झरीका प्रेमिल गीत

झरीका प्रेमिल गीत

काठमाडौं : घामको घमाइलो र हिउँ फूलको रमाइलो हामीले अनुभव गरेकै हो। लगातार वर्षापछिको हिलो सडक र क्रूर हावाहुरीको डरले पनि हामीलाई सताएकै छ।

जब मौसम बदलिन्छ, मानवीय भावनालाई यसले स्वतः प्रभावित पार्छ। साउनको महिना, मनसुन सक्रिय छ। छिनभरमै आकाश कालो बादलले भरिन्छ। कहिले सिमसिमे पानी त कहिले अविरल वर्षा।

आकाशबाट पर्ने पानीसँग मानिसका अनेक भाव जोडिएका हुन्छन्। तिनै भाव समेटेर कयौं सर्जकले गीत कोरेका छन्, जसमा मानवीय भाव उर्लिएर व्यक्त हुन्छन्।

पछिल्लो समय गायक प्रमोद खरेलले ‘यो झरीमा तिमीसँगै रुझ्न पाए जाति हुन्थ्यो’ बोलको गीत गाएका थिए। मानिसभित्र रहेको प्रेमिल भावहरू झरीसँग व्यक्त गरिएको यो गीतजस्तै मेलिना चित्रकारको ‘कहाँबाट आयो आयो, रुझाएर गयो बेमानी’ गीतमा पनि झरीलाई नै आफ्ना भाव व्यक्त गर्ने माध्यम बनाइएको छ।

आधुनिक गीतहरूमा नवीन के भट्टराईको गति उत्तिकै लोकप्रिय छ। ‘ए झरी नझरिदेऊ यसरी’ बोलको गीत आज पनि उत्तिकै कर्णप्रिय मानिन्छ। त्यस्तै युवा गायक विपुल क्षेत्रीको ‘पानी पर्‍यो सरर’, स्वरसम्राट् नारायणगोपालको ‘साउनको झरी बनी तिमी आऊ न, मेरो मनको अँधेरीमा जून छाऊ न’ बोलका झरीसँगका रमाइला प्रसंग जोडिएका गीत बनेका छन्।

मानिसको जीवनका उतारचढावलाई झरीसँग तुलना गरेर नेपालमा थुप्रै लोकप्रिय गीत बने। पुराना सर्जकहरूले जसरी झरीलाई भावका रूपमा प्रयोग गर्थे, आजका पुस्ताले पनि यसलाई निरन्तरता दिएका छन्।

मानिस आकाशबाट पर्ने पानीमाथि विभिन्न रूपमा प्रतिक्रिया दिन्छन्। झरीले मानिसभित्रको प्रेम मात्र होइन दुःख, पीडा र वेदना पनि बोल्छ। लाहुरे फिल्मको ‘साउने झरीमा त्यो गाउँको गोरेटो’ बोलको गीतले मनभित्रको उदासी जताउँछ।

झरीलाई आँखाबाट बग्ने आँसुसँग पनि तुलना गरिन्छ। कहिले सिमसिमे पानीजस्तै रुने मन त कहिले भेल बगे सरी आँखाबाट बग्ने आँसु एउटैजस्तो लाग्छ।

आशा भोस्लेले गाएको गीत ‘झझल्को लिएर आएछ सावन फेरि आँखामा’, छुजान डुक्पाको ‘असारे महिनामा पानी पर्‍यो रुझाउने’ जस्ता गीतहरूले यही मानवीय वेदना दर्शाउँछन्।


कलाकारसँग झरीका कुरा


पानी पर्दा ‘इरिटेड’ हुन्छु

- नायिका वर्षा शिवाकोटी

पानी परेको मलाई त्यति मन पर्दैन। हामीले प्रायः ड्रेसअप गरेर हिँड्नुपर्छ। फिल्मको आउट डोर सुटिङ भइरहेको हुन्छ। पानी पर्दा डिस्टर्ब हुन्छ। त्यसमाथि काठमाडौंको बाटो पानी पर्दा हिलो हुन्छ। तर सुत्ने बेलामा पानी पर्‍यो भने रमाइलो लाग्छ।

सानोमा रुझ्न खुब मन लाग्थ्यो। पानीमा रुझ्दै विद्यालय जान अझै रमाइलो हुन्थ्यो। पानीमा रुझेपछि बिरामी भइन्थ्यो। त्यसपछि विद्यालय जानु नपर्दा कति खुसी लाग्थ्यो। ठूलो हुँदै गएपछि त्यो छुकछुकेपन हट्यो।

स्कुटीमा बाहिर कतै जाँदा पानी परिहाल्यो भने कम्ता बिजोग हुन्न। अहिले त पानी नपरोस् जस्तो लाग्छ। अहिले हावाहुरी र पानी पर्दा ‘इरिटेड’ हुन्छु। फिल्मको सुटिङमा पानीमा रुझ्नु पर्‍यो भने झ्याउ लाग्छ।

पानी पर्दा रमाइलो लाग्छ

- नायक आकाश श्रेष्ठ

मलाई पानी परेको मन पर्छ। पानी पर्दा काठमाडौंको वातावरण सफा हुन्छ। धुलो, धुवाँ हुँदैन। तर कतिपय समयमा बाटो हिलो हुँदा नराम्रो पनि लाग्छ। सुटिङको समयमा पानी पर्दा पोस्टपोन्ड गर्नुपर्ने हुन्छ। तर जे होस् पानी पर्नु राम्रो हो।

घरमा हुँदा पानी परेको छ भने टीभी हेर्न खुब मज्जा आउँछ। त्यहाँ बज्ने गीत गुनगनाउन अझै रमाइलो हुन्छ। फुर्सदको समयमा म गितार बजाउँदै गीत गाइरहेको हुन्छु। आकाशबाट पानी पर्दा ‘पानी पर्‍यो असिना झर्‍यो’ गीत याद आउँछ। बचपनमा पानीमा रुझेको र घरमा गाली खाएको रमाइला किस्सा याद आउँछन्।

तस्बिर : प्रणभ खत्री/अन्नपूर्ण पोस्ट्


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.