजनीतिज्ञ, पत्रकार, साहित्यकार, सीआईडीहरू जम्मा हुन्थे र गजबको नेटवर्किङ हुन्थ्यो। ‘अभिव्यक्ति’ निस्कनेबित्तिकै तात्तातो पत्रिका, भर्खरै कटिङ गरिएको र बाइन्डिङको माड पनि आलै लिएर नराश आइपुग्थे र निःशुल्क वितरण गर्थे परिचित साहित्यकारहरूलाई। त्यो एउटा आदतका रूपमा विकास भयो। त्यो आदतले दिने आनन्दले नै अभिव्यक्तिलाई जीवन्त बनाउन नराशलाई ऊर्जा मिल्थ्यो। पीपलबोटमुनि उभिने क्रम मोतीमहल रेस्टुराँमा सर्‍यो। फोटो कन्सर्नको पारिपट्टि रहेको मोतीमहल रेस्टुँरा चलुन्जेल ‘अभिव्यक्ति’ त्यहीँ वितरण हुन्थ्यो। प्रत्येक नयाँ अंक उत्सुकतावश प्रतीक्षा गर्ने बानी परेको थियो साहित्यकारहरूलाई। त्यतिखेर उत्कर्षमा रहेका मधुपर्क, रूपरेखामा सबैले स्थान पाउन सहज थिएन। तर अभिव्यक्तिले सबैलाई ठाउँ दिएर आफ्नै ठाउँ बनायो। चिनेका, नचिनेका, देखेका नदेखेका, नजिकका, टाढाका सबैले अभिव्यक्तिमा ठाउँ पाए।

अभिव्यक्तिको एउटा रोचक आकर्षण, अन्य आकर्षणका अतिरिक्त के थियो भने, त्यहाँ साहित्यिक ठट्टाहरू छापिन्थे। भएकै प्रसंगलाई प्रस्तुत गरिने हुनाले जो ठट्टाको पात्र हुन्थे, उनीहरू पनि दंग, पाठकहरू पनि दंग। चारैतिरबाट स्तम्भमा छापिने ठट्टा सदाबहार आकर्षण बनी नै रहेको छ आजपर्यन्त।

अभिव्यक्तिको पहिलो अंकका लागि रचना माग्दा पारिजातले आफ्नो डायरीको अंश सारेर लैजान र प्रकाशित गर्न दिएको अनुभव छ नराशसँग। शंकर लामिछानेले कस्तो कुन विषयको रचना चाहिने हो, सोअनुसार त्यसको मोल तोकेको र छुट मूल्यमा रचना किनेर छापेको अनुभव पनि छ। त्यस्तै रचना माग्दा मोहन कोइरालाले पारि श्रमिकको कुरा उठाउँदा दोस्रो अंकदेखि पारि श्रमिकको व्यवस्था गरिने उनको कुरा सुनेपछि दोस्रो अंकका लागि रचना लिन आउनुहोला भनेपछि कहिल्यै रचना नमागेको अनुभव पनि छ। रचनाको ५० वर्षको प्रकाशन इतिहासमा विरलै लेखकका रचना नछापिएका होलान् अभिव्यक्तिमा। नाम चलेका नचलेका सबैका प्रकाशित भए। तर मोहन कोइराला भने अपवाद नै भए।

लेख रचनाको पारि श्रमिकको विषयमा नराशले आफ्नै मापदण्ड वा नियम बनाए। अभिव्यक्तिको अनुरोधमा लेखिएका र प्रकाशित रचनाको पारि श्रमिक दिने, अन्यको नदिने। उनको भनाइ यस्तो रह्यो, आफूले नरुचाएका वा आफूले नमागेका रचनाको पारि श्रमिक किन दिने ? पचास वर्ष यही मापदण्डले नै निरन्तरता पायो। नयाँ पुराना सबैले अभिव्यक्तिमा रचना दिइरहे। मागेका केही रचना पनि प्रकाशित भए। तर मागिरहनुपर्ने परिस्थिति खासै रहेन, पाइरहने परिस्थिति भने सधैं भइरह्यो।

अभिव्यक्ति कहिलेसम्म प्रकाशित भइरहन्छ भन्ने साथीसंगातीको जिज्ञासा हुन्थ्यो। फाइदामा नचलेको पत्रिका घाटामा कति चल्ला भन्ने चिन्तालाई उनले सधैं उडाइरहे। उनी हल्कासँग बताउँथे, मन लागुन्जेल प्रकाशित गरिरहन्छु। कुनै करकाप छैन।

५० वर्षअघि अभिव्यक्तिको पहिलो अंकका लागि रचना माग्दा पारिजातले आफ्नो डायरीको अंश सारेर लैजान भनेको अनुभव छ, नराशसँग। शंकर लामिछानेले कस्तो, कुन विषयको रचना चाहिने हो, सोअनुसार त्यसको मोल तोकेको र छुट मूल्यमा रचना किनेर छापेको अनुभव पनि छ, नराशसँग।

कुनै बेला कुनै अन्तर्वार्तामा नराशले भनेका रहेछन्, १०० अंकसम्म त पक्कै निकाल्छु। उनको यो भनाइलाई विभिन्न मान्छेले विभिन्न अर्थ लगाए। अभिव्यक्ति १०० अंकसम्म पक्कै निस्कन्छ। कतिले यस्तो अर्थ पनि लगाए, १०० अंक प्रकाशित भएपछि अभिव्यक्ति बन्द हुन्छ। यसै विषयलाई लिएर नराशले १००औं अंकको सम्पादकीय नै लेख्नु पर्‍यो ः

‘कुनै दिन अन्तर्वार्तामा भनेको थिएँ- सय अंकसम्म त पुर्‍याउँछु, त्यसपछिको कुरा भन्न सक्दिनँ भनेर। सय अंक त पुग्यो तर मेरो उत्साह र जाँगरमा अझै कुनै कमी आएको छैन। पूर्णांक १०१ को तयारीमा जुटेको छु।’

तर दुखद संयोग, १०० अंकको प्रकाशनको सिलसिला चल्दै गर्दा उनलाई हृदयाघात भयो। दुई हप्ता आईसीयूमा बस्नुपर्‍यो शिक्षण अस्पतालमा। तर उनको अस्वस्थता पनि अभिव्यक्ति प्रकाशनका लागि बाधक भएन। निरन्तर प्रकाशन भई नै रह्यो।

अभिव्यक्ति साहित्यिक पत्रिका। साहित्यकारहरूसँग निकटतम बसउठ त सामान्य नै भयो। खानपान अथवा मदिरापान पनि साहित्यकारहरूको रुचिको विषय नै भयो। अभिव्यक्ति पत्रिकाकै अगुवाइमा गौशालाको कार्की किचेनमा मासिक जमघटको आयोजना सुरु भयो। आफैं मगाउने, खाने, पिउने अनि आफूले खाएको आआफूले नै तिर्ने। यो मासिक भेटघाट अहिले नारायणगोपाल चोक महाराजगञ्ज पुगेको छ, ग्रिन पार्क रेस्टुरेन्टमा। त्यहाँ एउटा कटेजको ढोकामाथि रेस्टुराँले नै अभिव्यक्ति जमघटको ब्यानर नै टाँगिदिएको छ। त्यहीँ अनौपचारिक साहित्यिक छलफल, भेटघाट अनि पुस्तक-पत्रिका विमोचन पनि अनौपचारिक ढंगले नै सम्पन्न हुने गरेको छ। प्रत्येक महिनाको पहिलो बिहीबार एक दर्जनदेखि दुई दर्जन साहित्यकार स्वतःस्फूर्त सामेल हुन्छन्, अभिव्यक्ति जमघटमा।

अब अभिव्यक्तिले ५०औं वर्षमा पाइला टेक्यो र पुग्यो २०० अंक। २००औं अंक ४०० पृष्ठको छ तर विशेषांक भनिएको छैन। नराश यसलाई विशेषांक भन्न रुचाउँदैनन्। यो उनको मौलिक शैली हो। हुन पनि २०० अंकको इतिहासमा उनले हरिभक्त स्मृति अंक, जगदीश घिमिरे स्मृति अंक जस्ता सामान्यभन्दा फरक अंक प्रकाशित गरे पनि विशेषांक भने एउटै पनि निकालेनन्।

२०० अंकमा उनले पहिलो अंकदेखि १९९ अंकसम्म प्रकाशित रचनाहरूमध्येबाट चयन गरेर पुनः प्रकाशित गरेका छन्। एक प्रकारले यो आफ्नो प्रकाशन इतिहासको पुनरवलोकन हो। रचना चयनको विषयमा पनि उनले प्रस्टसँग सम्पादकीयमा यसरी खुलाएका छन्-

‘मैले साना रचनालाई प्राथमिकता दिएँ- मुक्तक, गीत, गजल, छोटा कविता अनि अन्य सामग्री पनि सकभर ससानै खोजेँ। केही राम्रा रोजेँ, केही हाम्रा पनि रोजेँ, अनि केही बीचबीचबाट अर्थात् र्‍यान्डम स्याम्प्लिङका आधारमा पनि छानेँ। यसरी साबिकभन्दा निकै मोटो त बनाएँ। तर पनि सन्तुष्ट हुन सकिनँ किनभने यहाँ छुट्न नहुने धेरै स्रष्टा अझै छुटेका छन्।’

२००औं अंकमा १०९ स्रष्टाका कविता, गीत, गजल, मुक्तकलगायतका काव्य रचना छन्। २३ स्रष्टाका कथा-लघुकथा छन्। १७ लेख निबन्ध संस्मरण छन्। त्यस्तै पर्यावलोकन, हास्यव्यंग्य, साभार, जमघटहरूबाट, पुरानो पातो एवं अन्तर्वार्ता रहेका छन्। ६ वटा सम्पादकीय पनि छन् जसमा पहिलो सम्पादकीय देखि १९९औं अंकको सम्पादकीय पनि समाविष्ट छ। त्यस्तै ३६ जनाको मन्तव्य, शुभकामनासमेत छ।

उनले केही वर्षपहिले अभिव्यक्तिको स्थायित्वका लागि ‘अभिव्यक्ति अक्षय कोष’ स्थापना गरेका थिए। त्यसअघि अभिव्यक्तिका विशिष्ट सदस्यहरूको प्रावधान थियो र हितैषीहरू सदस्य बनेका थिए, तर २००औं अंकमा ‘अचेल विशिष्ट सदस्य बनाउने व्यवस्था छैन’ भनेर सो प्रावधान हटाइएको जनाइएको छ। नराशले ‘अभिव्यक्ति अक्षय कोष’को रकमबाट आउने ब्याज र भइरहेको नियमित विज्ञापनबाट पत्रिका निरन्तर प्रकाशन भइरहने अपेक्षा राखेका छन् र यो २००औं अंकको सम्पादकीयमा उनले सम्पादन प्रकाशनको कर्मबाट अवकाश लिने संकेत यसरी गरेका छन् :

‘म बयासी वर्ष लागिसकेँ। अब मैले अभिव्यक्ति सञ्चालनको कामबाट अवकाश लिने बेला भएको छ। र मेरो अवकाशपछि अभिव्यक्ति चलाउने कसले भन्नेतर्फ पनि सोच्नु परेको छ।’

यी पंक्तिहरू लेखिरहँदा मेरा हातमा दुईवटा अमेरिकी साहित्यिक पत्रिका छन्। एउटा हो, पोयट्री अर्थात् कविता। यो पत्रिका सन् १९१२ मा सिकागोकी कवयित्री हेरियट मुनरोले सुरुआत गरेकी थिइन्। उनको ७५ वर्षको उमेरमा पेरुमा देहान्त भयो। तर यो पत्रिका आजपर्यन्त नियमित प्रकाशन भइरहेको छ पोयट्री फाउन्डेसनबाट। यसको प्रत्येक अंकको कभर पृष्ठमा सन् १९१२ मा हेरियट मुनरोद्वारा स्थापित लेखिएको हुन्छ।

मेरो हातमा भएको दोस्रो पत्रिका हो, ‘टिन हाउस’। यो पत्रिका सन् १९९९ मा स्थापना भएको थियो। २० वर्षमा त्रैमासिक रूपमा कुल ८० अंक निस्केपछि ८०औं अंकलाई ‘अन्तिम अंक’घोषित गरिएको छ। अनि यस अंकमा विगतका अंकहरूमा प्रकाशित रचनाहरूको चयन प्रकाशित रहेको छ। मैले यी दुई पत्रिकाको दृष्टान्त दिनुको कारण एउटा पत्रिका जन्मेपछि समयको क्रममा बन्द हुन सक्छ वा अरू कोही व्यक्ति वा संस्थाले निरन्तरता दिन सक्छ भन्नका लागि हो। नराशले ‘अभिव्यक्ति’को प्रकाशन निरन्तर होस् भन्ने चाहना राखेका छन् र निरन्तरताका लागि वातावरण र व्यवस्था पनि गरेका छन्।

अभिव्यक्ति ५० वर्षसम्म एकल सम्पादन प्रकाशनमा निस्केको देखिए पनि एउटा वर्ष भने अपवाद रह्यो। एक वर्ष भने कवि हरिभक्त कटुवालको सम्पादनमा निस्केको थियो। तर एउटा ज्वलन्त प्रश्न भने छ, ५० वर्षसम्म झिँजो नमानी सधैं उत्साहसाथ नियमित सम्पादन कार्य गरिरहेको ‘अभिव्यक्ति’को सम्पादन कर्मबाट आफ्नो जीवनकालमा कति टाढा रहन सक्ने हुन् नराश। यसको उत्तर आउँदा दिनहरूले दिनेछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.