स्वतन्त्र नेपालमै बलियो मित्रता

स्वतन्त्र नेपालमै बलियो मित्रता


नेपाललाई दुवै छिमेकीले शान्त देश मान्नुपर्छ। हाम्रो राजनीतिक मान्यता पनि यसै अनुकूल हुनुपर्छ।


कम्युनिस्टहरूको राजनीतिक दलले दुईतिहाइ ल्याउँछ भन्ने कसैले सोचेका थिएनन्। सरकारको नेतृत्व तिनै राजा नमान्नेहरूले गर्छन् भन्नेमा पनि कसैलाई विश्वास थिएन । जो सरकारमा आए हतियार उठाउनेहरू नै आए । राजतन्त्र नमान्नेहरू आए । संविधान बनाउनेमा उनीहरू नै थिए । उनीहरूकै अनुकूल संविधान बन्यो । उनीहरू आफूलाई बढी राष्ट्रवादी भन्छन् र उत्तरको छिमेकतिर बढी झुकाव राख्छन्। जबकि हाम्रो सम्बन्ध उत्तरभन्दा दक्षिण छिमेकीतिर बढी छ । हाम्रो आर्थिक सम्बन्ध पनि भारतीय सहसम्बन्ध भएका मान्छेसँग नै बढी छ । नेपालका औद्योगिक, बैंकिङ, व्यापारिकलगायतका क्षेत्रमा लगानीकर्ताको संख्या हेर्दा पनि यो कुरा अझ प्रस्ट हुन्छ ।

त्यसैगरी दक्षिण सीमातिर सबै खुला छ । कतै पर्खाल छैन । सीमावारि र सीमापारि दुवैतिरका मानिस सहज रूपमा ओहोरदोहोर गर्न सक्छन्। दक्षिण सीमापारि जानुपर्‍यो भने हिँडे भइहाल्छ । केही सोच्नु पर्दैन । व्यवहारका कारणले कहिलेकाहीं तलमाथि भए पनि त्यसले द्विपक्षीय सम्बन्धमा केही फरक पार्दैन ।

उत्तरी सीमातिर हेर्ने हो भने त्यो अवस्था छैन । उत्तरी सीमामा हिमाल उभिएको छ । हिमाल नाघेर आउजाउ गर्न पहिलेभन्दा सहज गर्न सकिएला, तर धेरै बन्देज यथावत् रहनेछ । अर्को कुरा, उत्तरी नाकाबाट कति मान्छे आउँछन् त ? सामान पनि कति नै आवतजावत हुन्छ र ? नियमित रूपमा नाकाहरू खुलेका छैनन्। केही न केही कमजोरी या खोट देखाएर या आश्वासन दिएर तातोपानी नाका खोल्न उसले अहिले पनि मानेको छैन ।

उत्तर र दक्षिण दुवै छिमेकी हुन् तर एउटै होइनन् र मित्रता पनि बराबरी छैन । यस अवस्थामा हामीले उत्तरतिर हेरेर फूर्ति देखाउनु हुँदैन । करोडौं रुपैयाँको व्यापार हुने ठाउँ र अर्बौं रुपैयाँको व्यापार हुने ठाउँको बीचमा तुलना गर्नु हुँदैन ।

उत्तरमा हिमाल नभएको भए नेपाल हरियो हुने थिएन । हिमालले नै हामीलाई हरियो बनाइराखेको छ । तिब्बतको चिसो हावा यहाँ आउन पाएको भए हाम्रो भूमि पनि पठार हुने थियो । दक्षिणको मौसमी हावा हिमालमा नठोक्किई तिब्बततिर बग्न पाए यहाँ पानी नै पर्दैन । उत्तरतिरको हावा मात्र होइन, पानी पनि दक्षिणतिर नै बगेको छ । तिब्बतबाट समेत खोला मिसिएर कर्णाली, गण्डकी र कोसीहरू सबै दक्षिणतिरै बगेका छन्। प्रकृतिले पनि हामीलाई दक्षिणमुखी नै बनाएको छ ।

गिरिजाप्रसाद मरेपछि चर्चामा उनै प्रचण्ड छन्। उनको प्रवृत्ति व्यक्तिवादी छ। मलाई शंका छ– भोलिका दिन यी दुईको झगडा भयो भने मुलुकले दुःख पाउने पो हो कि ?

पहिलो कुरा विकास मुख्य हो, कुरा होइन । विकास नभई केही हुँदैन । तर हाम्रो चरित्र न आफू विकास गर्छौं न त अरूले गरिदिएको विकासलाई सम्मान गरेर उपयोग गर्छौं । चीनले बनाइदिएको सूर्यविनायकदेखि त्रिपुरेश्वरसम्मको ट्रलीबस पनि जोगाउन सकेनौं । त्यसलाई हटाउनुपर्ने कुनै कारण थिएन ।

यस्तैगरी चीनबाहेक अन्य मुलुकले बनाइदिएका उद्योग तथा कलकारखाना पनि जोगाउन सकेका छैनौं । भृकुटी कागज कारखाना, गोरखकाली टाय उद्योग, बाँसबारी छाला कारखाना, कृषि औजार कारखाना हामीले जोगाएर राख्न सक्यौं त ? राजाको पालाको रेल समाप्त गरेर अब उत्तर–दक्षिण दुवैतिरबाट रेल कुदाएर विकास गर्ने कुरा भइरहेछ ।

धनी मानिसहरू गरिबका राम्रो जग्गा देख्यो भने बडो दयालु भएर कति रिन दिन तयार हुन्छन् र रेखोपाखो धितो राख्न लगाउँछन्। पछि गरिबलाई धितो निखन्न गाह्रो पर्छ । अन्ततः जग्गा गुम्न जान्छ । हामीले पनि चीन र भारतबाट रेल वे र पानीजहाज ल्याउने नाममा बाह्य मुलुकसँग भारी कर्जा लिएर काम गर्‍यौं हो भने भोलि त्यही गरिबको जस्तो अवस्था हाम्रो मुलुकलाई नआउला भन्न सकिन्न ।

त्यसै भएको होइन युगोस्लाभिया पाँच स्वतन्त्र राष्ट्र (स्लोभेनिया, क्रोसिया, मेसेडोनिया, बस्निया र हर्जगोभिना) मा विभाजन । स्टालिनको निधन भएपछि सोभियत संघबाट ११ वटा गणराज्यहरू (युक्रेन, कजाकिस्तान, किर्गिस्तान, लात्भिया, लिथुआनिया, जर्जिया, तुर्केमेनिस्तान, अर्मानिया, माल्डोभा, इस्टोनिया, अजरबैजान, बेलारुस, उज्वेकिस्तान) टुक्रिएर स्वतन्त्र राष्ट्र भए । फिनल्यान्डले आफ्नो सीमा क्षेत्र बन्दरगाह बनाइदिन छिमेकी मुलुक रूसलाई दियो । पछि त्यो रूसले नै लियो । त्यो आफ्नो भूमिमा बनेको बन्दरगाह फिनल्यान्डले अहिलेसम्म पनि तागत र पैसा नहुँदा फिर्ता लिन सकेको छैन । मेरो भनाइ के हो भने साना–ठूला राष्ट्रबाट टुक्रिएर भिन्न राज्य बनिरहेको परिदृश्यबाट हाम्रा नेताहरूले पाठ सिक्नुपर्छ ।

भोलि भारत र चीनको बीचमा झगडा भयो भने त्यसको चर्को असर नेपालमाथि पर्न सक्छ । प्रचण्ड र ओली मिलेका छन्। आफ्नैसँग नमिलेका प्रचण्ड ओलीसँग कसरी मिल्न सके त ? गिरिजाप्रसाद मरेपछि चर्चामा उनै प्रचण्ड छन्। उनको प्रवृत्ति व्यक्तिवादी छ । मलाई शंका छ– भोलिका दिन यी दुईको झगडा भयो भने मुलुकले दुःख पाउने पो हो कि ?

भारतको गुनासो छ– ओलीले सत्तामा आएदेखि नै उत्तरसँग बढी सम्बन्ध बढायो । अतीतदेखिको प्रवृत्ति छ– सत्तामा पुगेपछि भारत जाने । सबै राजनीतिक सम्झौता दिल्लीमै भयो । माओवादी पनि त्यहींबाट फस्टाएर आयो । ऊ अहिले सत्तामा छ । अहिलेसम्मको सबै राजनीतिक परिवर्तनमा दिल्लीको प्रभाव छ ।

एउटा खेल छ बाघचाल । बाख्राले बाघलाई थुन्ने तर नाघ्न दिने होइन । यस खेलमा बाघले छिद्र पाउँदा बाख्रा मारिन्छ । होसियारीपूर्वक खेलेमा बाघ घेरिन्छ मात्र । तसर्थ ठूलाठूला कुरा गर्नुभन्दा हामीले पनि होसियारपूर्वक काम गर्ने हो भने सबैको मन जित्न सकिन्छ ।

सम्बन्धको दृष्टिले हेर्दा पनि हामी भारतसँग नै बढी नजिक छौं । तर नजिक छौं भन्दैमा छिमेकीमाथि नै धेरै भर नपरौं । आफ््नै दाइले पनि भाउजू ल्याएपछि अन्याय गर्न सक्छ । ओलीले भारतको धेरै भर पर्न चाहेका छैनन्। राम्रो गर्न खोज्दै छन्। नाकाबन्दीको बेलामा पनि उनले राम्रो भूमिका निर्वाह गरेका थिए । यो स्वतन्त्र राष्ट्रलाई सबै मिली बचाएर राख्नुपर्छ ।

हामीले आत्मनिर्भर हुन जान्नुपरेको छ । एकअर्कालाई गुहारेर अथवा सम्बन्धको फूर्ति देखाएर हामी आत्मनिर्भर हुन सक्दैनौं । चीन भारत दुवै हाम्रा भिन्न देश हुन्। दुवै छिमेकीलाई हामीले प्रस्ट भन्नुपर्छ– नेपाल बुद्धको बुद्धको भूमि हो, जहाँ शान्ति मात्र सम्भव छ । भारत र चीनको आफ्नै सीमा रेखा छन्। नेपाललाई दुवैले शान्त देश मान्नुपर्छ । हाम्रो राजनीतिक मान्यता पनि यसै अनुकूल हुनुपर्छ । अनि मात्र नेपालमा विकास सम्भव छ । हाम्रो स्वतन्त्रतामा दुवै देशको मित्रताले प्रभाव पार्छ । दुवै देशको महानताले हाम्रो स्वतन्त्रतालाई स्वीकार गर्न सक्नुपर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.