तेह्रवर्षे छोरीकी आमाको बयान

तेह्रवर्षे छोरीकी आमाको बयान

पछिल्लो पुस्ताका महिलाको जीवन र उनीहरूले समाजमा निर्वाह गर्ने भूमिकामा ठूलो परिवर्तन आएको छ। महिलाका लागि अवसर, विकल्प र स्वतन्त्रता बढेका छन्। त्यसैले अब छोरीहरू आफ्ना आमा र हजुरआमाका पाइला पछ्याउँदैनन्। त्यस्तै, लैंगिक विभेदको स्तर पनि परिवर्तन भइसकेको छ। विगतमा परिवारले महिलाका इच्छा, चाहना र आवश्यकतालाई सम्बोधन गर्न आवश्यक ठान्दैनथ्यो। अबका छोरीहरू यस्तो स्विकार्न तयार छैनन्। पुस्ताबीचको यस्तो खाडलले आमा र छोरीबीच द्वन्द्व जन्माएको छ। जुनसुकै उमेरका आमाछोरीबीच पनि यस्तो खाडल देख्न सकिन्छ। त्यसलाई कसरी कम गर्ने त ? यहाँ एउटी आमा हुर्किंदै गरेकी छोरीसँगको कठिन सम्बन्धबारे चर्चा गर्छिन्ः 


जुली स्काजेल

साँच्चै भन्ने हो भने मेरी छोरी मलाई पर हुत्याउँदै यो धर्तीमा जन्मिएकी थिई। जन्मेकै क्षणदेखि ऊ स्वतन्त्र थिई। आफ्नो र अरूको कमीकमजोरी केलाउन ऊ मन पराउँथी। मैले कहाँनेर के गल्ती गरेँ, त्यो औँल्याउन उसलाई बडो आनन्द लाग्थ्यो। आफ्नो विचार निर्धक्कसँग सुनाउने गर्थी। कतै जाँदा हामी गाडी पार्क गर्ने ठाउँ खोजिरहेका हुन्छौँ। ऊ मलाई बारम्बार सम्झाउँछे, ‘पार्किङतिर जाने छोटो बाटो पक्कै यहीँ कतै छ। हामी लामो बाटो हिँडिरहेका छौँ।’ उसको कुरा सुनेर मलाई लाग्छ, म गाडीको गतिको सीमा नाघिरहेकी छु। 

उसको भाइको हकी खेलको अभ्यास थियो। एक दिन अभ्यास सुरु हुनुअघि मैले उसलाई क्यान्डी खान दिएँ। यो देखेर छोरीलाई असह्य भयो। ‘छोराछोरी हुर्काउने ठीक तरिका यो होइन,’ उसले मलाई प्याच्चै भनी।

त्यसबेला ऊ मात्र सात वर्षकी थिई। 

ऊ नौ वर्ष लागेपछि मलाई ‘आमा’ भनेर बोलाउन थाली। अमेरिकाको दक्षिणी भेगका ग्रामीण क्षेत्रमा पुरुषले आफ्नी पत्नीलाई प्रायः यही सम्बोधन गर्ने गर्छन्। मेरी छोरीले पनि मलाई भावनात्मक रूपमा बढी निकट र स्वीकार्य ‘मम’ को सट्टा ‘मदर’ भन्न थाली। मेरो प्रश्नको उत्तर दिँदा लगभग ९८ प्रतिशत समय ऊ भन्थी, ‘मलाई थाहा छ, आमा।’ यो देख्दा लाग्थ्यो, हामी जति बेला पनि झगडा गरिरहेका छौँ। एकले अर्कोलाई धक्का दिने मौकाको ताकमा बसिरहेका छौँ। 

यतिबेला ऊ १३ वर्षकी भएकी छे। अर्थात्, ऊ किशोरावस्थामा प्रवेश गरी। जसै उसले बाल्यावस्थाको खुड्किलो पार गरी, हामीबीचको खाडल झनै चौडा भयो। अचेल मुख खोल्नेबित्तिकै झगडा सुरु हुन थाल्छ। त्यसैले म उसलाई बोलाउनुअघि सास रोकेर उसको मुड विचार गर्न बाध्य हुन्छु। ऊ मसँग कुराकानी सुरु गर्नै चाहन्न। उसका आँखा जतिबेला पनि फोनमा हुन्छन्। हेडफोन त स्थायी रूपमा कानमै टाँसिएका ह्न्छन्।
 
पहिलो पटक गर्भवती हुँदा लाग्थ्यो, सबै जना मेरै सेवामा हाजिर छन्। हाम्रा लागि डाक्टरसँगको परामर्शको समय पनि अरूले नै मिलाइदिएका थिए। बच्चा कसरी हुर्काउने भन्ने विषयमा लेखिएका पुस्तकहरू उपहारमा आउँथे। साथीभाइ र नातागोताको त कुरै छोडौँ, नचिनेका मान्छेले पनि असल अभिभावक कसरी बन्ने भन्नेबारे नमागीकनै सल्लाह दिएर जान्थे। सबैको एउटा राय हुन्थ्यो, ‘अहिले कठिनजस्तो लागे पनि यो क्षण सजिलै पार भएर जान्छ।’ 

समय बित्दै गयो। हामीलाई सल्लाह दिने व्यक्तिका सन्तान र हाम्रा सन्तान सँगसँगै हुर्किए। हामी एकअर्कालाई छोराछोरीको उपलब्धि पनि सुनाउन थाल्यौँ। ‘मेरी छोरीले आज पहिलो पाइला चाली नि !’ ‘मेरो छोरोले त एबीसीडी जानिसक्यो नि !’ केटाकेटीको जीवनको हरेक पक्षसँग म यसरी नै भिज्न थालेँ। धेरैजसो समय त मेरो र छोरीको जीवन अलग–अलग हो भन्ने नै लाग्दैनथ्यो। 

तर, जब केटाकेटी हुर्किन थाले र ती हामीमा मात्र निर्भर रहन छोडे, समस्या देखिन थाल्यो। छोरी आफ्नै सुरक्षा, स्तर र आत्मसम्मानलाई हानि हुने निर्णय गर्न खोज्थी। म त्यसलाई रोक्न खोज्थेँ। उसको लागि सबैभन्दा सही विकल्प यो हो भनेर सम्झाउन खोज्थेँ। ऊ अटेर गर्थी। यस्तो अवस्थामा के गर्ने ? कोसँग सल्लाह र सहयोग माग्ने ?

मेरी छोरी यही अवस्थामा आइपुगेकी छे। यो मेरो लागि मात्र होइन, उसका लागि पनि सबैभन्दा चुनौतीपूर्ण घडी हो। ऊ चाँडो चाँडो हुर्किन खोजिरहेकी छे, आफ्नै बुतामा साथीभाइ र सम्बन्ध बनाउन खोजिरहेकी छे। उसको पारा देखेर म डरले नीलोकालो बन्छु। बारम्बार भन्छु, ‘मैले तँसँग हरेस खाइसकेँ।’

तर, यो बेला ‘जेसुकै गर्’ भनेर म उसलाई छोड्न सक्दिनँ। उसको जीवनमा अझै मेरो ठूलो आवश्यकता छ। यो कुरा ऊ बुझ्दिन। त्यसैले हामीबीच जुन खाडल छ, त्यसलाई पुर्ने मौका म हरबखत खोजिरहेकी हुन्छु। एक क्षण भए पनि सँगै हुने घडीको प्रतीक्षा गरिरहन्छु। एक रात हामीले ‘योगा होजर्स’ भन्ने फिल्म साथमा हेर्‍यौँ। यो मलाई सबैभन्दा मन पर्ने निर्माता केभिन स्मिथले बनाएको फिल्म थियो।

आमा–छोरीका लागि यो बिरलै उपलब्ध हुने मौका थियो। ऊ सधैँ साथीभाइ र इन्टरनेटमा व्यस्त रहन्थी। यसरी साथमा फिल्म हेर्ने मौका पाएकोमा म अत्यन्त खुशी थिएँ। धेरै लामो समयपछि हामी सँगै बसेर हाँसिरहेका थियौँ। यस्तो नभएको जुग नाघिसकेको थियो। हाम्रो ग्रह फेरबदल भएर हो वा स्मिथको फिल्मको कथानक नै त्यस्तो भएर हो, हामीले एकअर्कासँग धेरै पछि न्यानोपन महसुस गर्न पायौँ। कथामा रहेको असंगतिमा हामी हाँस्यौँ। फिल्मका पात्रहरूलाई चिनेकोमा हामी हाँस्यौँ र हास्यौँ, अन्ततः सँगै हुँदा पनि शान्तिपूर्वक बस्न सकेकोमा। 

किशोरीको आमा हुनु भनेको ठूलो बोझ बोक्नु हो। तर, त्यत्तिकै बसेर हल्काफुल्का फिल्म हेरिरहँदा त्यो बोझ बिसाएको महसुस भयो। 

फिल्म सकिएपछि चाहिँ हामीबीच वास्तविक कुराकानी सुरु भयो। उसले फिल्म सकिनेबित्तिकै फोन समातिन। म पनि रेडियो खोल्नतिर लागिनँ। हामीले गफगाफ गर्‍यौँ र मैले चुट्किला सुनाएर उसलाई हँसाएँ। उसको खित्काको बीचबीचमा मैले उसलाई सुनाउनैपर्ने र उसले सुन्नैपर्ने सन्देश पनि सुनाएँ। यतिबेला ऊ मेरो कुरा सुन्न इन्कार गरिरहेकी थिइन। बरु ध्यानपूर्वक सुनिरहेकी थिई।

म उसलाई भन्न चाहन्थेँ, ‘मेरी प्यारी बच्ची, जाऊ आफ्नो जिन्दगी बाँच। हरेक दिनको सामना साहसपूर्वक गर। तिम्रो जुन दृढ इच्छाशक्ति र हिम्मत छ, त्यसलाई अरूको भलाइमा प्रयोग गर। आफूलाई मन पर्ने र चाहिने मानिसहरू आफैँ खोज र तिनलाई जिन्दगीभर आफैँसँग राख। आफूलाई अति गम्भीरताका साथ नलेऊ। किनभने, कुनै न कुनै दिन तिम्रो जिन्दगीमा नराम्रो घटना भएरै छाड्नेछ। त्यसबेला यस्ता झिनामसिना कुरालाई बढी गम्भीरतापूर्वक लिएकोमा तिमीलाई पछुतो हुनेछ। र, फिल्ममा भनिएझैँ, ‘तिमीले प्रेम गर्ने कुनै पनि चिजमाथि खतरा उत्पन्न गर्ने हरेकलाई ध्वस्त गरिदेऊ। किनभने, तिमीसँग भएको कुरा त्यति नै हो। तिमीले भर पर्न सक्ने तिनै हुन्, जसलाई तिमी साँचो प्रेम गर्छौ।’

मलाई आशा छ, उसले मेरो कुरा सुनी। 

म छोरीसँग हुने बाझाबाझ बन्द गर्न चाहन्छु। उसको बारेमा चिन्तित हुन चाहन्नँ। उसका निर्णयमाथि औँला उठाउन पनि चाहन्नँ। उसलाई आवश्यक सबै ज्ञान दिनु आमाका रूपमा मेरो कर्तव्य हो। यो संसारका सारा खराबीबाट उसलाई जोगाउन मैले त्यो ज्ञान दिनैपर्छ। हरेक खराबीबाट उसको रक्षा गर्ने मेरो चाहना छ। तर, यो चाहनाका कारण, उसलाई जुन चिजको वास्तविक आवश्यकता छ, कहिलेकाहीँ त्यो चाहिँ दिने मौका मिल्दैन। 

किशोरी हुँदा कस्तो महसुस हुन्छ, मलाई थाहा छ। चिन्तित हुँदा कस्तो हुन्छ, मलाई थाहा छ। आफू आकर्षक बन्नुमा भन्दा केटाहरूप्रति आकर्षित हुनुमा बढी समय गुजार्दा कस्तो हुन्छ, त्यो पनि मलाई थाहा छ। मलाई राम्रोसँग सम्झना छ, कुनै बेला आफ्नो बारेमा पनि अरू कसैको विचार महत्त्वपूर्ण बन्न पुग्छ। आफूलाई भरोसा दिने वास्तविक साथी नभेटुञ्जेल अरूलाई काँटछाँट गरेर हटाएको पनि म सम्झन्छु। त्यतिञ्जेल मलाई लाग्थ्यो, मेरो मनको कुरा बुझ्ने, सहारा दिने साथी मैले कहिल्यै भेट्नेछैन। छिटो–छिटो ठूलो मान्छे बन्ने हतारोमा युवावस्थाको क्षमता यसै खेर गएको पनि म राम्ररी सम्झन्छु। 

सम्भवतः आगामी दिनमा मैले ऊसँग यसै गरी कुराकानी गर्ने मौका पाउन सक्छु। त्यो मैले पढेको कुनै किताबको सहारामा वा यस्तै फिल्मको बहानामा हुन सक्छ। मलाई आशा छ, म सफल हुनेछु। किनभने, ऊसँग बिताउन बाँकी मेरो समय चाँडो–चाँडो समाप्त हुँदै छ। कम्तीमा मलाई सन्तोष के छ भने अहिलेका लागि हामी मनभित्र वा बाहिर जेजस्तो लडाइँ लडिरहेका छौँ, त्यो साथमै लडिरहेका छौँ। 

(ब्लगसाइट ‘ब्लन्टमम्स’मा प्रकाशित यस सामग्रीलाई सम्पूर्णका लागि कवि आचार्यले अनुवाद गरेका हुन्।)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.