डेढ लाख घुस लिने इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीका इन्जिनियर दिपेन्द्रकुमार देव, शिक्षा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनवीर भगत र शिक्षा समन्वय इकार्इ भोजपुरका तत्कालीन सव इन्जिनियर निरजकुमार चौधरीविरुद्ध मुद्दा दायर गरेको छ।
घुसमा संलग्न तीनैजना इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनीहरुले महाभारत, काभ्रेका स्कुल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख ५० हजार घुस लिएका थिए।
उनीहरुले सेवाग्राहीसँग घुस लिएर राष्ट्रिय वाणिज्य बैंक बनेपामा जम्मा गर्न लगाएका थिए। घुस रकम बैंकमा जम्मा गरेको भौचर लिइसकेको अवस्थामा उनीहरु अख्तियारको फन्दामा परेका हुन्।
शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीले इन्जिनियर देवले आफ्ना लागि सहज रूपमा घुस रकम संकलन गराउन सकियोस र सो कसुरमा आफ्नो प्रत्यक्ष संलग्नता नदेखियोस भन्ने उद्देश्यले सब इन्जिनियर भगत पठाएको अनुसन्धानबाट खुलेको छ।
भगतले पनि विद्यालयको मर्मतसम्बन्धी कार्य फरफारक गर्ने र गराउने सिलसिलामा सेवाग्राहीबाट घुस रकम माग्ने तथा बैंक खातामा जम्मा गर्न लगाउने सम्बन्धमा चौधरीलाई खटाइएको पाइएको छ।
तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद तथा सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको छ।